
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सजन काफ्ले र आकाश बरालले मेघौली फिल्म्सको ब्यानरमा फिल्म ’जिरो डिग्री’ निर्माण गर्ने भएका छन्।
- फिल्मको कथा सडकको पहुँच नभएको गाउँमा शव जोगाउन डीप फ्रिज बोकेर आउने छोराछोरीको उथलपुथलमा आधारित छ।
- अभिनेता विजय बराल मुख्य भूमिकामा रहने फिल्मको छायांकन ’कबड्डी ५’ पछि सुरु हुने जानकारी दिइएको छ।
काठमाडौं । ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकाश बरालले फिल्म ’जिरो डिग्री’ निर्माण गर्ने भएका छन् ।
सोमबार ‘मिनिमल’ पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको जानकारी दिइयो ।
कथा राजन भुसालको छ । पटकथा र संवाद निर्देशकद्वयले लेखेका हुन् । ’जिरो डिग्री’को कथा सडकको पहुँच नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ ।
यो फिल्म रेफ्रिजेरेटर गाउँसम्म पुर्याउने प्रसङ्ग मात्र नभएर ’लाइट कमेडी’ कथा पनि रहेको निर्देशकले बताए । फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन् ।
ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसले बोकेर खोला तारिरहेका छन् । सामान्यतया पोस्टरमा कलाकारको अनुहार वा ठूलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ ।
कार्यकारी निर्माता मोती कार्की हुन् । ’जिरो डिग्री’को छायाङ्कन ‘कबड्डी ५’को छायांकन सकिएपछि मात्र हुनेछ । अभिनेता बराल दशैं लगत्तै ‘कबड्डी’को पाँचौ श्रृंखलामा ब्यस्त हुनेछन् ।
त्यसपछि मात्र ‘जिरो डिग्री’ छायांकन सुरु हुने अभिनेता बरालले जानकारी दिए ।
प्रतिक्रिया 4