
१ भदौ, काठमाडौं । नेपालको विद्युत् प्रणालीमा प्रसारण लाइनको सञ्जाल ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको छ ।
देशभरि अहिले २ हजार ३४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् । प्रसारण लाइन सवस्टेसन क्षमता भने १४ हजार १२३ एभीए पुगेको छ । गत आवमा १ हजार ७३ एभीए थप भएको प्राधिकरणको तथ्यांक छ । ६ हजार ३३८ एभीएका सबस्टेसन निर्माणको चरणमा छन् ।
वितवरण प्रणालीतर्फ गत आवमा ४७३ एभीएका १४ वटा ३३/११ केभी सबस्टेसन थप भएको छ । ९ हजार ३३६ सर्किट किलोमिटर लाइन थप भएको छ । यस प्रकार देशभरि २ लाख १८ हजार ६६ सर्किट किलोमिटर वितरण लाइन पुगेको छ । एक वर्षको अवधिमा ३ हजार १५१ वितरण ट्रान्सफर्मर थप भएको देखिएको छ ।
अहिले बाह्रबिसे–काठमाडौं, हेटौंडा-ढल्केबरसहितका प्रसारण लाइन निर्माणको चरणमा छन् । अगाडि बढाउने योजनामा रहेका प्रसारण लाइनमा नयाँ बुटवल–लमही, लिङ्ला–दूधकोशी–ढल्केवर, अरुण हब–इनरुवा, नयाँ खिम्ती–ढल्केवर, लप्सी–तीनपिप्ले प्रसारण लाइन रहेका छन् । सीमापार विद्युत् आदान–प्रदानका लागि भारततर्फ इनरुवा–न्यूपूर्णिया, दोधारा–बरेली प्रसारण लाइन बन्दैछन् ।
चीनतर्फ चिलिमे–रसुवागढी–केरुङ प्रसारणलाइन रहेको छ । यी प्रसारणलाइन २०३५ सम्म १५ हजार मेगावाट विद्युत निर्यातको लक्ष्य भेटाउन र आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पुरा गर्न महत्त्वपूर्ण हुने समेत प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया 4