
२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पौडेलले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए ।
उनले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको पनि बताए ।
‘मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ’ उनले भने, ‘सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ ।’
उनले थपे, ‘सरकारले गरेका राम्रा कामहरू देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’
मन्त्री पौडेलले मानिसहरूलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर गरे ।
प्रतिक्रिया 4