
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र प्राविधिक संघ (नेफ्टा)ले पारिश्रमिक नदिने निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरेको छ।
- नेफ्टाका अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म प्राविधिकले ती प्रोजेक्टमा काम नगर्ने बताए।
- नेफ्टाले आइतबार पारिश्रमिक नदिने कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको र समस्या समाधान नभए नाम सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले प्राविधिक सदस्यहरूको पारिश्रमिक विवादमा महत्वपूर्ण निर्णय गरेको छ ।
संस्थाको शुक्रबार बसेको बैठकले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरेको हो ।
बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म त्यस्ता फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय भएको जानकारी दिए ।
‘यसरी प्राविधिकलाई पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न प्राविधिक मित्रलाई आव्हान गर्दै काम गरेको पाइएमा संघले आगामी दिनमा गर्ने साथ सहयोगमा सोच्न बाध्य हुने पनि अवगत गराउँदछौं’ उनले भने ।
अध्यक्ष लामाका अनुसार १० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ । साथै, दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक दिएका छैनन् ।
पारिश्रमिक नदिने निर्माताको सूचीमा ठूलै निर्माता कम्पनी, निर्देशक र कलाकारका चलचित्र रहेको पनि उनले बताए । समस्या समाधानका लागि नेफ्टाले आइतबार दिउँसो ती कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।
‘समस्या समाधान नभएसम्म ती कम्पनीका फिल्म नगर्ने मात्र होइन, नाम नै सार्वजनिक गर्ने तयारी छ’ उनले भने ।
पछिल्लो समय पारिश्रमिकलाई लिएर ठूलै संकट देखिएको उनको भनाइ छ । ‘चलचित्रको बाढी आउँदा समेत यो कुरालाई सम्बोधन गर्न सकिएन भने भोलि फिल्म कम भन्दा कस्तो समस्या होला’ उनले भने ।
पछिल्लो समय कलाकारको लाखौं पारिश्रमिकको चर्चा चलेपनि पर्दा पछाडि काम गर्ने प्राविधिकको पारिश्रमिकबारे सँधै समस्या हुँदै आएको छ ।
प्रतिक्रिया 4