
१७ भदाै, हुम्ला । उत्तरी नाम्खा गाउँपालिका-६ को तुम्लिङ्गमा नदीको बहाव बढेपछि लिमीका जनतालाई आउजाउमा समस्या भएको छ ।
नदीमा मोटेरेबल पक्की पुल नहुँदा यहाँका नागरिकहरुले वर्षेनी सास्ती भोग्दै आएका छन् ।
यहाँ नागरिकलाई मात्रै नभई नेपाली भूमि लिमी लाप्चादेखि चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई समेत समस्या हुने गरेको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
नदीमा मोटर गुडने पक्की पुल नहुँदा बोलेरो जिपलाई नदी तर्न समस्या हुने गरेको वडाध्यक्ष तामाङले अनलाइनखबरसँग बताए ।
‘साना बोलेरो जिप नदी बढेपछि आउजाउ बन्द हुन्छ हामी लिमेली जनताहरुले सदरमुकाम सिमकोट र हिल्सा नाकाबाट ल्याएका दैनिक उपभोग्य सामग्री समेत भारी बोकेर झोलुङ्गे पुलबाट ओसार्ने गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।
लिमेली जनताको दु:ख पीडा सरकारले अहिलेसम्म पनि सम्बोधन गर्न नसकेको उनले बताए ।
लिमेली जनतालाई राज्यले हेर्ने नजर नै फरक भएकोले वर्षेनी नदीबाटै जोखिम मोलेर बोलेरो जिप वारपार गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिका-६ का स्थानीय छिरिङ सुन्डुप तामाङले बताए ।
नदी बढेपछि दुई वटा बोलेरो जिप फेरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएको उनले बताए । ‘सामान पनि आधा घण्टा भारी बोकेर नदी वारपार गर्नुपर्छ,’ तामाङले भने, ‘लिमेली जनता गाडी गुड्न सक्ने पुल नहुँदा वर्षेनी सास्ती भोग्न बाध्य छन् ।’
प्रतिक्रिया 4