+
+
Shares
एससीओ बैठकमा सी को सम्बोधन :

हामी प्रभुत्व र शक्ति राजनीतिको विरोधमा उभिइरहनुपर्छ

हामीले प्रभुत्व र शक्ति राजनीतिको विरोधमा स्पष्टरुपमा उभिन जारी राख्नुपर्छ । यथार्थपरक बहुपक्षीयतावादको अभ्यास गर्नुपर्छ, र एक बहुध्रुवीय विश्वलाई बढावा दिन र अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी प्रजातान्त्रिक बन्न एउटा खम्बाको रूपमा उभिनुपर्छ ।

सी चिनफिङ, चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रपति
२०८२ भदौ १६ गते २२:१७

विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित गर्छ ।

८० वर्षअघि, पहिलो र दोस्रो विश्वयुद्धको भयावह अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले गहिरो पाठ सिक्यो र संयुक्त राष्ट्रसंघको स्थापना गरी विश्व शासनका लागि नयाँ अध्याय लेख्यो ।

८० वर्षपछि पनि शान्ति, विकास, सहकार्य र आपसी लाभका ऐतिहासिक प्रवृत्तिहरू यथावत् छन् , तर शीत युद्धकालीन मानसिकता, वर्चस्ववाद र संरक्षणवादले अझै विश्वलाई सताइरहेको छ । नयाँ खतरा र चुनौतीहरू बढिरहेका छन् । विश्व फेरि एक अस्थिर र रूपान्तरणको चरणमा प्रवेश गरेको छ । वैश्विक शासन आज एक नयाँ मोडमा आइपुगेको छ ।

इतिहासले भन्छ- कठिन समयमा हामीले शान्तिपूर्ण सहअस्तित्वप्रति आफ्नो प्रारम्भिक प्रतिबद्धता कायम गर्नुपर्छ, आपसी लाभको आत्मविश्वास बलियो बनाउनुपर्छ, इतिहासको प्रवाहसँगै अघि बढ्नुपर्छ र युगसँग कदम मिलाएर प्रगतिशील बन्नुपर्छ ।

यो घडीमा म वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटीभ–जीजीआई) को प्रस्ताव गर्न चाहन्छु । मानव जातिको साझा भविष्यका लागि न्यायपूर्ण र समान वैश्विक शासन प्रणाली निर्माण गर्न सबै देशसँग सहकार्य गर्न म आतुर छु ।

पहिलो, हामीले सार्वभौम समानताको सिद्धान्तमा दृढ रहनुपर्छ । देश ठूलो होस् वा सानो, शक्तिशाली होस् वा कमजोर, धनी होस् वा गरिब— सबैलाई विश्व शासनमा समान भागीदार, निर्णयकर्ता र लाभग्राहीका रूपमा मान्यता दिनुपर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी लोकतान्त्रिक अभ्यास गर्नुपर्छ र विकासोन्मुख मुलुकहरूको प्रतिनिधित्व र आवाज बढाउनुपर्छ ।

दोस्रो, हामीले अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालन गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय सम्बन्धका सर्वमान्य सिद्धान्त तथा मान्यताहरू सम्पूर्णरूपमा र निष्पक्ष रूपमा लागू हुनुपर्छ । कुनै पनि देशको ‘घरेलु नियम वा प्रावधान नियम’ अरूमा लाद्न पाइँदैन वा थोपर्न हुँदैन, यसमा दुईथरी मापदण्ड हुनु हुँदैन ।

तेस्रो, हामीले बहुपक्षीयतालाई दृढ रूपमा अंगिकार गर्नुपर्छ । व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभको दृष्टिकोणलाई कायम गर्दै एकपक्षीय प्रवृत्तिको विरोध गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिका र अधिकारलाई दृढतापूर्वक जोगाउनुपर्छ ।

चौँथो, हामीले मानव–केन्द्रित दृष्टिकोणकै पैरवी गर्नुपर्छ वा भनौं प्राथमिकता दिनुपर्छ । वैश्विक शासन प्रणालीमा सुधार गरी सबै देशका जनताको पहुँच, सहभागीता कायम गरी लाभग्राही बनाइनुपर्छ । यसले मानव जातिका साझा चुनौतीहरू समाधान गर्न, उत्तर र दक्षिण धुव्रीय खाडल घटाउन र सबै देशको साझा हित सुरक्षित गर्न मद्दत पुर्‍याउँछ ।

पाँचौँ, हामीले व्यावहारिक कदम चाल्नुपर्छ । योजनाबद्ध र समन्वयकारी सम्बन्ध राखेर स्रोतहरू परिचालन गर्नुपर्छ र ठोस परिणाम हासिल गर्नुपर्छ । शासन प्रणाली ढिलो नहोस् वा विखण्डित नहोस् भनी व्यावहारिक सहकार्य बढाउनुपर्छ ।

000

स्थापनाकालमै शांघाई सहयोग संगठन (एससीओ) को घोषणापत्र र चार्टरले लोकतान्त्रिक, न्यायपूर्ण र समान अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक व्यवस्थाको पक्षमा उभिनुपर्ने कुरा स्पष्ट गरेको छ ।

२४ वर्षयता एससीओले आपसी विश्वास, आपसी लाभ, समानता, परामर्श, सभ्यताको विविधताको सम्मान र साझा विकासलाई समेट्ने शांघाई भावनालाई दृढतापूर्वक पछ्याउँदै आएको छ ।

हामीले क्षेत्रीय मामिलामा सँगै छलफल गरेका छौँ, संयन्त्र निर्माण गरेका छौँ, र सहकार्यका फाइदा बाँडेका छौ । एससीओले वैश्विक शासन प्रणालीमा सुधार ल्याउने गरी धेरै अवधारणा प्रस्तुत गरेको छ र तिनलाई व्यवहारमा उतारेको छ ।

विश्वमा भइरहेको तीव्र रूपान्तरणका बीच एससीओले जीजीआई कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्छ । विश्व शान्ति र स्थिरता जोगाउन योगदान दिनुपर्छ ।

साझा सुरक्षाको दृष्टिकोणका साथ एसीओ सदस्य राष्ट्रहरूले दीर्घकालीन असल–छिमेकी, मित्रता र सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका छन्, प्रभावकारी सुरक्षा सहयोग सञ्चालन गरेका छन्, र क्षेत्रमा समग्र स्थिरता कायम गरेका छन् ।

हामीले गैर–गठबन्धन, गैर–टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने सिद्धान्तहरूलाई निरन्तरता दिनुपर्छ ।

हामीले विभिन्न खतरा र चुनौतीहरूको सामना गर्न हाम्रा प्रयासहरूमा एकता कायम गर्नुपर्छ, भर्खरै स्थापित एसीओ सुरक्षा चुनौती र खतराहरू विरुद्धको विश्वव्यापी केन्द्र र एससीओ लागू औषध विरोधी केन्द्रलाई पूर्ण रूपमा प्रयोगमा ल्याउनुपर्छ, र क्षेत्रमा साझा सुरक्षाको समुदाय निर्माण गर्नुपर्छ । विश्व अस्थिर बनिरहेका बेला हामीले स्थिरता कायम गर्ने शक्ति बनिरहनुपर्छ ।

हामीले विश्वभरमै खुलारूपमा सहयोग गर्न सक्ने जिम्मेवारी लिन अगाडि सर्नुपर्छ ।

एससीओ सदस्य राष्ट्रहरूसँग प्रशस्त ऊर्जा स्रोतहरू, ठूला बजारहरू र बलियो आन्तरिक शक्तिहरू छन्, र हामीले विश्वकै आर्थिक वृद्धिमा ठूलो योगदान गरिरहेका छौं ।

हामीले पर्खालहरू भत्काउन जारी राख्नुपर्छ, खडा गर्नु हुँदैन; हामीले एकताको प्रयास गर्नुपर्छ, टुटफुट होइन । हामीले उच्च–गुणस्तरको ‘बेल्ट एन्ड रोड’ सहयोगलाई अगाडि बढाउनुपर्छ, विश्वव्यापी रूपमा लाभदायक र समावेशी आर्थिक विश्वव्यापीकरणका लागि जोड दिनुपर्छ ।

चीनले आफ्नो विशाल बजारभित्र अवसरहरू एससीओ परिवारमा सहजरुपमा साझा गर्नेछ र एससीओ परिवारभित्र आर्थिक तथा व्यापारिक सहयोगको उच्च–गुणस्तर विकासका लागि कार्ययोजनालाई निरन्तरता दिनेछ ।

चीन–एससीओ सहयोगका लागि तीनवटा प्रमुख प्लेटफर्महरू स्थापना गरिनेछ । ऊर्जा, हरित उद्योग, डिजिटल अर्थव्यवस्था, वैज्ञानिक तथा प्राविधिक नवप्रर्वतन, उच्च शिक्षा, र व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि तीनवटा प्रमुख सहयोग केन्द्रहरू स्थापना गर्नेछ ।

हामी मिलेर एससीओमा आवद्ध राष्ट्रहरूभित्र आगामी पाँच वर्षमा सौर्य ऊर्जा र वायु ऊर्जाको स्थापित क्षमता प्रत्येक १० मिलियन किलोवाटले बढाउन काम गर्नेछौँ ।

हामी सबै पक्षहरूसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुप्रयोग सहयोग केन्द्र निर्माण गर्न र एआई मा भएको प्रगतिको लाभ साझा गर्न तयार छौँ ।

हामी सबै पक्षहरूलाई बेइदोउ स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गर्न स्वागत गर्दछौँ । साथै क्षमता भएका देशहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्र (स्पेस स्टेसन) को परियोजनामा ​​भाग लिन समेत आमन्त्रित गर्दछौँ ।

हामीले मानवताको साझा मूल्यमान्यताको पक्षमा एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ । एससीओ सदस्य राष्ट्रहरूबीच सांस्कृतिक आदानप्रदानमा विशेष महत्वका कुराहरू छन्, मान्छेहरूबीचको अन्तरक्रिया निरन्तर र बलियो छ, र विभिन्न सभ्यताहरूले आफ्ना महिमा दर्शाउँछन् ।

हामीले सभ्यताहरूको आदानप्रदानसँगै आपसी शिक्षालाई निरन्तरता दिनुपर्छ । सँगै इतिहास, संस्कृति, सामाजिक प्रणाली, विकासको चरणमा फरक भएका देशहरूबीच शान्ति, मित्रता र सद्भावको उज्ज्वल भविष्यको अध्यायहरू लेख्नुपर्छ ।

चीनले एससीओ राजनीतिक दल फोरम, एससीओ हरित र दिगो विकास फोरम, र परम्परागत चिकित्सामा आधारित एससीओ फोरम आयोजना गरी तिनको सफलता सुनिश्चित गर्नेछ ।

चीनले आगामी पाँच वर्षमा एससीओ सदस्य देशका ५ सय जन्मजात मुटु रोगका बिरामीहरूको उपचार गर्नेछ, ५ हजार  मोतियाबिन्दुको शल्यक्रिया गर्नेछ, र १० हजार क्यान्सरका बिरामीको जाँच गर्नेछ ।

हामीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षाका लागि लड्नुपर्छ । न्याय र निष्पक्षताका सिद्धान्तहरूको पालना गर्दै एससीओ सदस्य राष्ट्रहरू अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा रचनात्मक रूपमा सरिक भएका छन् ।

ग्लोबल साउथको साझा हितलाई कायम राखेका छन् । हामीले प्रभुत्व र शक्ति राजनीतिको विरोधमा स्पष्टरुपमा उभिन जारी राख्नुपर्छ । यथार्थपरक बहुपक्षीयतावादको अभ्यास गर्नुपर्छ, र एक बहुध्रुवीय विश्वलाई बढावा दिन र अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी प्रजातान्त्रिक बन्न एउटा खम्बाको रूपमा उभिनुपर्छ ।

चीनले संयुक्त राष्ट्र संघ, आसियान, युरेसियन आर्थिक संघ, र एसियामा अन्तरक्रिया र विश्वास निर्माण उपायहरू सम्बन्धी सम्मेलन जस्ता अन्य बहुपक्षीय संस्थाहरूसँग एससीओको सहयोग विस्तार गर्न समर्थन गर्दछ । ताकि संयुक्त रूपमा अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक व्यवस्थालाई कायम राख्न र विश्वव्यापी तथा क्षेत्रीय शासनमा सुधार गर्न सकियोस् ।

०००

एक प्राचीन चिनियाँ दार्शनिकले सिद्धान्तहरूको महत्वबारे भनेका थिए– ‘महान सिद्धान्तलाई कायम राख्नुहोस्, संसारले त्यसलाई पछ्याउनेछ ।’

चीनले अबको दुई दिनपछि जापानी आक्रमणको प्रतिरोधमा चिनियाँ जनताले छेडेको युद्ध र दोस्रो विश्व युद्धको विजयको ८०औँ वर्षगाँठलाई भव्य रूपमा मनाउँदैछ ।

सम्मेलनमा सहभागी धेरै साथीहरू बेइजिङ हुने विजय परेडमा  हामीसँगै सहभागी हुनुहुनेछ ।

हामी सबै पक्षहरूसँग मिलेर साहसपूर्वक महान सिद्धान्त र विश्वको साझा हितलाई कायम राख्न, दोस्रो विश्व युद्धको सही ऐतिहासिक दृष्टिकोणलाई बढावा दिन, युद्धमा प्राप्त विजयलाई दृढतापूर्वक सुरक्षित राख्न प्रतिबद्ध छौं ।

 साथै विश्वव्यापी शासन प्रणालीको सुधार र मानव जातिको साझा भविष्यको समुदायको निर्माणमार्फत सम्पूर्ण मानवतालाई थप लाभ प्रदान गर्न तयार छौँ ।

धन्यवाद ।

(शांघाई सहयोग संगठन (एससीओ) को बैठकलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको सम्बोधनको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?