
२० भदौ, काठमाडौं । नेकपा एमालेले वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको निष्कर्ष निकालेको छ ।
गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन ल्याएको निष्कर्ष प्रस्तुत गरिएको हो ।
दस्तावेजमा वैदेशिक रोजगारीले ल्याएको सांस्कृतिक विचलनबारे विस्तृतमा व्याख्या भने गरिएको छैन ।
‘वैदेशिक रोजगारीले आर्थिक उत्थानसँगै सांस्कृतिक विचलन पनि ल्याएको छ’ दस्तावेजमा भनिएको छ, ‘आन्तरिक-बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशीलत बनाएको छ ।’
दस्तावेजमा अगाडि भनिएको छ, ‘यसले वर्गीय सम्बन्धमा नयाँ आयाम थपेको भए पनि उत्पादन, स्वामित्त्व र आय विवरणसम्बन्धी आधारभूत प्रश्नहरू अझै खुला छन् ।’
राजनीतिक प्रतिवेदनमा विप्रेषण र गरिबी बारे भनिएको छ:
– सन् २०२३ को सर्वेक्षण अनुसार ७६ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको (आन्तरिक या बाह्य) विप्रेषण आय गर्छन् ।
– औसत वार्षिक विप्रेषण आय रु. १ लाख ४५ हजार छ ।
– विप्रेषणले निरपेक्ष गरिबी (१९९६ को) ४२ प्रतिशत बाट २०२२ मा २०.३ प्रतिशत मा झार्न सघाएको छ ।
– विप्रेषण पनि गरिबको तुलनामा धनी परिवारले ३.३ गुणा बढी पाउने गरेको देखिन्छ, जसले वर्गीय भिन्नता कायम राख्छ ।
– निरपेक्ष गरिबीमा रहेका व्यक्तिहरू सूचनाको अभाव, खर्च व्यवस्थापनमा कठिनाइ र सिपका अभावमा बाह्य रोजगारीमा जान नसक्ने या गए पनि जोखिमपूर्ण काम गरन् बाध्य हुने अवस्था देखिएको छ ।
प्रतिक्रिया 4