
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भौगर्भिक समाजको अध्यक्षमा भास्कर खतिवडा निर्वाचित भएका छन्।
- खतिवडाले ४६० मत प्राप्त गरी प्रा.डा. खुमनारायण पौडेललाई ९४ मतले पराजित गरेका छन्।
- समाजको २२औं कार्यकारिणी समितिको अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
३१ साउन, काठमाडौं । नेपाल भौगर्भिक समाजको अध्यक्षमा भास्कर खतिवडा निर्वाचित भएका छन् । समाजको २२औं कार्यकारिणी समितिको शुक्रबार सम्पन्न अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उनले प्रा.डा. खुमनारायण पौडेललाई ९४ मतले पराजित गरेका हुन् । यसक्रममा खतिवडाले ४६० मत प्राप्त गर्दा डा. पौडेलले ३६६ मत प्राप्त गरेका हुन् ।
कुल ११४२ जना मतदाता रहेको समाजमा ८३४ जना प्रतिनिधिहरूले मतदान गरेका नवनिर्वाचित अध्यक्ष खतिवडाले जानकारी दिए ।
समाजको उपाध्यक्षमा डा. वसन्तकुमार अधिकारी र उपमहासचिवमा गोविन्द ओझा निर्वाचित भएका छन् । महासचिव र कोषाध्यक्षमा यसअघि नै क्रमशः शिवकुमार बास्कोटा र शर्मिला पौड्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै, सदस्यहरूमा रोशन न्यौपाने, विनोद केसी र धिरेन्द्र पाण्डे निर्विरोध भइसकेका छन् ।
खतिवडा समाजको ४५ वर्षको इतिहासमा अहिलेसम्मकै कान्छा अध्यक्ष हुन् । समाजका अग्रज सदस्यदेखि युवा पुस्तालाई समेटेर युवा नेतृत्वका लागि योग्य छन् भनेर प्रमाणित गराउने चुनौती आफूसँग रहेको उनले बताए ।
‘भू-विज्ञान पेशालाई अध्ययन अनुसन्धान मार्फत् विश्वसामु परिचित गराउने र भू-वैज्ञानिक पेशामा रहेका सबैको पेशागत हकहितमा आवाज उठाउँदै ठोस कदम चाल्नेछु,’ उनले भने ।
प्रतिक्रिया 4