+
+
Shares

कर्जा नोक्सानी घटाएर बैंकहरूले बढाएको नाफा कति दिगो ?

बैंकहरूको आम्दानीको मुख्य स्रोत भनिएको ब्याज आम्दानी समेत १ प्रतिशतले घटेको अवस्थामा समेत नाफामा उच्च सुधार देखिएको हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ साउन ३० गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको नाफा ४३ प्रतिशतले बढेर ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
  • नेपाल राष्ट्र बैंकको लचकपूर्ण कर्जा नोक्सानी व्यवस्थाले बैंकहरूको नाफा बढ्न मद्दत गरेको छ।
  • ब्याज आम्दानी १ प्रतिशतले घट्दा पनि कर्जा नोक्सानी व्यवस्थामा कमी आएपछि बैंकहरूको वितरणयोग्य नाफा ४४ अर्ब ९४ करोड पुगेको छ।

३० साउन, काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको सकारात्मक प्रभाव बैंकहरूको गत आवको नाफामा देखिएको छ । नेपाल राष्ट्र बैंकले लिएको कर्जा नोक्सानी व्यवस्थामा अपनाइएको लचकताले बैंकहरूको नाफा उच्च दरमा बढेको हो ।

गत आव २०८१/८२ मा बैंकहरूको नाफा ४३ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा नोक्सानी व्यवस्था बापत रकम करिब २९ अर्बले घटेपछि खुद नाफा बढेको छ । बैंकहरूको आम्दानीको मुख्य स्रोत भनिएको ब्याज आम्दानी समेत १ प्रतिशतले घटेको अवस्थामा समेत नाफामा उच्च सुधार देखिएको हो ।

केन्द्रीय बैंकले वित्तीय क्षेत्रको दबाबलाई सहजीकरण गर्न विगतका तुलनामा छिटो मौद्रिक नीति ल्यायो । साथै, त्रैमास समाप्त भएको १५ दिनमा सार्वजनिक गर्नुपर्ने विवरणलाई केन्द्रीय बैंकले एक महिनाको समय दिँदा पनि बैंकहरूको असुलीमा सुधार देखिएको हो ।

विगत वर्षका तुलनामा बैंकहरूको असुलीमा आएको सुधार तथा लचिलो राष्ट्र बैंकको नीतिले गर्दा बढेको नाफा दीर्घकालीन हुनेमा बैंकहरू नै विश्वस्त देखिँदैनन् । गत आव विगतको तुलनामा बैंकहरूको कर्जा नोक्सानी व्यवस्था बापत रकम उच्च दरमा घटेकाले नाफा बढेको हुनाले आगामी दिन निरन्तरता पाउने सम्भावना न्यून रहेको एक बैंकरले बताए ।

विगतका वर्ष गोलमाल रहेको बैंकहरूको अवस्था गत आव केही सुध्रिएको पूर्वबैंकर भुवनकुमार दाहालले बताए । ‘समग्रमा हेर्दा बैंकहरूको नन–इन्ट्रेस्ट आम्दानी अर्थात् फि कमिसन आम्दानी तथा ट्रेडिङ आम्दानीमा पनि सुधार आएको हुनाले नाफा बढ्न मद्दत पुगेको हो,’ दहालले भने, ‘अदर अपरेटिङ इन्कम पनि बढेकाले आम्दानी बढेको हो ।’

गत आव बैंकहरूले व्यवसाय केही विस्तार गरेको हुनाले पनि विवरण सकारात्मक देखिएको उनको भनाइ छ । गत आव बैंकको कर्जा विस्तार नै हेर्दा पनि करिब ४ खर्बले बढेको उनको भनाइ छ ।

‘ओभरअल बिजनेस बढेको छ,’ दाहालले भने, ‘गत वर्ष जुन लोन लस प्रोभिजन थियो, अहिले पनि लोन लस प्रोभिजन फेरि राइट ब्याक त भएको छैन, अघिल्लो वर्षको तुलनामा घटेको हो ।’

गत आव पनि बैंकहरूको खराब कर्जा बढेको बताउँदै दाहालले केही बैंकको एनपीएल घटेको छ, धेरै बैंकको एनपीएल बढेको स्पष्ट पारे । त्यसले गर्दा अघिल्लो वर्षभन्दा सुधार भए पनि आगामी दिनमा पनि यस्तो कायम रहन्छ भन्ने आशा भने गर्न सकिने उनको बुझाइ छ ।

‘तर, अहिले नै त्यस्तो एकदमै राम्रो, फ्यान्टास्टिक भनेर भन्नु अलि हतार हुन्छ,’ दाहालले भने । आगामी वर्ष बैंकहरूको निष्क्रिय कर्जा बढेन भने सेयरधनीलाई बैंकहरूले खुसी बनाउने सम्भावना रहेको दाहालको भनाइ छ ।

केन्द्रीय बैंकले बैंकहरूलाई रेगुलेटरी रिजर्भबाट अलिकति पैसा डिस्ट्रिब्युटेबलमा फिर्ता गर्न अनुमति दिएकाले बैंकहरूको विवरणमा सुधार आउन मद्दत पुगेको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले बताए ।

‘राष्ट्र बैंकले दिएको नीतिगत सहजताको इम्प्याक्ट ठूलो छ,’ कोइरालाले भने, ‘२ करोडभन्दा मुनिका लागि स्ट्रक्चरिङ गर्न पाउने व्यवस्थाले कर्जा नोक्सानीमा कमी आयो, निर्माण क्षेत्रको भुक्तानी सरकारले असारमा भुक्तानी दियो, नन–बैंकिङ एसेट केही सेटलमेन्ट भयो, अलि–अलि एनपीएलमा भएका धितो सेटलमेन्ट भए, साथै अलिकति इकोनोमीले पनि सपोर्ट गरेकाले बैंकहरूको कार्यसम्पादनमा सुधार देखिएको हो ।’

त्यस्तै असल कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी केन्द्रीय बैंकले घटाए पनि सहयोग भएको उनको बुझाइ छ । समग्रमा भन्दा नियामकीय रिल्याक्सेसनका कारण बैंकहरूको विवरणमा सुधार आएको उनले बताए । अहिलेको सुधार आगामी दिनमा पनि कायम नै रहने आशामा कोइराला छन् ।

आर्थिक गतिविधिमा सुधार देखिएको तथा कोरोनाको असर समेत कम हुँदै आएको अवस्थामा चालु आव लिइएको नीतिगत सहजता पुनः चलाउन आवश्यक नपर्ने उनको बुझाइ छ ।

बैंकहरू अहिलेको सुधार आगामी दिनमा पनि निरन्तर रहने आशामा छन् । तर, केन्द्रीय बैंकले भने घरजग्गा र सेयर कर्जा लिएको खुकुलो नीति अल्पकालीन भएकाले अहिलेको सुधारले आगामी वर्षसम्म निरन्तरता हुने सम्भावना न्यून छ ।

गत आव बैंकहरूले ७१ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन् । उनीहरूको यो नाफा अघिल्लो आवको तुलनामा ४३.३९ प्रतिशतले बढेको हो । अघिल्लो आव खुद नाफा ४९ अर्ब ८७ करोडमात्र थियो ।

बैंकहरूको यो नाफा बढ्नुमा कर्जा नोक्सानी धेरै गर्न नपर्नु मुख्य कारण हो । गत आव बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत २५ अर्ब ५१ करोडमात्र छुट्याएका छन् । यस्तो रकम अघिल्लो आवको तुलनामा ५३.०२ प्रतिशतले धेरै हो । अघिल्लो आवा बैंकहरूको कर्जा नोक्सानी व्यवस्था बापत रकम ५४ अर्ब ३४ करोड थियो ।

तर, गत आव बैंकहरूको आम्दानीको मूल्य स्रोतमा भने कमी आएको छ । बैंकहरूको ब्याज आम्दानी भने १ प्रतिशतले घटेको छ । गत आव बैंकहरूले १ खर्ब ९० अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १.०८ प्रतिशतले थोरै हो । अघिल्लो आव १ खर्ब ९२ अर्ब थियो ।

गत आव बैंकहरूले कर्जा नोक्सानी धेरै गर्न नपर्दा वितरणयोग्य नाफामा समेत सुधार आएको छ । गत आव असारसम्मको वितरणका लागि उपलब्ध वितरणयोग्य नाफामा पनि उच्च सुधार आएको छ ।

गत आव बैंकहरूको वितरणका लागि उपलब्ध वितरणयोग्य नाफा ४४ अर्ब ९४ करोड छ । यो नाफा अघिल्लो आवको तुलनामा करिब ४३ अर्बले धेरै हो । अघिल्लो आव बैंकहरूको वितरणका लागि उपलब्ध नाफा १ अर्ब ५६ करोड रुपैयाँमात्र थियो ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?