+
+
Shares

भारतमा टिकटकसहितका चिनियाँ प्लाटफर्महरु आंशिक फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १३:२१

काठमाडौं । भारतमा चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकको वेबसाइट पाँच वर्षपछि चल्न थालेको छ । यद्यपि टिकटक एपमाथिको प्रतिबन्ध भने अझै हटेको छैन ।

भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२० मा टिकटक लगायतका विभिन्न चिनियाँ एप तथा वेबसाइटमाथि प्रतिबन्ध लगाएको थियो ।

पाँच वर्षपछि भारतले प्रतिबन्धित चिनियाँ प्लाटफर्महरु आंशिक रुपमा फुकुवा गरेको हो । योसँगै टिकटकको वेबसाइट, शपिङ साइट अली एक्सप्रेस लगायतका वेबसाइटहरु भारतमा चल्न थालेका छन् ।

समाचार अनुसार भारतमा टिकटकको वेबसाइट खुलेपनि गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरमा टिकटक एप देखिएको छैन । साथै भारतमा टिकटकको होमपेज मात्र खुलेको र प्रयोगकर्ताको अकाउन्ट लगइन नभएको पनि बताइएको छ ।

भारत सरकार तथा टिकटकको मातृ कम्पनी बाइटडान्स लगायतले भारतमा चिनियाँ एप तथा साइटहरुमाथिको प्रतिबन्ध फुकुवा भएको विषयमा आधिकारिक रुपमा केही बताएका छैनन् ।

स्मरण रहोस् सन् २०२० मा सीमाक्षेत्रको गलवान उत्पयकामा भारत र चीनका सेनाबीच रक्तपातपूर्ण संघर्ष भएसँगै भारतले टिकटक लगायतका ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै टिकटक, शेयर इट, युसी ब्राउजर, युसी न्यूज, भिगो भिडियो, बैदु म्याप, डीयू ब्याट्री सेभर तथा क्लास अफ किंग्स लगायतका विभिन्न ५९ वटा लोकप्रिय चिनियाँ एपलाई भारतमा प्रतिबन्ध लगाइयो । त्योसँगै ती एपका वेब भर्सन पनि प्रतिबन्धित गरिए । ती चिनियाँ प्लाटफर्महरु भारतको सम्प्रभूत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा तथा सार्वजनिक व्यवस्थामा खलल पुराउने खालका हानिकारक गतिविधिमा लिप्त रहेको भारतको ठहर थियो ।

तर पछिल्लो समयमा भारत र चीनबीचको सम्बन्धमा सुधार हुन थालेसँगै टिकटकको वेबसाइट भारतमा खुल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशी मन्त्री वांग यीबीच भएको भेटवार्तामा सीमाक्षेत्रमा शान्ति कायम गर्ने, सीमा व्यापार खुल्ला गर्ने तथा लगानी वृद्धि लगायतका विषयमा कुराकानी भएको छ ।

रोचक त के भने भारतले टिकटक माथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत गरिरहँदा अमेरिकामा भने टिकटकमाथि संकट झनै गहिरिँदै गएको छ । बाइटडान्सलाई अमेरिकामा आफ्नो व्यवसाय बिक्री गर्ने वा प्रतिबन्धको सामना गर्ने अल्टिमेटम प्राप्त भएको छ ।

तर उता ह्वाइटहाउसले गत हप्ता आफ्नो आधिकारिक टिकटक अकाउन्ट सुरुवात गरेको छ । साथै टिकटक अकाउन्ट खोलेसँगै पहिलो पोस्टमै ह्वाइटहाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो शेयर गरेको छ । उक्त भिडियोमा डोनाल्ड ट्रम्पले भनेका छन्– हरेक दिन म यो संकल्प लिएर उठ्छु कि यो मुलुकका मानिसहरुका लागि उत्तम जीवन दिउँ । म तपाइँहरुको आवाज बनूँ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?