+
+
Shares

भारत-चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बन्ने, अरू के भए सहमति ?

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको भेटवार्तामा विशेषज्ञ समिति बनाउने निर्णय भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन्।
  • चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भारतलाई मल र दुर्लभ खनिज पदार्थ उपलब्ध गराउन तयार भएको बताए।
  • वाङ यीले भारतसँग सीमा विवाद संवाद मार्फत समाधान गर्नुपर्ने र द्विपक्षीय सम्बन्ध सुधार भइरहेको उल्लेख गरे।

४ भदौ, काठमाडौं । भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ ।

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको भेटवार्तामा विशेषज्ञ समिति बनाउने निर्णय भएको हो ।

चिनियाँ परराष्ट्र मन्त्री वाङ यी अगस्ट १८ मा दुई दिने भ्रमणका लागि भारत आएका हुन् । यसअघि उनले सोमबार भारतीय परराष्ट्र मन्त्री एस. जयशंकरसँग द्विपक्षीय वार्ता गरेका थिए।

वाङ यीको भारत भ्रमणका क्रममा चीन भारतलाई मल र दुर्लभ खनिज पदार्थ (रेयर अर्थ म्याटेरियल) उपलब्ध गराउन पनि तयार भएको छ। चीनले गत जुलाईमा यसमा रोक लगाएको थियो।

वैश्विक परिस्थिति तीव्र बदलिइरहेको छ : चिनियाँ परराष्ट्र मन्त्री

एएनआईको रिपोर्ट अनुसार वाङ यीले जयशंकरलाई भारतलाई मल, रेयर अर्थ म्याटेरियल र टनेल बोरिङ मेसिन आपूर्ति गर्ने आश्वासन दिएका छन्।

वाङ यीले भने, ‘वैश्विक परिस्थिति तीव्र बदलिँदैछ। स्वतन्त्र व्यापार र अन्तर्राष्ट्रिय व्यवस्थाले चुनौतीको सामना गरिरहेका छन् । २.८ अर्ब भन्दा बढी जनसंख्या रहेका सबैभन्दा ठूला विकासशील देशहरू भारत र चीनले जिम्मेवारी देखाउँदै एक-अर्कासँग सहकार्य गर्नुपर्छ।’

भारतीय प्रधानमन्त्री मोदीले वाङ यीसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै भनेका छन्, ‘चिनियाँ परराष्ट्र मन्त्रीसँग भेट्दा खुशी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सी जिनपिङसँग भेटपछिदेखि भारत-चीन सम्बन्धमा निरन्तर प्रगति भएको छ ।’

मोदीले थपेका छन्, ‘म शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा तियानजिनमा हुने हाम्रो आगामी भेटको प्रतीक्षामा छु।’

किन महत्वपूर्ण हुनेछ मोदीको चीन भ्रमण

शाङ्घाई सहयोग संगठनको बैठक अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म हुनेछ। यसमा कम्तीमा २० मुलुकका प्रतिनिधिहरू सहभागी हुनेछन्।

बीबीसी हिन्दीका अनुसार,  एकातिर गलवानमा भएको घटनापछि सीमा विवाद पूर्ण रूपमा समाधान हुन सकेको छैन भने अर्कोतिर भारत–पाकिस्तानबीचको हालैको संघर्षमा चीनले पाकिस्तानलाई सहयोग गरेको आरोप लागेको छ। अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाए पनि चीनलाई भने यस मामिलामा छुट दिएको छ। यही पृष्ठभूमिमा मोदीको चीन भ्रमण हुन लागेको हो ।

सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा भारतका २० जना सैनिकसहित धेरै चिनियाँ सैनिक मारिएका थिए।

त्यसपछि केही महिनापछि दुवै देशबीच सीमा विवाद समाधान गर्ने सहमति भएको थियो र दुवै पक्षबीच शान्ति कायम गर्न छलफलको चरण सुरु भएको थियो।

यस दिशामा केही प्रगति भए पनि वार्ता अझै जारी छ। वाङ यी त्यही क्रममा विशेष प्रतिनिधिहरूको बैठकमा सहभागी हुन भारत आएका हुन्।

यस वर्ष अप्रिलमा पहलगाम आक्रमणपछि भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासनमा रहेको कश्मीरका आतंकवादी संरचनाहरूलाई निशाना बनाएको थियो।

यस क्रममा भएको सैनिक संघर्षमा पाकिस्तानका परराष्ट्र मन्त्री इसहाक डारले संसदमा ‘भारतको राफाल विमान खसाल्न जे-१०सी फाइटर जेट प्रयोग गरिएको थियो’ भन्ने दाबी गरेका थिए ।

जे-१० सी फाइटर जेट चीनले बनाउने लडाकु विमान हो। तर जब चीनको परराष्ट्र मन्त्रालयका प्रवक्तासँग पाकिस्तानको दाबीबारे सोधिएको थियो, उनले यसबारे आफूलाई जानकारी नभएको बताएका थिए।

डोभालसँग सीमा मुद्दामा वार्ता

वाङ यीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा विषयमा छलफल गरे । उनले भने, ‘विगत केही वर्षमा देखा परेका समस्याहरू दुवै देशका जनताको हितमा थिएनन्।’ उनले गत वर्ष अक्टोबरमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच भएको भेटलाई सम्झिए ।

वाङ यीले सो भेटलाई द्विपक्षीय सम्बन्धको दिशा तय गर्ने र सीमा विवाद समाधानमा नयाँ ऊर्जा दिने घटना भने ।

त्यसैगरी, डोभालले वार्ता सफल हुने विश्वास व्यक्त गर्दै भने, ‘हाम्रा प्रधानमन्त्री चाँडै नै एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जानुहुनेछ ।’

उनले थपे, ‘हालैको समयमा सम्बन्धमा सुधार आएको छ, सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम छ र हाम्रो द्विपक्षीय सम्बन्ध अझ सबल भएको छ ।’

पूर्वी लद्दाखमा सन् २०२० मा देखिएको तनावपछि भारत-चीन सम्बन्धमा थप तिक्तता थपिएको थियो । तर पछिल्ला महिनाहरूमा वार्ता र समझौतामार्फत सम्बन्ध सुधार गर्ने प्रयास तीव्र भएको छ ।

चीनले सन् २०२५ जुलाईको सुरुवातमा भारतलाई आवश्यक मेसिन र पार्ट्सको डेलिभरी रोकिदिएको थियो । यी मेसिन र पार्ट्स इलेक्ट्रोनिक्स र अटोमोबाइल क्षेत्रका लागि अत्यन्तै जरुरी थिए ।

त्यसपछि, भारतमा आइफोन बनाउने कम्पनी फक्सकनले आफ्ना ३०० भन्दा बढी चिनियाँ इन्जिनियर र प्राविधिकलाई भारतबाट फर्कन निर्देशन दिएको थियो। रिपोर्ट अनुसार, चीनले भारतको म्यानुफ्याक्चरिङ क्षेत्रमा असर गर्न यस्तो कदम उठाएको थियो।

यसअघि, गत अप्रिलमा चीनले सातवटा रेयर अर्थ म्याटेरियलको निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो। यसका लागि विशेष अनुमति लिनुपर्ने प्रावधान लागु गरिएको थियो, जसका कारण भारततर्फको आपूर्ति रोकिन पुगेको थियो।

चीनले रेयर अर्थ म्याटेरियलको निर्यातमा प्रतिबन्ध लगाउनुको कारण यसलाई राष्ट्रिय सुरक्षा र गैर-सैनिक प्रयोगसँग जोडिएको बताएको छ।

अप्रिल २०२५ देखि लागू भएको नयाँ नियमअनुसार हरेक आयातकर्ताले ‘एन्ड–यूजर सर्टिफिकेट’ पेश गर्नुपर्नेछ। यसमा म्याग्नेट्सको प्रयोग सैन्य प्रयोजन वा अमेरिकामा पुनःनिर्यात गर्नका लागि गरिँदैन भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ ।

चीन-पाकिस्तान सम्बन्ध के हुन्छ ? 

चिनियाँ परराष्ट्र मन्त्री वाङ यी चाँडै पाकिस्तान भ्रमणमा जान लागेका छन्, जहाँ उनले विभिन्न नेतासँग भेटघाट गर्नेछन्। उनी चीन-पाकिस्तान परराष्ट्र मन्त्रीहरूको रणनीतिक बैठकमा पनि सहभागी हुनेछन् ।

मंगलबार चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङसँग एक पत्रकारले प्रश्न गरेका थिए, ‘भारत र पाकिस्तानबीच तनाव रहँदा पनि चीन पाकिस्तानको ‘असल मित्र’ भएको अवस्थामा भारतसँग सम्बन्ध सुधार्न कति गाह्रो छ?’

जवाफमा उनले चीन-पाकिस्तान सम्बन्धलाई ‘हरेक मौसममा बलियो देखिने सम्बन्ध’ को संज्ञा दिइन् ।

‘हामी असल मित्र हौँ, रणनीतिक साझेदार हौँ र हाम्रो द्विपक्षीय सम्बन्ध कुनै तेस्रो पक्षले असर पार्दैन, न त कुनै तेस्रो पक्षलाई लक्षित गर्दछ।’

उनले थपिन्, ‘भारत र पाकिस्तान दुवै चीनका महत्वपूर्ण छिमेकी हुन्। हामी दुवै देशसँग मैत्रीपूर्ण सहकार्य बढाउन चाहन्छौँ र उनीहरूबीचका मतभेदलाई उचित तरिकाले समाधान गर्न सकिन्छ भन्ने विश्वास गर्छौं ।’

जयशंकरवाङ यी भेटले हालेको जग

यसअघि १८ अगस्टमा भारतीय परराष्ट्र मन्त्री एस. जयशंकर र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच भेट भएको थियो।

सो अवसरमा जयशंकरले भनेका थिए, ‘हाम्रो सम्बन्धले कठिन चरण पार गरिसकेपछि अब दुवै देश अगाडि बढ्न चाहन्छन् । यसका लागि दुवै पक्षबाट स्पष्ट दृष्टिकोण आवश्यक छ। आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितको सम्मानका आधारमा सम्बन्ध अगाडि बढाउनु जरुरी छ। दुवैबीचका मतभेद विवादमा र प्रतिस्पर्धा संघर्षमा बदलिनु हुँदैन।’

उनले थपेका थिए, ‘भारत एक निष्पक्ष, सन्तुलित र बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा छ, जसमा बहुध्रुवीय एसिया पनि परिहाल्छ ।’

वाङ यीले भनेका थिए, ‘असल सम्बन्धका लागि सीमामा शान्ति रहनु आवश्यक छ र तनाव न्यूनीकरण प्रक्रियालाई अघि बढाउनु पर्छ ।’

यसअघि केही साताअघि भारतीय परराष्ट्र मन्त्रालयले दुवै देश केही विशेष मार्गमार्फत व्यापार पुनः सुरु गर्ने दिशामा काम गरिरहेका जानकारी दिएको थियो ।

यी मार्गहरूमा विशेष गरी उत्तराखण्डको लिपुलेख दर्रा, हिमाचल प्रदेशको शिप्की ला दर्रा र सिक्किमको नाथु ला दर्रा पर्छन्।

सन् २०२० मा गलवानमा भएको झडप र कोभिड महामारीको समयमा यी मार्गमार्फत हुने व्यापार बन्द गरिएको थियो।

(भारतीय सञ्चार माध्यमहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?