+
+
Shares
विश्लेषण :

२००७ सालसम्म नेपालमा थिए ३३३ विद्यालय, साक्षरतादर २ प्रतिशत

शैक्षिक सुधारको ‘बटमलाइन’

२००७ सालसम्म देशमा ३३३ विद्यालय, एउटा क्याम्पस र १० हजार जति विद्यार्थी थिए। आज ३५ हजार बढी विद्यालय छन्। साक्षरतादर २ प्रतिशतबाट ७६.२ मा पुगेको छ। तर, विद्यार्थीको सर्वाङ्गीण विकास? गाँठो यही परेको छ।

नारायणप्रसाद सापकोटा नारायणप्रसाद सापकोटा
२०८२ भदौ १२ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को नतिजामा क्रमशः १३.९६ र ११.०१ प्रतिशत सुधार भएको छ।
  • नेपालमा शैक्षिक पारिस्थितिक प्रणाली विकास हुन नसकेको र यसले दीर्घकालीन शैक्षिक सुधारमा बाधा पुर्‍याएको छ।
  • शिक्षा प्रणाली सुधारका लागि सबै सरोकारवालाले जिम्मेवारपूर्वक काम गर्नुपर्ने र पारिस्थितिक प्रणाली निर्माण आवश्यक रहेको छ।

हालसालै प्रकाशित भएका माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका नतिजाहरूले अघिल्लो शैक्षिक सत्रको तुलनामा यस वर्ष नतिजाको सुधार भएको संकेत गरेको छ। शैक्षिक सत्र २०८० मा एसईईमा ४७.८६ प्रतिशत र कक्षा १२ मा ५०.१६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने शैक्षिक सत्र २०८१ मा क्रमशः ६१.८१ र ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। यसरी हेर्दा शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा एसईईमा १३.९६ प्रतिशत र कक्षा १२ मा ११.०१ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भए।

विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किला मानिने यी दुवै परीक्षाहरूको नतिजामा सुधार आउनु खुशीको कुरा हो। यी दुवै यस्ता परीक्षा हुन् जहाँ वर्षेनि करिब दश लाख विद्यार्थी सहभागी हुने गर्छन्। यस्तो देश जहाँ ७५ वर्षअघिसम्म कुल विद्यार्थीको संख्या नै दश हजारको हाराहारीमा थियो।

प्राथमिक र मावि गरेर ३३३ विद्यालय र केवल एउटा क्याम्पस थियो। साक्षरता प्रतिशत करिब दुईको हाराहारी मात्र। अहिले साक्षरता ७६ प्रतिशत पुगेको छ। ३५ हजारभन्दा बढी विद्यालय छन्। १७ भन्दा बढी विश्वविद्यालय र विश्वविद्यालय सरहका निकाय छन्। विद्यालयदेखि विश्वविद्यालयसम्म गरी करिब ८० लाख विद्यार्थी।

यस्ता तथ्याङ्क र प्राप्त नतिजा निश्चय नै गुणस्तरीय शिक्षाको महत्वपूर्ण सूचक हुन् तर एक मात्र सूचक भने होइनन्। कुनै पनि देशको शैक्षिक गुणस्तर मापनको लागि परीक्षाको नतिजाका साथै व्यक्तिको सर्वाङ्गीण विकास र व्यावहारिक परिवर्तनको पनि लेखाजोखा गर्नुपर्ने हुन्छ। प्रत्येक व्यक्तिमा सर्वाङ्गीण विकास र व्यावहारिक परिवर्तन भएमा मात्र सभ्य र प्रगतिशील समाजको निर्माण हुन्छ। देश शान्ति, समृद्धि र सुशासनको दिशामा अगाडि बढ्छ। नागरिकको जीवन गुणस्तरीय बन्दछ। त्यस अवस्थालाई मात्र शैक्षिक गुणस्तरको सूचकको रूपमा लिनुपर्दछ।

नतिजामा आएको बढोत्तरीका बाबजुद नेपालको शिक्षाको समग्र इकोसिस्टम भने उत्साहजनक देखिंदैन। यसले गर्दा यी सुधार देखिएका नतिजाहरू समग्र व्यवस्था र अवस्थाको सुधारको कारणले भएका र यथार्थपरक हुन् या नतिजामा प्रभाव पार्ने महत्वपूर्ण प्रक्रियाहरूमा भएको सहजीकरणका कारणले भएका र आकस्मिक हुन् भन्न सकिने आधार छैन।

इकोसिस्टम जीव विज्ञानबाट आएको अवधारणा हो। जीव विज्ञानले व्याख्या गर्ने प्राकृतिक वा जैविक इकोसिस्टममा सबै वनस्पति तथा जनावरहरू एउटै क्षेत्रभित्र बसोबास गर्दै आफूहरू र वातावरण बीचको जटिल सम्बन्धलाई सन्तुलनमा राख्दछन्। इकोसिस्टमको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसका अङ्गहरू बीचको संवेदनशील अन्तरसम्बन्ध हो। जस्तै कुनै जंगलमा माटो, बोटबिरुवा/घाँसपात, मृग र बाघको बीचमा प्राकृतिक अन्तरसम्बन्ध रहेको हुन्छ।

पछिल्ला वर्षहरूमा इकोसिस्टमको अवधारणालाई जीव विज्ञान भन्दा बाहेकका धेरै विद्यामा पनि प्रयोग गरिएको छ। यो उपागमले मानिसका कार्य व्यवहारहरूलाई व्यापक दृष्टिकोणबाट बुझ्न, व्याख्या, परिमार्जन र समस्या समाधान गर्न मद्दत गरेको छ।

मनोविज्ञान, नवप्रवर्धन, विकास, बजार, अर्थतन्त्र, संस्कृति जस्ता क्षेत्रमा दिनानुदिन इकोसिस्टम उपागम अर्थपूर्ण र फलदायी भएको छ। उत्कृष्ट शैक्षिक व्यवस्था र अवस्था भएको मानिएका फिनल्यान्ड, हङकङ, स्वीडेन, नर्वे लगायत देशमा शिक्षाको ‘प्रणाली’ मात्र नभई शिक्षाको ‘पारिस्थितिक प्रणाली’ विकास भएको मानिन्छ।

त्यसो त हालसम्म शिक्षामा धेरैजसो ‘प्रणाली’ को नै चर्चा गरिन्छ। विद्यालय, शिक्षक, पाठ्यक्रम, परीक्षा, तालिम, अभिभावक आदि शिक्षा प्रणाली अन्तर्गत चर्चा गरिने विषयवस्तुहरू हुन्। तर एक्काइसौं शताब्दीमा आइपुग्दा शिक्षा प्रणालीका यी प्रमुख अवयवहरूमा मात्र काम गरेर शिक्षाको प्रमुख ध्येय पूरा हुन सक्दैन। त्यसैले शिक्षा क्षेत्रमा पनि इकोसिस्टमको अवधारणालाई अवलम्बन गर्न थालिएको छ।

शिक्षामा इकोसिस्टमको अवधारणालाई प्रयोग गर्ने श्रेय रसियन मूलका अमेरिकी मनोवैज्ञानिक युरी ब्रोफेन ब्रेनरलाई जान्छ। उनले १९७० को दशकमा बालबालिकाको विकास र शैक्षिक प्रगति धेरै सामाजिक-सांस्कृतिक पक्षहरूमा निर्भर हुन्छ भनेर आपसी सम्बन्धमा आधारित संसारलाई बुझ्ने नयाँ दृष्टिकोण विकास गरे।

शैक्षिक पारिस्थितिक प्रणाली केवल शिक्षाको योजना मात्र होइन; घर, समाज र राष्ट्र निर्माण गर्दै पृथ्वीलाई सहअस्तित्वमा आधारित साझा र सुरक्षित रूपमा भावी सन्ततिलाई हस्तान्तरण गर्ने महान् प्रण हो।

हुनत ‘शैक्षिक प्रणाली’ र ‘शैक्षिक पारिस्थितिक प्रणाली’ दुवैमा सिद्धान्ततः समान शैक्षिक तह र तत्त्वहरू समावेश भएका हुन्छन्। तर शैक्षिक पारिस्थितिक प्रणालीले विभिन्न तत्व र सरोकारवाला बीचको आपसी सम्बन्ध, तिनीहरूको विविधता, सहकार्य र अप्रत्यक्ष प्रभावलाई मुख्य रूपमा जोड दिन्छ।

शिक्षा जस्तो बहुआयामिक र संवेदनशील विषयमा अवयवहरूको अवस्था र सम्बन्धले गहिरो प्रभाव पार्दछ। त्यसैले शैक्षिक ‘प्रणाली’मा मात्र जोड दिएर विभिन्न तहमा रहेका साझेदार र सरोकारवालाहरूको कार्यले मात्र धेरै देशमा थालिएको शिक्षा सुधारको प्रयासले प्रायः नतिजा दिएको देखिंदैन।

शैक्षिक पारिस्थितिक प्रणाली अनुसार शिक्षालाई प्रभाव पार्ने संरचनाहरू पाँच तहको प्रणालीमा विभक्त हुन्छन्। ती हुन्: माइक्रोसिस्टम, मेसोसिस्टम, एक्सोसिस्टम, म्याक्रोसिस्टम र क्रोनोसिस्टम। यी पाँच प्रणालीहरूले आ-आफ्नै तरिकाले व्यक्तिको व्यवहार र विकासलाई समयसँगै आकार दिन महत्वपूर्ण भूमिका खेल्दछन्। साथै प्रणालीहरू परस्पर सम्बन्धित हुन्छन्। कुनै एउटा प्रणालीले मानिसको विकासमा पार्ने प्रभाव अन्य प्रणालीहरूसँगको सम्बन्धमा पनि गहिरो रूपमा निर्भर हुन्छ।

माइक्रोसिस्टम पहिलो तह हो र यसले बालक (विद्यार्थी) को नजिकको वातावरणमा प्रत्यक्ष सम्पर्कमा रहने तत्वहरूलाई जनाउँछ। परिवारमा सँगै रहने सदस्य, विद्यालयका शिक्षक तथा सहपाठी, निकटका साथी, अतिरिक्त क्रियाकलापको मात्रा र प्रकार, स्वास्थ्य हेरचाह, घरछिमेकका साथी, समुदायमा उपलब्ध सेवा–सुविधा आदि माइक्रोसिस्टममा पर्दछन्।

मेसोसिस्टम त्यो तह हो जहाँ व्यक्तिका भिन्न-भिन्न माइक्रोसिस्टमहरू स्वतन्त्र नभई आपसमा अन्तरसम्बन्धित हुन्छन् र एक-अर्कामा प्रभाव पार्दछन्। अभिभावक-शिक्षक सम्बन्ध र अन्तरक्रिया, परिवार र साथीसँगको अन्तरक्रिया, विद्यालय र छिमेक बीचको सम्बन्ध, परिवार र स्वास्थ्य सेवा प्रदायक बीचको सम्बन्ध, फरक-फरक साथी समूहसँगको अन्तरक्रिया, पारिवारिक र अतिरिक्त क्रियाकलाप बीचको सम्बन्ध, धार्मिक-राजनैतिक-आर्थिक समुदाय र परिवार बीचको अन्तरक्रिया आदि मेसोसिस्टमका तत्वहरू हुन्।

एक्सोसिस्टममा स्थानीय सरकार, परिवारका साथीहरू र आमसञ्चारमाध्यम जस्ता औपचारिक तथा अनौपचारिक सामाजिक संरचनाहरू समावेश हुन्छन्। अभिभावकहरूको जागिर, पेशा र त्यहाँका नीति नियमहरू, इष्टमित्रको सञ्जाल, स्थानीय सामुदायिक संस्थाहरू, विद्यालय सञ्चालक समितिका निर्णयहरू, सामाजिक सेवा प्रणालीहरू, आमसञ्चारमाध्यम र सामाजिक सञ्जालहरू, स्थानीय सरकारका नीतिहरू, सार्वजनिक यातायात व्यवस्था आदि मानिसको एक्सोसिस्टममा पर्ने तत्वहरू हुन्।

म्याक्रोसिस्टम सांस्कृतिक तत्वहरूले बालकको विकासमा पार्ने प्रभावमा केन्द्रित हुन्छ। यसमा बालबालिकाले अनुभव गर्ने सांस्कृतिक मान्यता, सामाजिक-आर्थिक अवस्था, शैक्षिक नीति र मापदण्डहरू, प्रविधिको विकास, वातावरणप्रतिको दृष्टिकोण र नीतिहरू, लैङ्गिक भूमिका, धार्मिक वा दार्शनिक विचारधारा आदि पर्दछन्।

क्रोनोसिस्टम बालबालिकाको जीवनभरि हुने कालक्रमिक परिवर्तनसँग सम्बन्धित हुन्छ। यी परिवर्तनहरू स्वाभाविक वा अस्वाभाविक जेसुकै हुनसक्छन। जस्तै विद्यालय भर्ना हुनु स्वाभाविक परिवर्तन हो भने अभिभावकको सम्बन्धविच्छेद वा विखण्डन अस्वाभाविक।

महामारी, युद्ध जस्ता ऐतिहासिक घटनाहरू, इन्टरनेट र सामाजिक सञ्जाल लगायतका प्रविधिगत परिवर्तन, परिवार संरचनामा परिवर्तन (जस्तै सम्बन्धविच्छेद, पुनःविवाह), शैक्षिक सुधारका प्रयासहरू, आर्थिक सूचक, जलवायु परिवर्तन र वातावरणीय परिवर्तनहरू, पुस्तासँगै भएका सांस्कृतिक परिवर्तन आदि कालक्रमिक परिवर्तनहरू हुन्।

यी पाँच वटा शैक्षिक पारिस्थितिक प्रणालीका तहहरूमा जति सकारात्मक हस्तक्षेपहरू गरिन्छ त्यति नै शैक्षिक सुधार दिगो र यथार्थपरक बन्दछ। ठोस रूपमा भन्दा सबै तहका सरोकारवालाहरूको शिक्षा प्रति साझा दृष्टिकोण, औपचारिक तथा अनौपचारिक जिम्मेवारी तथा पेशागत नैतिकता अनुसार कार्यसम्पादन भइरहेको छ भन्ने विश्वास र शैक्षिक प्रणालीका सबै तहमा प्रजातन्त्र र पारदर्शिता कायम भयो भने मात्र शैक्षिक पारिस्थितिक प्रणालीको निर्माण हुन्छ। नेपालको वर्तमान शैक्षिक माहोल भने यसबाट निकै पर छ।

वैदिककालदेखिको गुरुकुल व्यवस्था खासमा एक व्यापक शैक्षिक पारिस्थितिक प्रणाली जस्तै थियो भनेर इतिहास पढ्न पाइन्छ। यस व्यवस्थामा आत्मिक, बौद्धिक र व्यावहारिक विकासमा जोड दिइन्थ्यो। चरित्र निर्माण, धार्मिक तथा आध्यात्मिक मूल्यहरू र जीवनलाई सार्थक बनाउने ज्ञान प्राप्तिलाई प्राथमिकता दिइन्थ्यो।

गुरुकुल व्यवस्थामा गुरुहरूले श्रवण, विचार-विमर्श र बहस जस्ता विधिमार्फत ज्ञान प्रदान गर्ने हुँदा समाजमा मूल्य प्रणाली निकै बलियो थियो। र, सबैभन्दा महत्वपूर्ण कुरा अहिले शैक्षिक पारिस्थितिक प्रणालीमा प्रभाव पार्ने कतिपय तत्वको उपस्थिति नै थिएन। थोरै मात्र चरहरूको उपस्थिति र भूमिकाले गर्दा सिङ्गो समाज स्वत: शैक्षिक पारिस्थितिक प्रणालीको रूपमा कार्य गर्दथ्यो।

वैदिककालपश्चात शैक्षिक अवस्था निरन्तर खस्कँदै गयो। आधुनिक नेपालको पनि इतिहासका विभिन्न कालखण्डहरूमा शिक्षाले स्थान नै पाएन। राणाशासनको अन्त्यसम्म आइपुग्दा शैक्षिक प्रणाली कस्तो थियो भन्ने कुरा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगले सन् १९५६ मा प्रकाशित गरेको ‘नेपालमा शिक्षा’ नामक ऐतिहासिक प्रतिवेदनले छर्लङ्ग पारेको छ। त्यो प्रतिवेदनका कैयौं विषय आजको सन्दर्भमा असान्दर्भिक भए तापनि त्यो विगत, वर्तमान र भविष्य समेटेर मस्तिष्क र हृदय दुवैको संयोजनबाट निस्किएको एउटा असाधारण दस्तावेज थियो।

उक्त प्रतिवेदन अनुसार राणाशासनको अन्त्य भएको वर्ष २००७ सालसम्म नेपालमा ३११ वटा प्राथमिक विद्यालय, २१ वटा हाईस्कूल, एउटा क्याम्पस र १० हजार जति विद्यार्थी थिए। देशको साक्षरता दर २ प्रतिशतभन्दा कम थियो। त्यो अवस्थाबाट आजसम्म आइपुग्दा नेपालमा ३५ हजारभन्दा बढी विद्यालय, १७ भन्दा बढी विश्वविद्यालय र विश्वविद्यालय सरहका निकायहरू, करिब ८० लाख विद्यार्थी तथा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ।

नवउदार मूल्य प्रणालीको कारण नेपालमा अहिले शैक्षिक पारिस्थितिक प्रणालीका सबै तहमा शिक्षा र शिक्षणमैत्री मूल्य प्रणालीको गुञ्जायस नै देखिंदैन।

यसरी हेर्दा नेपालमा राणाशासनको अन्त्य पछिको ७५ वर्षको समयमा धेरै प्रगति भएको देखिन्छ। तर तथ्यांकमा आधारित संख्यात्मक परिवर्तनले २१औं शताब्दीको चुनौतीलाई शिक्षाको औपचारिक प्रणालीबाट मात्र समाधान गर्न सकिंदैन। त्यसको लागि त शिक्षाको विहंगम पारिस्थितिक प्रणालीको आवश्यकता पर्दछ। तर वर्तमान नेपालको सन्दर्भमा शिक्षाको पहुँच र प्रमाणीकरणमा विशेष प्रगति भए पनि ‘प्रणाली’ मात्रको गुणात्मक सुधारको त थालनी नै भएको छैन।

संविधानप्रदत्त अधिकारहरू कार्यान्वयन भएका छैनन्। शिक्षाको उद्देश्यहरूलाई नै व्यावहारिक तहमा स्वीकार गरिएको वा बुझिएको छैन। अभिभावक, स्थानीय निकाय तथा अन्य सरोकारवाला सुधार प्रक्रियामा समावेश गरिएका छैनन्। अप्रत्यक्ष निकाय र सामाजिक-सांस्कृतिक वातावरणलाई त शिक्षा सुधारको हिस्साको रूपमा गणना नै गरिएको छैन। यसको अर्थ शैक्षिक पारिस्थितिक प्रणालीको बीजारोपण नै भएको छैन।

विशेषगरी, २०६२/६३ को जनआन्दोलनपछि नेपालले शैक्षिक पारिस्थितिक प्रणाली विकासको लय समात्नुपर्ने हो। विगतदेखि उठेका र उठाइएका राजनैतिक एजेण्डाहरू सम्बोधन भएका थिए। त्यसपछिको पालो त समाजको बृहत्तर विकास नै थियो। त्यसको मार्ग भनेको शैक्षिक पारिस्थितिक प्रणाली नै थियो। तर भएन। शैक्षिक पारिस्थितिक प्रणाली एउटा बृहत् आयाम भए पनि नेपालमा यसको जग बस्न नसक्नुमा चारवटा कारण देखिन्छन्।

पहिलो हो समाजमा विकसित नवउदार कार्यव्यवहार। नेपाली समाजमा झाङ्गिएको नवउदारवादी मूल्य प्रणालीले सामाजिक आवश्यकताहरू भन्दा बजार व्यवस्थालाई प्राथमिकता दिएको छ। पञ्चायतकालदेखि माओवादी युद्धको सुरुवातसम्म व्यापक राजनैतिक रूपमा विभक्त र युद्धदेखि गणतन्त्र स्थापनासम्म निस्सासिएर बसेको नेपाली समाज देशमा गणतन्त्र स्थापना र विश्वव्यापीकरणको वेभसँगै एकाएक नवउदारवादी चेतनाले गाजिंदै गयो।

समाजमा मानिसका प्रत्येक कार्यव्यवहारहरू चरम उपभोगवादी बन्न थाले। आजसम्म आइपुग्दा त आँसु, हाँसो, न्याय, अन्याय, सम्बन्ध, ज्ञान, संस्कार लगायत सबै मूर्त र अमूर्त पक्षहरू उपभोगका वस्तु भएका छन्। गर्भदेखि चितासम्मका उद्देश्य र शिक्षादेखि संस्कारसम्मका कर्महरू सांसारिक सुख प्रप्तिमा केन्द्रित छन्।

यसरी जीवनको उद्देश्य सांसारिक सुख प्राप्ति नै हुन्छ भने कलिला बालबालिकादेखि वयस्कसम्मले ‘यहाँ र अहिले’ को सिद्धान्त अनुसार सांसारिक सुख प्राप्त गर्न खोज्नु अन्यथा हुनै सक्दैन। विद्यालय र विश्वविद्यालय पढेर पनि शक्ति, सत्ता र सम्पत्तिको नै पछि लाग्ने हो भने यी कुराहरू प्राप्त हुने अन्य छोटा बाटाहरू अपनाउने वा अपनाउन खोज्ने विद्यार्थीहरू कसरी गलत हुनसक्छन्? शिक्षणबाट शक्ति, सत्ता र सम्पत्ति कमाउन नसकेपछि जाँगर हराएर विकल्प खोजिरहेको निरीह शिक्षक कसरी दोषी हुन सक्छ ?

तसर्थ शैक्षिक गुणस्तर पढ्ने पढाउने कर्मको फल मात्र होइन समग्र सामाजिक मूल्य प्रणालीको एक हिस्सा हो। नवउदार मूल्य प्रणालीको कारण नेपालमा अहिले शैक्षिक पारिस्थितिक प्रणालीका सबै तहमा शिक्षा र शिक्षणमैत्री मूल्य प्रणालीको गुञ्जायस नै छैन।

आजका दिनमा शिशु कक्षादेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने कति विद्यार्थीले आफ्नो जन्मदिनमा पुस्तक उपहार पाउँछन् होला? कति विद्यार्थी र शिक्षकको आफ्नो टोल छिमेकमा पुस्तकालय छन् होला? अहिलेको विद्यार्थी पुस्ताले सरकारी स्तरबाट कति विद्यालयहरू स्थापना भएको खबर सुनेका छन् होला?

संघीय र पालिकाको बजेट निर्माणको समयमा कति वटा पुस्तकालय र स्कूल आवश्यकताको माग भयो होला? जुनसुकै तहको शैक्षिक उत्कृष्टताको कदर स्वरूप सबै जनमानसले बुझ्ने गरी अवलम्बन गरिएका सरकारका के कार्यक्रम लागू भइरहेका छन् होला? बिहान उठेदेखि पैसै कमाउने, शक्तिकै पूजा गर्ने र बाटै खन्ने ध्येय पूरा गर्ने वातावरण भएपछि के जाँगरले कोही मान्छेले पढ्छ र पढाउँछ ? त्यसैले सिधा भन्दा राम्रोसँग पढ्ने र पढाउने वातावरण नै छैन।

दोस्रो, नबुझिकन पढ्ने बाध्यता र रोग छ। नेपालको पछिल्लो जनगणना २०७८ अनुसार नेपालमा ४४.९ प्रतिशत मानिसले मातृ भाषाको रूपमा नेपाली भाषा बोल्दछन् भने ८० प्रतिशत भन्दा बढीले माध्यम भाषाको रूपमा यसको प्रयोग गर्दछन्।

नेपालमा जम्मा १३२३ जना मानिस अंग्रेजी मातृभाषी रहेको उल्लेख छ। तर विद्यालय शिक्षाको माध्यम भाषाको रूपमा अंग्रेजी भाषा नै स्थापित हुँदै गएको छ। निजी विद्यालयहरू अंग्रेजी माध्यमका पर्यायवाची छन् भने सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमको लोकप्रियता ह्वात्तै बढेको छ।

नेपालको विद्यालय शिक्षामा अंग्रेजी भाषाको यस किसिमको लोकप्रियताको पछाडि विश्वव्यापीकरण र नवउदार सभ्यताको अन्तरघुलनको स्पष्ट भूमिका छ। कारण जे होस् एकातर्फ सैद्धान्तिक र व्यावहारिक रूपमा भन्दा अर्थपूर्ण र दिगो सिकाइका लागि विद्यालय र घरको सम्बन्ध र सञ्चार मजबुत हुनुपर्ने सत्य स्थापित छ भने अर्कोतर्फ धरातलीय यथार्थ हेर्दा भाषिक व्यवस्थाका कारण हाल नेपालमा घर र विद्यालयको सम्बन्ध पूर्णतया विच्छेद छ।

शिक्षा सम्बन्धी संसारभरिका जुनसुकै सरोकारवाला, तिनका अनुसन्धानका नतिजाहरू र जो–कोहीको पनि एउटा सामान्य बुझाइले बारम्बार देखाएको सत्य के हो भने आफ्नो दैनिक बोलीचालीको भाषामा सिकाइ प्रभावकारी र दिगो हुन्छ।

शिक्षकहरूले अहिले उठाएका सम्पूर्ण माग हुबहु पूरा गर्ने हो भने पनि शिक्षाको पारिस्थितिक प्रणाली विकास नहुँदासम्म शिक्षाको पुनरुत्थान र शिक्षकको आत्मसम्मान हुँदैन।

दोस्रो, तेस्रो माध्यम भाषा मार्फत विद्यालयको औपचारिक परिवेशमा पठनपाठन गर्दा गराउँदा विषयवस्तुलाई बुझ्ने भन्दा पनि अनुमान लगाउने बाध्यात्मक रणनीतिको विकास हुन्छ। औपचारिक शिक्षाको सुरुवातबाट नै विद्यार्थीमा यही रणनीतिले काम गर्दै गएको छ। र यो रणनीति जति माथिल्लो कक्षामा गयो त्यति जटिल बन्दै जान्छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले आफ्नो नीति दस्तावेजमा सन् २०१६ मा नै “यदि तिमी बुझ्दैनौ भने कसरी सिक्न सक्छौ?” भनेर प्रश्न गरेको थियो। हो पक्कै नबुझेपछि सिकाइ हुँदैन। यदि भैहाल्यो भने पनि त्यो फगत दिमागमा मात्र जान्छ र मान्छे यन्त्र जस्तै बन्छ। बुझ्ने भाषा भएर पनि हुँदैन, आफ्नो भाषा नै चाहिन्छ।

दक्षिण अफ्रिकी प्रसिद्ध सुधारक नेल्सन मण्डेला भन्छन्, “यदि तपाईंले कुनै मानिससँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने, त्यो उसको दिमागमा जान्छ। यदि तपाईंले उसको भाषामा कुरा गर्नुभयो भने, त्यो उसको हृदयमा जान्छ।” अझ हाम्रो समस्या त बुझ्ने भाषा भन्दा पनि बुझ्दै नबुझ्ने भाषाको प्रयोग हो। एउटा भाषिक समुदायबाट बल्ल स्कूल टेकेको विद्यार्थीले स्कूलमा अर्कै भाषा सुन्दा र त्यसैमा जबर्जस्त पढ्दा सिकाइमा कसरी रस होला। सिकाइ कसरी दिलसम्म पुग्ला र मान्छे दिलदार बन्ला ?

नेपालको विद्यालय शिक्षामा अंग्रेजी माध्यम भाषाको बढ्दो प्रयोग बाध्यता र रोग दुवै हो। विश्वव्यापीकरणको वर्तमान युगमा अंग्रेजी भाषाको पकड नहुँदा विश्वनागरिक बन्नबाट वञ्चित हुनुपर्ने र भाषिक कारणले सिर्जित धेरै बेफाइदा र अन्याय भोग्नुपर्ने स्थिति छ। यसले गर्दा विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीले सचेत रूपमा नै अंग्रेजी माध्यमको अवलम्बन गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ।

अर्कोतर्फ विद्यार्थीमा अंग्रेजी भाषाको विकास गर्ने सरल उपायको रूपमा अंग्रेजी माध्यमको शिक्षणलाई लिइएको छ। हाम्रो परिवेशमा यो एउटा रोगी मानसिकता भन्दा केही पनि होइन। विद्यालय शिक्षण भनेको भाषिक शिक्षण मात्र होइन विषय शिक्षण पनि हो। त्यसैले अंग्रेजी राम्रोसँग पढाउने हो। त्यसमा दक्ष बनाउँदै लैजाने हो। नियमित कक्षाभारले नपुगे अतिरिक्त पढाउने हो। तर अन्य विषय शिक्षण र सम्पूर्ण अन्तरक्रियाहरू शिक्षक र विद्यार्थीको भाषामा गर्ने हो।

भाषासँगै पाठ्य सामग्रीको उत्पादन र प्रयोगमा पनि जबर्जस्त नवउदार चेतनाले काम गरेको छ। उमेर समूह अनुसारको क्षमताको वैज्ञानिक रूपमा यकिन गरी राष्ट्रिय हित र आवश्यकतालाई मध्यनजर गर्दै विज्ञ समूहद्वारा पाठ्यक्रम र पाठ्यसामग्री निर्माण गर्नुपर्ने हो। तर प्रत्येक दिन ज्ञानको विस्फोट हुने वर्तमान समयमा कोही विद्वानलाई लागेकै भरमा पाठ्यक्रम निर्माण भएका छन् र पाठ्यपुस्तक निर्माणमा बजारको पकड बढेको छ।

अप्ठ्यारो के भएको छ भन्ने जान्नको लागि विद्यालयको कक्षाकोठामा अबोध नानीबाबुहरूलाई लिएर पुस्तकको पाना पल्टाउँदै ज्ञान, सीप र अभिवृद्धि प्रवाह गर्न खोज्ने शिक्षिकालाई स्वतन्त्र वातावरणमा सोध्नुपर्ने हुन्छ। बेच्नु छ, बिकाउनु छ। कसले गर्ने त्यो सोध्ने काम ?

तेस्रो समस्या भनेको अपनत्वको हो। आफ्नो संविधानमा नै राज्यद्वारा प्रदान गरिने विद्यालय शिक्षा नि:शुल्क भनेर लेखिएको समाजवाद उन्मुख हाम्रो देशले शिक्षाको अपनत्व लिन सकेको छैन। शिक्षा राज्य नियन्त्रणभन्दा बाहिर छ। लामो प्रतीक्षापछि संसद्मा अवतरण गरेको शिक्षा विधेयक राज्य र स्वार्थ समूहको खिचातानीमा परेको छ। राज्यको शिक्षा कार्यान्वयनका संवाहक शिक्षकहरू असन्तुष्ट र आन्दोलनको शृंखलामा छन्।

एउटा यथार्थ के हो भने अपनत्व विनाको कुनै पनि कर्ममा पारिस्थितिक प्रणालीको विकास हुन सक्दैन। सँगसँगै मागेर वा खोसेर लिएको अधिकारले सम्मान दिंदैन। मानौं, शिक्षकहरूले अहिले उठाएका सम्पूर्ण माग हुबहु पूरा गर्ने हो भने पनि शिक्षाको पारिस्थितिक प्रणाली विकास नहुँदासम्म शिक्षाको पुनरुत्थान र शिक्षकको (आत्म) सम्मान हुँदैन।

तसर्थ शिक्षा, स्वास्थ्य जस्ता सेवाका क्षेत्रमा विना कुनै शर्त राज्य एक कदम अगाडि भएर दिने हो। शिक्षक, डाक्टरले आन्दोलन मार्फत सम्झौता गरेर लिने होइन। त्यसो हुनु भनेको राज्य, शिक्षक र शिक्षाका सम्पूर्ण सरोकारवालाको लागि दीर्घकालीन रूपमा दु:खद् कुरा हो।

चौथो समस्या भनेको राज्यको हस्तक्षेप र पहलकदमीको अभावको हो। दशकौंदेखि नेपालको शिक्षा कामचलाउ प्रवृत्तिले चलेको छ। हुनुपर्ने हस्तक्षेप र लिनैपर्ने सामान्य पहलकदमीको पनि अभाव छ। अर्जेसीको अनुभूति नै गरिंदैन।

विद्यालयहरू आधारभूत र माध्यमिक गरी दुई तहका छन् तर शिक्षकहरू अहिले पनि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक गरी तीन तहमा नियुक्त गरिन्छ। हुँदै नभएको तहको शिक्षक नियुक्त गरेर कहाँ लगेर राख्ने हो?

सरोकारवालाहरूलाई जिम्मेवार बनाउन राज्यको भिजन र पहलकदमी चाहिन्छ। सुधारको लागि जनता पर्खिन तयार हुन्छन्। सुधारको लागि निरंकुशता पनि स्वीकार्य हुन्छ। तर जनताले अस्तव्यस्ततामा एउटा युग नै बिताउन सक्दैनन्।

यो सब दलदलको बावजुद केही पढ्ने र पढाउनेहरू बाँचेका छन्। पारिस्थितिक प्रणाली निर्माण गर्न नसके पनि प्रणाली धानेका छन्। तर सधैं यसरी चल्दैन। अब अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने? हो, अब गर्नुपर्ने कार्य यही शैक्षिक पारिस्थितिक प्रणालीको विकास हो।

यस प्रणालीको सबै तहमा सबै सरोकारवालाहरूले जिम्मेवारपूर्वक काम गरौं। घरकी बुढी हजुरआमाले चाडबाडमा दिने आशिष्‌देखि देशको प्रधानमन्त्रीले गर्ने सार्वजनिक सम्बोधनसम्मले शिक्षाको पारिस्थितिक प्रणाली निर्माणमा ठूलो सहयोग गर्दछन्।

शैक्षिक पारिस्थितिक प्रणाली भनेको केवल शिक्षाको योजना मात्र होइन, यो त घर, समाज र राष्ट्र निर्माण गर्दै पृथ्वीलाई सहअस्तित्वमा आधारित साझा र सुरक्षित घरको रूपमा भावी सन्ततिलाई हस्तान्तरण गर्ने महान् प्रण हो। र गजबको कुरा शैक्षिक पारिस्थितिक प्रणाली निर्माणको अभियानको लागि कुनै पनि निकायलाई थप र उल्लेखनीय आर्थिक व्ययभार पर्दैन।

(अंग्रेजी भाषाका प्राध्यापक सापकोटा शैक्षिक अनुसन्धान र चिन्तनमा सक्रिय छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?