+
+
Shares
समाचार विश्लेषण :

विश्व मञ्चमा पुटिनको बढ्दो स्वीकार्यता

सम्मेलनको एउटा महत्त्वपूर्ण विषय राष्ट्रपति ट्रम्प थिए, जसले पुटिनको एक्लोपनलाई समाप्त गर्न मद्दत गरेका छन्। उनले एक दशकमा पहिलो पटक पुटिनलाई अमेरिकी भूमिमा स्वागत गरे र ब्राजिल, भारत र दक्षिण अफ्रिकाका नेताहरूसँग विवाद गरेर उनीहरूलाई पुटिनसँग नजिक पुर्‍याए।

पल सोन्ने, न्यूयोर्क टाइम्स पल सोन्ने, न्यूयोर्क टाइम्स
२०८२ भदौ १७ गते ९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुटिनले तियानजिनमा भएको एससीओ शिखर सम्मेलनमा युक्रेन युद्धका लागि पश्चिमालाई दोष लगाएका छन्।
  • ट्रम्पले पुटिनलाई अमेरिकी भूमिमा स्वागत गरी रूससँग अन्य राष्ट्रहरूको सम्बन्ध सुदृढ बनाएका छन्।
  • रूसले चीन, भारत र टर्कीसँग कूटनीतिक सम्बन्ध कायम राख्दै युद्धकालीन अर्थतन्त्रलाई जीवनरेखा दिएको छ।

काठमाडौं । तीन वर्षअघि भ्लादिमिर पुटिन युरेसियाको मुख्य राजनीतिक तथा सुरक्षा संगठनको वार्षिक शिखर सम्मेलनमा सहभागी हुँदा उनी एक्लो र कमजोर देखिन्थे।

चिनियाँ नेताले पुटिनको युक्रेनमाथिको आक्रमणबारे चिन्ता व्यक्त गरे। भारतका प्रधानमन्त्रीले स्पष्ट रूपमा भने, ‘आजको युग युद्धको युग होइन।’

अन्य राष्ट्रप्रमुखहरूले बैठकअघि रूसी समकक्षीलाई एक्लै छोडिदिएका थिए। र, युक्रेनको युद्धभूमिमा मस्कोका सैनिकहरू पछाडि हट्दै थिए।

अहिले, विश्व बदलिएको छ र पुटिनको भाग्य पनि।

यो परिवर्तन हालैका दिनहरूमा चीनको तियानजिनमा सबैभन्दा स्पष्ट रूपमा देखियो, जहाँ युरेसियाली सुरक्षा समूह, साङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रका नेताहरू सोमबार अन्य देशका राष्ट्रप्रमुखहरूसँगै भेला भए।

पुटिनले आफ्नो मञ्चलाई युक्रेन युद्धका लागि सार्वजनिक रूपमा पश्चिमाहरूलाई दोष लगाउन प्रयोग गरे। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुसी हुँदै हात मिलाए र दुवै जना चिनियाँ नेता सी जिनपिङसँग जोडिएर हाँसेको दृश्य देखियो। इरान, नेपाल, ताजकिस्तान, टर्की र भियतनामका नेताहरूले पुटिनसँग मध्यरातसम्म चलेका गोप्य बैठकहरूमा हात मिलाए।

‘यस्तो लाग्यो कि युद्धलाई कुनै न कुनै तरिकाले स्वीकार गरिसकिएको थियो’ रूस र चीनको अध्ययन गर्ने जर्जिया स्टेट युनिभर्सिटीकी विश्व सञ्चार प्राध्यापक मारिया रेप्निकोभाले भनिन्, ‘मानौँ युद्ध कहिल्यै भएको थिएन र सबैकुरा पुरानै ढर्रामा फर्किएको छ।’

युक्रेनको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमा शिखर सम्मेलनको अन्तिम घोषणापत्रमा ‘दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो आक्रामक युद्ध’ को उल्लेख नगरी ‘विश्वका अन्य धेरै युद्ध, आतंकवादी आक्रमण र घटनाहरू’ को उल्लेख गरेकोमा ‘आश्चर्यजनक’ भनेको छ।

 

सम्मेलनको एउटा महत्त्वपूर्ण विषय राष्ट्रपति ट्रम्प थिए, जसले पुटिनको एक्लोपनलाई समाप्त गर्न मद्दत गरेका छन्। उनले एक दशकमा पहिलो पटक पुटिनलाई अमेरिकी भूमिमा स्वागत गरे र ब्राजिल, भारत र दक्षिण अफ्रिकाका नेताहरूसँग विवाद गरेर उनीहरूलाई पुटिनसँग नजिक पुर्‍याए।

भारत-पाकिस्तानबीचको सैन्य द्वन्द्व समाप्त गरेको श्रेय अमेरिकी नेतालाई दिन वासिङ्टनको दबाबको प्रतिरोध गरेपछि ट्रम्पको मोदीसँगको सम्बन्ध बिग्रिएको छ। खासगरी रूसी तेल खरिद गरेकोमा दिल्लीलाई लक्षित गर्दै ट्रम्पले जवाफमा भारतमाथि शुल्क लगाएका छन्।

पुटिनको निजी लिमोजिन (विलासी कार) मा ५० मिनेट कुराकानी गरेपछि र सार्वजनिक रूपमा रूसी नेतालाई न्यानो अँगालो हालेपछि मोदीले भारतसँग अन्य विकल्पहरू रहेको सन्देश दिइरहेको जस्तो देखियो।

युक्रेनमा युद्ध सुरु भएदेखि नै रूसले पश्चिमाबाहेकका राष्ट्रहरू, खासगरी चीन, भारत र टर्कीसँग आफ्नो कूटनीतिक सम्बन्धलाई कायम राखेको छ, जुन मस्कोको युद्धकालीन अर्थतन्त्रका लागि जीवनरेखा बनेका छन्।

‘यति मात्र होइन कि रूसले साढे तीन वर्षको कठिन युद्ध सहेको छ र अझै पनि आफ्नो खुट्टामा उभिएको छ र अगाडि बढिरहेको छ, सँगै रूसको कूटनीति पनि धेरै कुशल भएको छ,’ वासिङ्टनबाट युरेसिया केन्द्रित अध्ययनरत केन्नन इन्स्टिच्युटका निर्देशक माइकल किमेजले भने ।

उनले थपे, ‘रूसले त्यस्तो सम्बन्धहरूको सञ्जाल बनाएको छ जुन रूसी अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ, जसले पुटिन प्रणालीलाई वैधानिकता दिन्छ र युद्धको प्रभावलाई रूसमाथि कम बनाउँछ ।’

यद्यपि, पुटिनको न्यानो स्वागतको पनि सीमा छ। धेरै युरोपेली देशहरू र मस्कोबीचको सम्बन्ध अझै पनि निकै चिसिएको छ, जसले गर्दा युरोपसँगको व्यापारमा निर्भर रूसका साझेदारहरूलाई सन्तुलन मिलाउनुपर्ने अवस्था छ। अधिकांशले रूसको क्षेत्रीय दाबीलाई मान्यता दिन वा यसको युद्धलाई खुलेर समर्थन गर्नबाट आफूलाई जोगाएका छन्।

तर, ट्रम्पको अवरोधपूर्ण व्यापार युद्ध र अस्थिर परराष्ट्र नीतिले एउटा अवसर सिर्जना गरेको छ, किनकि पुटिन र सीले आफूलाई थप स्थिर सम्भावित साझेदारको रूपमा प्रस्तुत गरिरहेका छन्। विशेषगरी पुटिनले वर्षौंदेखि अमेरिकाले उक्साएको अराजकताको बारेमा चेतावनी दिँदै आएका छन्।

‘रूसीहरूले पनि खुसीका साथ स्वीकार्ने चिनियाँहरूको तर्क यो हो कि अमेरिका अव्यवस्थाको स्रोत हो’ किमेजले भने, ‘यो अब एउटा भनाइ मात्र होइन। यो सत्य बनेको छ।’

तियानजिनमा भएको बैठकपछि जापानको आत्मसमर्पणको ८० औं वार्षिकोत्सव चीनले मनाउँदैछ। पुटिन ती कार्यक्रमहरूका लागि त्यहीँ बस्नेछन्, जसमा मे महिनामा मस्कोले जर्मनीमाथि विजयको सम्झनामा आयोजना गरेको जस्तै सैन्य परेड पनि हुनेछ। सी मे महिनाको कार्यक्रममा सहभागी भएका थिए।

पुटिनको विदेशमा यस्ता प्रयासहरूको बावजुद, मस्कोले लामो समयदेखि आफ्नो ‘प्रभाव क्षेत्र’ को भाग मानेका केही देशहरूमा रूसी प्रभाव घट्दै गएको देखिएको छ।

सोमबार क्रेमलिनले तियानजिनमा उपस्थित अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँग पुटिनले कहिले भेट्ने भन्ने प्रश्नहरूको सामना गर्‍यो, किनकि मस्को र बाकुबीचको सम्बन्धमा तनाव आएको छ।

गत महिना अलीयेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान ट्रम्पसँग वासिङ्टनमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न उपस्थित भएका थिए, जसले गर्दा दुई राष्ट्रहरूबीच परम्परागत मध्यस्थकर्ताको रूपमा क्रेमलिनको स्थान ह्वाइट हाउसले लिएको थियो। पुटिनले पाशिन्यानलाई आइतबार तियानजिनमा भेटेका थिए।

रूसी विदेशमन्त्री सर्गेई भी. लाभ्रोभले तियानजिन शिखर सम्मेलनलाई पश्चिमाहरूको प्रभुत्व कायम राख्ने प्रयासहरूको जवाफको रूपमा प्रस्तुत गरे। उनका अनुसार पश्चिमाहरूले शुल्क र अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्राथमिक भूमिकाको माध्यमबाट आफ्नो प्रभुत्व कायम राख्न खोजिरहेका छन्।

उनले रूसी सरकारी टेलिभिजनलाई भने, ‘अब यो स्पष्ट भएको छ कि यी प्रतिस्पर्धीहरू (रूस र चीन) बलियो मात्र भएका छैनन्, तर धेरै सन्दर्भमा ऐतिहासिक सामूहिक पश्चिमभन्दा अगाडि पनि छन्।’

(रूस र युक्रेनमाथि कलम चलाउने न्यूयोर्क टाइम्सका अन्तर्राष्ट्रिय संवाददाता पल सोन्नेको समाचार विश्लेषण, न्यूयोर्क टाइम्सबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?