
२ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारस्थित नेपाल टेलिभिजनको क्यान्टिनलाई कारबाही गरेको छ ।
विभागको अनुगमन टोलीले सोमबार नेपाल टेलिभिजनको क्यान्टिन अनुगमन गरेको थियो । अनुगमन क्रममा नेपाल टेलिभिजनको क्यान्टिन ‘कञ्चन चमेना गृह’ लाई तत्कालै ५१ हजार रुपैयाँ जरिबाना तिराइएको विभागका वरिष्ठ अनुगमन अधिकृत अमितकुमार झाले जानकारी दिए ।
‘क्यान्टिनमा सरसफाइ नभएको, अव्यवस्थित तरिकाले चलाइएको भनेर उजुरी नै परेको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘हामी अनुगमनमा जाँदा क्यान्टिन एकदमै भद्रगोल थियो । पहिलो पटक हामीले त्यहाँ सचेत गराएर न्यूनतम मात्रै जरिबाना तिराएका हौं ।’
उनका अनुसार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोली पनि गएको थियो । क्यान्टिन दर्ता अनुमतिपत्र तथा मूल्यसूची लगायतका कुनै पनि कागजपत्र नराखी सञ्चालन भएको पनि उनले बताए ।
उक्त क्यान्टिनलाई १५ दिनभित्र सबै व्यवस्थित र सुधार गर्न पनि विभागले निर्देशन दिएको छ । ‘१५ दिनमा पनि कुनै सुधार देखिएन भने हामीले क्यान्टिन बन्द गर्छौ,’ वरिष्ठ अनुगमन अधिकृत झाले भने ।
यस्तै विभागको टोलीले काठमाडौं महानगरपालिका–२२ स्थित श्री राम इन्टरप्राइजेजमा पनि अनुगमन गरेको थियो । उक्त पसललाई सामान्य निर्देशन दिइएको छ ।
यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको आजै बिदाइ भएको छ । यस्तै विभागको नयाँ महानिर्देशकमा आजैदेखि रोशन ज्ञवाली विभागमा हाजिर भएका छन् ।
प्रतिक्रिया 4