
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको कैलारी गाउँपालिका-५ मा गुर्गी सिँचाइ आयोजना पुनःनिर्माण ढिलाइ विषयक सार्वजनिक सुनुवाइ स्थानीयले बहिष्कार गरेका छन्।
- स्थानीयले आयोजना निर्माणमा भ्रष्टाचार भएको भन्दै कर्मचारी र सचिवसँग कुरा गर्नुपर्ने माग गरेका छन्।
- अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले बहिष्कार राम्रो नभएको भन्दै थप छलफल गरेर सरकारलाई निर्देशन दिने बताए।
३० साउन, धनगढी । कैलालीमा प्रदेश सभाकाे अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयाेजना गरेकाे सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन् ।
कैलारी गाउँपालिका-५ काे बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयाेजना पुन:निर्माण ढिलाइ सम्बन्धि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजना गरेको थियो ।
समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा गुर्गी सिँचाइ आयाेजना निर्माणका लागि वर्षेनी बजेट विनियोजन हुने तर निर्माण नहुने गरेकाे भन्दै स्थानीयले आक्राेश व्यक्त गरेका थिए ।
भाैतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमप्रसाद भट्ट, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडी कर्मचारीसँग स्थानीय तत्कालीन सचिव सुरत बम र सिँचाइ डिभिजनका प्रमुख डम्बर धितालले याेजनाका नाममा भ्रष्टाचार गरेकोले उनीहरूसँगै कुरा गर्न दिनुपर्ने माग गरे ।
सांसदहरूसँग कुनै गुनासाे नरहेकाे बताउने स्थानीय रेवन्त बाेहराले कर्मचारीले आर्थिक अनियमितता गर्न हरेक वर्ष बजेट छुट्याउने, डीपीआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानवीन गरेर कारवाही हुनुपर्ने माग गरेपछि कार्यक्रममा हाेहल्ला सुरू भएको थियो ।
हाेहल्लाबीच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बाेल्ने क्रममा स्थानीय कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।
५० काे दशकमा कैलारी गाउँपालिका-५ मा निर्माण भएको गुर्गी सिँचाइ आयाेजनाकाे मूल नहरकाे बाँध भत्किएको थियाे । संघीय सरकारले त्यसपछि पुन:निर्माणकाे नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएकाे थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत गर्गी सिँचाइ आयाेजनाका नाममा बजेट छुट्याउने गरेकाे थियाे । सरकारले हरेक वर्ष बजेट छुट्याएपनि याेजना पुन:निर्माण नहुँदा स्थानीयमा ठूलाे आक्रोश रहेकाे छ ।
स्थानीयले सार्वजनिक सुनवाइ कार्यक्रम बहिष्कार गरेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चाैधरीले स्थानीयकाे कुरा सुन्ने उदेश्य आएकाे बताउँदै बहिष्कार गर्नु राम्रो नभएको बताए ।
उनले वर्षाैंदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयाेजना पुननिर्माणका लागि समितिमा थप छलफल गरेर सरकारलाई निर्देशन दिइने बताए ।
स्थानीयले बहिष्कार गरेकाे कार्यक्रममा समितिका सदस्य समेत रहेकाे माओवादी केन्द्रका संसदीय दल नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र सांसद डा. ताराप्रसाद जाेशीकाे सहभागी थिए । तर स्थानीयले बहिष्कार गरेपछि उनीहरू बाेल्न नपाउदै फर्किएका छन् ।
प्रतिक्रिया 4