+
+
Shares
शारीरिक सुगठन खेलाडी पक्राउ :

डेढ करोड ऋणको ५ करोड तिर्दा पनि नपुगेर कार कब्जा गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते २१:२०

५ भदौ, काठमाडौं । उच्चपदस्थ व्यक्तिसँग खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै त्यसैको आडमा अवैध मिटरब्याजीको धन्दा चलाएको आरोपमा एक युवक जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ घर भएका ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले मिटरब्याज (अनुचित लेनदेन)को आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । मकवानपुरबाट पक्राउ गरेर बुधबार ललितपुर ल्याइएका कटुवालविरुद्ध जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप भएको छ ।

कटुवालले मन्त्रीदेखि गृहमन्त्री, प्रधानमन्त्री, प्रहरीका उच्च तहका व्यक्तिदेखि आईजीपी, उच्च तहका नेता लगायतसँग तस्वीर खिच्ने र उक्त तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो पहुँच उच्च तहमा रहेको सन्देश दिँदै मिटरब्याजको धन्दा चलाएको आरोप उनीमाथि छ ।

‘उच्च तहका व्यक्तिसँग तस्वीर खिचाउने र त्यसैको आधारमा पहुँच देखाउँदै अवैध अनुचित लेनदनेको कसुर गर्ने उनको प्रवृत्ति देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ परिसरका एक अनुसन्धान अधिकृतले भने ।

शारीरिक सुगठनका खेलाडीसमेत रहेका कटुवालले यसैगरी एक व्यक्तिलाई १ करोड ४० लाख दिएर पाँच करोड रुपैयाँ असुलेको आरोप छ । बौद्धमा व्यापार गर्दै आएका व्यक्तिलाई १ करोड ४० लाख ऋण दिएको र त्यसवापत ४ करोड ८६ लाख ९३ हजार रुपैयाँ असुलेको आरोप छ ।

करिब पाँच करोड रुपैयाँ असुल्दासमेत अझै रकम बाँकी भन्दै धम्क्याएर चेक लैजानेदेखि कार नै लगेको आरोप छ ।

कटुवाल र अहिले जाहेरी दिने युवकबीच करिब चार वर्ष अगाडिबाटै कारोबार भएको देखिएको प्रहरीको भनाइ छ। बैंक खाताको चेक ग्यारेन्टी गरेपछि कटुवालले ती व्यक्तिलाई विभिन्न मितिमा पटकपटक गरी १ करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए ।

ऋण वापत लिएको रकम तिर्ने बेलामा आफूले ६० लाख रुपैयाँ नगदै दिएको बाँकी रकम विभिन्न व्यक्तिको खातामा हालेको पीडित युवकको भनाइ रहेको प्रहरीले बताएको छ ।

कटुवालकै एभरेष्ट बैंकको खातामा विभिन्न मितिमा गरेर १ करोड १३ लाख ६० हजार, कुमारी बैंकको खातामा ५८ लाख ८ हजार, सिटिजन्स बैंकको खातामा ७५ लाख, पशुपति कटुवाल क्षेत्रीको गरिमा विकास बैंकको खातामा १८ लाख ३० हजार, उनैको एभरेष्ट बैंकको खातामा १४ लाख ५० हजार, मन्जु भण्डारीको सिद्धार्थ बैंकको खातमा १४ लाख २५ हजार रुपैयाँ जम्मा गरेको दाबी पीडित युवकको छ ।

त्यसैगरी, भीमराज गिरीको लक्ष्मी सनराइज बैंकको खातामा ७२ लाख ८० हजार, शिवमाया गिरीको लक्ष्मी सनराइज बैंकको खातामा ५ लाख ५० हजार, शरदप्रताप सिंहको कुमारी बैंकको खातामा ३ लाख २० हजार, सलिना कटुवालको सिद्धार्थ बैंकको खातामा १४ लाख ५० हजार, एभरेष्ट बैंकको खातामा १३ लाख ६० हजार, विक्रमसिंह गुरुङको ग्लोबल आईएमई बैंकको खातामा १५ लाख, तिलकराम राईको एभरेष्ट बैंकको खातामा ८ लाख ६० हजार रुपैयाँ जम्मा गरिदिएको दाबी पीडित युवकको रहेको प्रहरीले बताएको छ ।

उनको यो दाबीअनुसार पैसा जम्मा भएको हो/होइन, अहिले पक्राउ परेका कटुवालले नै भनेअनुसार जम्मा गरेको हो/होइन भन्ने पाटोबारे अहिले अनुसन्धान भइरहेको परिसरका एसपी जोशीले बताए ।

यसरी सन् २०२३ देखि २०२५ सम्म गरी पटकपटक चार करोड ८६ लाख ९३ हजार रुपैयाँ रकम दिइसकेको दाबी पीडित युवकको छ ।

कार नै लगेको आरोप

डेढ करोड रुपैयाँ ऋण लिएर करिब पाँच करोड रुपैयाँ तिर्दा पनि अझै रकम बाँकी छ भन्दै कार नै कब्जा गरेर लगेको दाबी पीडित युवकको छ । ती युवकले प्रहरीमा दिएको जाहेरीअनुसार २२ साउनमा पुल्चोकस्थित लबिम मल अगाडिबाट बा२०च ५२० नम्बरको कार कटुवालले लगेको उल्लेख गरिएको छ ।

‘मैले चलाउने गरेको कार नियन्त्रणमा लिँदै धम्की दिई डर-त्रासमा पारेर साढे पाँच लाख उल्लेख गर्न लगाई एक थान चेकसमेत लगियो,’ पीडित भनिएका युवकले प्रहरीसमक्ष बताएका छन् ।

यसका साथै सामाजिक सञ्जाल ह्वाट्स एप तथा म्यासेन्जरमार्फत पनि आफूलाई धम्की दिने गरेको दाबी युवकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?