+
+
Shares

हुम्लाको टाँके भ्याली : सुन्दरताको अथाह खानी (तस्वीरहरु)

कर्णालीमा गरिबी मात्र होइन, सुन्दरताको अथाह खानी पनि छ भन्ने प्रमाण हो हुम्लाको टाँके भ्याली। प्रकृतिको यो अनुपम उपहार राज्यको नजरमा पर्न सकेको छैन ।

नरजन तामाङ नरजन तामाङ
२०८२ भदौ ६ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चंखेली गाउँपालिका-५ को टाँके भ्याली प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ।
  • स्थानीय भियाले तामाङले कर्णालीको रोग मात्र होइन, निको पार्ने जडीबुटी र पर्यटन सम्भावना पनि रहेको बताए।
  • स्थानीय सरकार र प्रदेश सरकारले टाँके भ्यालीको प्रचारप्रसारमा चासो नदेखाएको र यसले पर्यटन विकासमा अवरोध पुगेको स्थानीयले गुनासो गरे।

६ भदौ, हुम्ला । कतै भिराला पाटन त कतै सानातिना थुम्काथुम्की । कतै आँखाले भ्याएसम्म देखिने हिमचुचुरा । हिउँ बोकेर संगीतको धुनजस्तै गुञ्जने नदीनाला, अनि घाँसे मैदानमा चरिरहेका पशुवस्तुका बथान । रंगीचंगी फूलले ढाकिएको समथर फाँट कार्पेट बिच्छयाएझैं देखिन्छ ।

यो भूगोलमा टेकेर जसले दृश्य नियाल्छ, मन त्यसैत्यसै फुरुङ्ग हुन्छ । यस्तो लाग्छ, स्वर्गको एक टुक्रा यहीँ झरेको छ ।

चंखेली गाउँपालिका-५ मा पर्ने टाँके भ्यालीको बयान गरिसाध्य छैन । यो भ्याली आफैंमा एक कुशल चित्रकारको हस्तशिल्पझैं लाग्छ ।

यहाँका फाँटहरूले मौसमअनुसार रूप फेर्छन् । हिँउदमा सेताम्मे हुन्छन् भने वर्षायाममा रंगीचंगी । ढक्कमक्क फुल्ने फूलहरूले हरिया फाँट बिछट्टै रूपवती देखिन्छन् ।

५२०० मिटर अग्लो गोरख हिमाललाई पृष्ठभूमिमा राखेर बर्सेनि आउने आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्छ टाँके भ्यालीले । यो भ्याली प्रकृतिसँग रमाउन चाहने पर्यटकहरूका लागि गज्जबको गन्तव्य हो ।

कर्णालीलाई अभाव,गरिबी, दु:ख र पछौटेपनको पर्यावाचीको संज्ञा दिन अझै छोडिएको छैन । घुमन्तेहरू कर्णाली पुग्छन्, आँगनमा खेलिरहेका बालबालिकाका तस्वीर खिच्छन् फर्किन्छन् ।

विश्लेषण, अन्वेषकहरू कर्णाली आउँछन्, भोकको आयतन नापेर फर्किन्छन् । ‘कर्णाली आएका पत्रकारले पनि सही सूचना दिँदैनन्, आफ्नो दुनो सोझ्याउने मात्र काम गर्छन्,’ चंखेली गाउँपालिका-५ का स्थानीय भियाले तामाङ भन्छन्, ‘कर्णालीमा रोग मात्र होइन, निको पार्ने जडीबुटी छ । भोक मेटाउने अन्न यहीँ फल्छ । पर्यटनको अथाहा सम्भावना छ कर्णालीमा । यो वास्तविकता कसैले उजागर गर्दैनन् ।’

स्थानीयका अनुसार कर्णालीका फाँट र वनजंगलमा जटामसी, गुच्ची च्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, अतिस, कुटकी, सर्पगन्धा लगायतका जडीबुटी पाइन्छ ।

टाँके भ्यालीमा पशु-चौपायहरूले समेत शोभा बढाएका छन् । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तालतलैया झरना, नदीनाला र रमणीय दृश्यले लोभ्याउँछ । साँच्चैको भूस्वर्ग टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेल छ । कर्णाली प्रदेश र संघदेखि स्थानीय सरकारसम्मको नजर नपरेको स्थानीयको गुनासो छ ।

 

बर्सेनि गाउँपालिकाले लाखौँ रकम खर्च गरे पनि पर्यटन प्रबर्द्धनमा चासो नदेखाएको चंखेली गाउँपालिका-५ का जानकारको गुनासो छ । स्थानीय सरकारले टाँके भ्यालीको प्रचारप्रसार गर्न सके चंखेली गाउँपालिकाको बलियो आन्तरिक स्रोत बन्नसक्ने स्थानीयको भनाइ छ ।

सबै तस्वीरहरु : नरजन तामाङ

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?