
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले एच-वान बी भिसा र ग्रीन कार्ड प्रणालीमा सुधार गर्ने संकेत गरेको छ, जसले लाखौं विदेशी कामदार र विद्यार्थीलाई असर पार्नेछ।
- अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एच-वान बी भिसालाई ठगी भन्दै सुधार अपरिहार्य भएको बताए र अमेरिकी कामदारलाई रोजगार दिनुपर्ने बताए।
- एच-वान बीको लटरी प्रणाली हटाइने र उच्च आम्दानीका आधारमा भिसा दिने व्यवस्था गरिने तयारी गरिएको छ, जसले विशेषगरी भारतीय कामदारलाई असर गर्नेछ।
११ भदाै, काठमाडाैं । अमेरिकाले एच-वान बी भिसा र ग्रीन कार्ड प्रणालीका विद्यमान प्रावधानमा हेरफेरको संकेत गरेको छ । उक्त परिवर्तन लागू भएमा लाखौं विदेशी कामदार र विद्यार्थीमा असर पर्ने देखिन्छ ।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एच-वान बी भिसालाई ठगी भन्दै यसमा सुधार अपरिहार्य भएको बताए ।
उनले भने, ‘अमेरिकामा रोजगारको अवसर विदेशी कामदारले लिइरहेका छन् । अमेरिकी कामदारलाई रोजगारी दिनु सबै व्यवसायहरूको पहिलो प्राथमिकता हुनुपर्छ । अब अमेरिकनलाई रोजगार दिने समय आएको छ ।’
लुटनिकले फक्स न्यूजसँग कुरा गर्दै आफू भिसा सुधारको प्रक्रियामा संलग्न भएको जनाए । हालको प्रणालीले तल्लो स्तरका कामदारलाई प्राथमिकता दिने भएकाले परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
उनले उदाहरण दिँदै भने, ‘औसत अमेरिकीको वार्षिक आम्दानी ७५ हजार डलर छ भने औसत ग्रीन कार्डधारीको आम्दानी ६६ हजार डलर मात्र छ । यसले तल्लो स्तरका कामदार ल्याइरहेको छ, जसलाई अब बदल्ने समय आएको छ । ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छन्, जसमा उत्कृष्ट जनशक्ति मात्र अमेरिका आउन पाउनेछन् ।’
सुधारको भागस्वरूप एच-वान बीको लटरी प्रणाली हटाइने र उच्च आम्दानीका आधारमा भिसा दिने व्यवस्था गरिने अपेक्षा गरिएको छ । यसबारे अमेरिकी अधिकारीहरूले यसअघि नै मस्यौदा नियम स्वीकृत गरिसकेका छन् ।
यस कदमले विशेषगरी भारतीय कामदार र विद्यार्थीहरूलाई असर गर्नेछ, जसको एच–वान बी भिसामा हालसम्म करिब ७० प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्रपति ट्रम्पले नयाँ कार्यकालमा पदभार ग्रहण गरेपछि अमेरिकी प्रशासनले विदेशी कामदार र विद्यार्थीका लागि नियम कडाइ गर्दै आएको छ । यसै क्रममा भिसा प्रक्रियामा सहयोग गर्ने ‘सिटिजनसिप एन्ड इमिग्रेशन सर्विसेस’ अम्बड्सम्यान’ कार्यालय यस वर्ष बन्द गरिएको छ ।
यसबाहेक, एच–वान बी भिसा भएकाहरूले अब अनिवार्य रूपमा बायोमेट्रिक जानकारी, घरको ठेगानालगायतका व्यक्तिगत विवरण दिनुपर्ने व्यवस्था गरिएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीन कार्डले अनिश्चितकालसम्म अमेरिकामा बस्ने अधिकार नदिने टिप्पणी गरेपछि ग्रीन कार्डको भविष्यबारे थप प्रश्न उठेका छन् ।
ट्रम्पको ‘गोल्ड कार्ड’ पहललाई ग्रीन कार्डको सम्भावित विकल्पका रूपमा प्रचार गरिएको छ ।
प्रतिक्रिया 4