
७ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने बताएका छन् ।
अनेरास्ववियु महिला विभागले आयोजना गरेको तीज विशेष कार्यक्रममा ढकालले देश र पार्टीको आवश्यकता भएकाले उमेरको बन्देज लगाउन नहुने बताए ।
‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ’ उनले भने ‘यी दुवै विषयलाई विधान महाधिवेशनले अनुमोदन गर्छ ।’
तर ’एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले’ बनाउन तम्सिनेहरुले यो ७० वर्षे हद कायम राख्न चाहेको पनि बताए । यद्यपि अखिलमा उमेर हद लगाउने निर्णयको भने उनले बचाउ गरे । ३२ वर्षे उमेर हद अखिलमा लगाउँदा नेतृत्व विकासमा सहयोग पुगेको ढकालको तर्क थियो ।
उनले अखिलको गण्डकी प्रदेश लगायत केही ठाउँमा भइरहेको विवादबारे जानकार रहेको र असन्तुष्टहरूसँग संवादमा रहेको पनि बताए ।
प्रतिक्रिया 4