
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यस विषयमा छोटो वार्ता गर्ने योजना रहेको बताए।
- उनले भारत–चीनबीचको कालापानी, लिपुलेक र लिम्पियाधुरा व्यापार सहमतिमा चीनलाई समेत प्रश्न गर्नुपर्ने बताए।
- गुरुङले चीनले लिपुलेक नेपालको हो भन्ने थाहा पाउँदा भारतसँग अस्पष्ट नीति लिएको आरोप लगाए।
११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा मार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले दुई देशले गरेको सहमतिबारे मोदी र जिनपिङलाई प्रश्न गर्ने बेला आएको बताएका हुन् ।
चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप उनको थियो ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन । चिनीयाँ राष्ट्रपति सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ,’ उनले भने ।
मन्त्री गुरुङले थपे, ‘नेपाल र चीनको बीचमा भएका धेरै सम्झौताहरू र बोर्डर इस्युहरूमा जे खालको सहमति छ, त्यसमा लिपुलेक त हाम्रो हो भन्ने उनीहरुलाई थाहा छ नि त !’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने उनले बताए । ‘व्यापारको कुरामा चीनको पनि स्पष्ट कुरा देखिएन । यो विषयमा आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा छोटो वार्ता गर्ने हाम्रो योजना रहेको छ ।’
प्रतिक्रिया 4