
१६ भदौ, काठमाडौं । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ को अवसरमा लुम्बिनी प्रदेशको बुटवल र कोशी प्रदेशको विराटनगरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रम आयोजना गरेको छ ।
सोमबार आयोजित दुवै कार्यक्रममा कक्षा १२ वा सोभन्दा माथि अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सार्वजनिक सेवाप्रति युवा विद्यार्थीमा आकर्षण बढाउन एवं आयोगको निष्पक्ष कार्यप्रणालीका बारेमा सचेतना जगाउन सातै प्रदेशमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
बुटवलको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले आयोगको निष्पक्षता तथा स्वच्छताकै कारण आयोगप्रति युवा पुस्तामा आकर्षण र विश्वास बढ्दै गएको दाबी गरे । अध्यक्ष रेग्मीले विदेश जाने कुरालाई प्राथमिकतामा नराखी स्वदेशमै बसेर सार्वजनिक सेवामा प्रवेश गरी देशको सेवामा लाग्न आह्वान गरे ।
आयोगका सदस्य वीर बहादुर राईले आजका विद्यार्थीहरू भविष्यमा देशका कर्णाधार भएको हुँदा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम शुरुवात गरिएको जानकारी दिए ।
आयोगका सहसचिव पुरुषोत्तम शर्माले लोक सेवा आयोगको ऐतिहासिक विकासक्रम, संवैधानिक एवं कानूनी व्यवस्था र आयोगको कार्यप्रक्रियाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा आयोगका सदस्य दिनेश सिलवाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे लगायतले लोकसेवा आयोग जस्तै अन्य संवैधानिक निकायहरुको पनि निष्पक्षता र स्वच्छता कायम गराउनु पर्ने सरकारलाई सुझाव दिए ।
कार्यक्रममा स्थानीय तहका पदाधिकारी र कर्मचारी तथा कक्षा ११ र १२ वा सोभन्दा माथि अध्ययनरत करिब एक सय जना युवा विद्यार्थीहरूको सहभागिता रहेको आयोगका सहसचिव सफल पोर्तेलले बताए ।

यसैगरी सोमबार नै विराटनगरमा आयोजित कार्यक्रममा लोक सेवा आयोगका सदस्य माधव बेल्वासेले लोक सेवा आयोगले योग्यता, निस्पक्षता र स्वच्छतालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको बताए । उनले परीक्षालाई कठिन नमान्न आग्रह गर्दै निरन्तर मिहिनेतले सफलता हासिल गर्न सकिने बताए ।
सोही कार्यक्रममा आयोगको विकास र आयोगबाट सञ्चालन हुने गतिविधि तथा परीक्षा प्रक्रियासम्बन्धी विषयमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेल, प्रमुख जिल्ला अधिकारी इन्द्रव यादव, पूर्वाञ्चल विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, लोकसेवा आयोगका सहसचिव यज्ञप्रसाद ढुंगेल, विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलाललगायत सहभागी थिए ।
प्रतिक्रिया 4