
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस सिट संख्या बढाउने निर्णय खारेज गर्न माग गरेको छ।
- समितिले आयोगको निर्णयले शिक्षा गुणस्तर घट्ने र दक्षताविहीन चिकित्सक उत्पादन बढ्ने चेतावनी दिएको छ।
- समितिले निर्णयले विद्यार्थीमा आर्थिक भार बढ्ने र जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै सच्याउन सरकारलाई आग्रह गरेको छ।
३ भदौं, काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या बढाउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ ।
समितिले यसलाई गम्भीर आपत्ति जनाउँदै निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा आयोगले अधिकांश कलेजहरूको क्षमता १०० सिटभन्दा बढी नभएको प्रष्ट रिपोर्ट हुँदाहुँदै पनि १०० भन्दा बढी सिट दिने निर्णय गरेको भन्दै त्यसले शिक्षा गुणस्तर घटाउने चेतावनी दिएको छ । ‘यस्तो कदमले भविष्यमा दक्षताविहीन चिकित्सक उत्पादन बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा गम्भीर संकटमा पार्ने खतरा छ’, विज्ञप्तिमा उल्लेख छ ।
समितिले आफ्नै सर्वेक्षण र तथ्यांकलाई बेवास्ता गरेर गरिएका निर्णयले निजी मेडिकल कलेजहरूको आर्थिक स्वार्थलाई मात्र बढावा दिएको आरोप लगाएको छ । यसले विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार बढाउने र जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने भन्दै समितिले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा सुधारको नाममा गरिएका यस्ता अव्यवस्थित निर्णयले देशको स्वास्थ्य शिक्षामा नकारात्मक असर पार्ने भएकाले तुरुन्त सच्याइनु जरुरी छ ।’
समितिले आवश्यक परे सडक आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
समितिले मेडिकल कलेजहरूको सिट वृद्धि गर्ने निर्णय खारेज गरी, आवश्यक अध्ययन, दीर्घकालीन योजना र राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र नीति बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4