+
+
Shares

किम जोन उनसँग भेट्ने ट्रम्पको इच्छा, भन्छन्– बहिनीपछि मै हो किमलाई राम्रोसँग चिन्ने

‘कुनै दिन फेरि भेट हुन्छ । म प्रतीक्षारत छु । मसँग उनको राम्रो सम्बन्ध थियो,’ यसै वर्ष भेट हुनसक्ने बताउँदै ट्रम्पले पत्रकारहरूसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १०:२७
ह्वाइट हाउसमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फोटो : सिन्ह्वा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष भित्रै उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन्।
  • ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति ली जाए म्युङ्गसँग भेटवार्तामा अमेरिकी सैनिक खर्चमा सियोलले ठूलो योगदान दिनुपर्ने बताएका छन्।
  • ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए र पुनः कूटनीतिक संवाद सुरु गर्ने प्रयासमा छन्।

१० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय ओभल अफिसमा दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जाए म्युङ्गसँगको भेटवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा देखाएका हुन् ।

आफ्नो पहिलो कार्यकालमा अमेरिका–उत्तर कोरियाबीच विफल भएको आणविक कूटनीति पुन: सुरु गर्न चाहेको बताउँदै ट्रम्पले किमसँग यसै वर्ष (सन् २०२५) भित्रै भेट्ने चाहेको बताएका गार्जिएनले उल्लेख गरेको छ ।

ओभल अफिसमा ट्रम्पले भने, ‘म किमसँग भेट गर्न चाहन्छु । उपयुक्त समयमा  किमसँग भेट्ने प्रतीक्षा गरिरहेको छु ।’

ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि पनि उत्तर कोरियाली सर्वोच्च नेता किमले प्रत्यक्ष वार्तामा रुचि देखाएका छैनन् ।

तर, ट्रम्प भने आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको तर परिणामविहीन कूटनीतिक संवादलाई फेरि ब्यूँत्याउने प्रयासमा देखिन्छन् ।

ट्रम्प–किम सम्बन्ध

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए । किम जोन उनलाई उनकी बहिनी किम यो जोङ बाहेक आफूले मात्रै राम्रोसँग चिनेको ट्रम्पको दाबी छ । ‘कुनै दिन फेरि भेट हुन्छ । म प्रतीक्षारत छु । मसँग उनको राम्रो सम्बन्ध थियो,’ यसै वर्ष भेट हुनसक्ने बताउँदै ट्रम्पले पत्रकारहरूसँग भने ।

भेटमा हालसम्म असफल भए पनि ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी विवाद अन्त्य गरी दीर्घकालीन शान्ति कायम गर्न प्रयास गरिरहेको भन्दै दक्षिण कोरियाली राष्ट्रपति लीले प्रशंसा गरेका थिए ।

ट्रम्पसँग दक्षिण कोरियाका राष्ट्रपति लीको भेटलाई अहिलेको परिस्थितिमा अस्वाभाविक र असहज मानिएको गार्जियनले लेखेको छ ।

दशकौंदेखि जारी उत्तर–दक्षिणबीचको तनाव अन्त्य गर्न सक्ने ‘एकमात्र व्यक्ति’ ट्रम्प भएको उनको भनाइ छ ।

ठट्यौली पारामा दक्षिणी कोरियाली राष्ट्रपति लीले भने, ‘म तपाईंको किमसँग हुने भेट, उत्तर कोरियामा ट्रम्प टावर निर्माण र गल्फ खेल्ने दिनको प्रतीक्षा गर्छु ।’

ट्रम्पले आफूले पदभार सम्हालेपछि उत्तर कोरियाले मिसाइल परीक्षणमा कटौती गरेको दाबी गरेका छन् । तर, विश्लेषकहरूले भने प्योङयाङ हाल युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएर किमले रुसको समर्थन पाएको विश्लेषकहरूको तर्क छ ।

यता, उत्तर कोरियाले भने अमेरिकासँग वार्तामा बसेर आणविक कार्यक्रम अन्त्य गर्नुभन्दा बरु त्यसलाई अझ तीव्र बनाउन प्रतिक्रिया दिँदै आएको छ ।

गत साता मात्रै पन किम उत्तर कोरियाली नयाँ ‘एयर डिभेन्स सिस्टम’ (वायु रक्षा प्रणाली) को परीक्षणमा आफैं उपस्थित भएका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति लीले ‘कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण आणविक नि:शस्त्रीकरण’ को आवश्यकतामा सहमति व्यक्त गरे ।

ट्रम्पसँग दक्षिण कोरियाका राष्ट्रपति लीको भेटलाई अहिलेको परिस्थितिमा अस्वाभाविक र असहज मानिएको गार्जियनले लेखेको छ ।

नवनिर्वाचित राष्ट्रपति लीसँगको भेटअघि मात्रै पनि ट्रम्पले दक्षिण कोरियाको आन्तरिक राजनीतिक घटनाक्रमको आलोचना गरेका थिए । गत वर्षको अन्त्यतिर सैन्य कू गर्ने असफल प्रयासपछि महाभियोग लगाएर पदच्यूत गरिएका पूर्वराष्ट्रपति युन सुकमाथिको अनुसन्धानमा त्रुटि भएको भन्दै ट्रम्पले दक्षिण कोरियाली सरकारको आलोचना गरेका थिए ।

ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल टु«थ सोसलमा लेखेका थिए, ‘दक्षिण कोरियामा के भइरहेको छ ? यस्तो अवस्थामा व्यवसाय गर्न सकिँदैन ।’ तर, नवनिर्वाचित राष्ट्रपति लीले लगातार प्रशंसा गरेपछि ट्रम्पले आफ्नै भनाइलाई ‘गलत बुझाइ’ भन्दै फिर्ता लिएका थिए ।

अमेरिकी सैनिक खर्च र व्यापार विवाद

४० मिनेट भएको कुराकानीमा ट्रम्पले चेतावनी शैलीमा दक्षिण कोरियामा तैनाथ २८ हजार ५०० अमेरिकी सैनिकको खर्चमा सियोलले अझ ठूलो योगदान दिनुपर्ने बताएका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भेटका क्रममा ट्रम्पले दक्षिण कोरियामा रहेको अमेरिकी सैन्य अड्डाले चर्चेको भूमिको स्वामित्व लिन सक्ने सम्भावनाबारे पनि संकेत गरेका समाचारमा उल्लेख छ ।

उनले भने, ‘हामीले ठूलो लगानी गरेका छौं, त्यसको स्वामित्व लिनुपर्ने हुन्छ ।’

गत जुलाईमा अमेरिका–दक्षिण कोरियाबीच व्यापार सम्झौता भए पनि आणविक ऊर्जा, सैन्य खर्च र ३५० अर्ब डलरको लगानीबारे अझै मतभेद कायम छ ।

ट्रम्पले सियोललाई ‘पैसा छाप्ने मेसिन’ भन्दै अमेरिकी सुरक्षाको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

ट्रम्पको आक्रामक शैलीका अगाडि दक्षिण कोरियाली राष्ट्रपति ली भने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग जस्तो नोकझोेंकको स्थितिबाट बच्ने रणनीतिमा देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?