
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा सोमबार नयाँ बानेश्वर क्षेत्र रणभूमि बन्यो । अश्रु ग्यास मात्र होइन, निरन्तर गोलीको वर्षा भइरह्यो ।
स्थिति नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू लगायो । तर कर्फ्यूको परबाह नगरी जेनजीहरूले निरन्तर प्रदर्शन गरिरहे । त्यसपछि सडकमा सेना परिचालन भयो ।
तर, पनि जेनजीको प्रदर्शन रोकिएन । प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न निरन्तर अश्रु ग्यास, गोली प्रहार गरिरह्यो ।
प्रहरीको गोली प्रहारबाट घाइते प्रदर्शनकारीलाई उपचारका लागि लगिएको नयाँ बानेश्वरकै सिभिल अस्पताल सोमबार दिनभर बारुदको गन्ध र रगतको टाटाबाट अभ्यस्त रह्यो ।
रिपोर्टिङका लागि सोमबार दिउँसो सिभिल अस्पताल पुग्दा बिरामी ओसार्न दौडादौड थियो । प्रदर्शनकारीले आफैं बोकेर बिरामीलाई अस्पताल ल्याइरहेका थिए । कोही अस्पतालको ह्विल चियर सडकमै लगेर बिरामीलाई राखेर अस्पताल ल्याउँथे ।
यो क्रम करिब २ घण्टासम्म जारी रह्यो । प्रहरीले निरन्तर गोली चलाए पनि प्रदर्शनकारी भने लामो समयसम्म बानेश्वर क्षेत्रबाट बाहिर गएनन् । त्यसपछि प्रहरीले झनै व्यापक रूपमा दमन गर्यो ।
सिभिल अस्पतालको इमर्जेन्सी कक्ष भने प्रदर्शनका घाइतेले भरिभराउ थियो । अवस्था कस्तोसम्म भयो भने, बेड नभएका कारण गोली लागेर घाइते भएका बिरामीको उपचार भुईंमै गराउनुपर्ने स्थिति आयो ।
घाइते र एकजना कुरुवा बाहेक अन्य व्यक्तिलाई अस्पताल प्रशासनले भित्र छिर्न दिएको थिएन । बिरामी र प्रदर्शनकारीले अस्पताल खचाखच थियो ।
सिभिल अस्पतालबाट रेफर गरिएका बिरामीलाई एम्बुलेन्समा हालेर धमाधम अन्य लगियो । एकपछि अर्को जटिल घाइते थपिँदै जाँदा एम्बुलेन्समा चढाइसकेका बिरामीलाई समेत झारेर अर्को सख्त घाइतेलाई पठाउनुपर्ने अवस्था भयो ।
एउटा बिरामीलाई अर्को अस्पताल लैजानै लाग्दा अन्य झन् सिरियस बिरामी आएपछि एम्बेलेन्समा राखिएका बिरामी ओरालेर नयाँ बिरामीलाई लगिएको थियो ।
धेरै बिरामी अचेत अवस्थामा थिए । उनीहरूको उद्धार गर्दै अस्पताल पुर्याउने काम पनि प्रदर्शनकारीहरू आफैंले गरे । सिभिल अस्पताल वार जोनमा खटिएको मेडिकल टिम जस्तो बन्यो ।
अस्पतालका सुरक्षाकर्मीसमेत एउटा ह्विल चियर खाली हुने बित्तिकै दौडाएर अर्को बिरामी ओसार्न प्रदर्शनकारीलाई दिन्थे ।
प्रदर्शनस्थलबाट नजिक भएकै कारण आजको प्रदर्शका अधिकांश घाइते सुरुमा सिभिल अस्पताल पुर्याइएको थियो । त्यसपछि बल्ल पाटन, टिचिङ, ट्रमा पठाइएको थियो ।
सामान्य छर्रा लागेका, हात खुट्टातिर चोट लागेका बिरामीहरू भने कपडाले नै रगत रोकेर बस्नुपर्ने अवस्था आएको थियो । सामान्य बिरामी ब्यान्डेज बाँधेर चौरमै बसेका थिए ।
इमर्जेन्सीमै अश्रु ग्यास
प्रशासनले अस्पतालमा समेत अश्रु ग्यास प्रहार गर्न बाँकी राखेन । अस्पतालको गेट अगाडितर्फ पहिल्यैदेखि नै अश्रु ग्यास प्रहार भएको थियो । त्यसपछि केही प्रदर्शनकारी अस्पताल भित्रकै चौरमा बसेका थिए ।
पछि प्रहरीले अस्पतालको कम्पाउन्ड भित्रको चौरमा बसेकाहरूलाई समेत लक्षित गरेर अश्रु ग्यास प्रहार गर्यो । त्यसपछि अस्पताल प्रशासन समेत आक्रोशित बनेको थियो । इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बेला प्रवेशद्वार अगाडि नै अश्रु ग्यास प्रहार भएर भिड तितरबितर भयो ।
प्रहरीले सिभिल अस्पताल नजिकैको अग्लो भवनबाट अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले १०० मा फोन गर्दै भने- तँलाई कसले दियो आदेश ?
इमर्जेन्सी कक्ष अगाडि अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित हुँदै प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर गाली गर्न थाले । अस्पताल परिसरबाटै पालैपालो १०० मा फोन गर्दै उनीहरूले अपशब्द प्रयोग गर्दै प्रहरीलाई गाली गरेका थिए ।
‘केपी ओलीका झोले किन बन्छ प्रहरी, तलाईं कसले अस्तापलमा ग्यास हान्नु भन्यो ?,’ उनीहरूले प्रश्न गरेका थिए । एक जनाले मात्रै होइन, केहीबेर अन्य प्रदर्शनकारीले समेत पालैपालो फोन गर्दै प्रहरीलाई गाली गरे ।
अनि पुग्यो महानगरको टिम
यही बीचमा काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीको एक टोली सिभिल अस्पताल पुग्यो । उनीहरूले सुरुमै जानकारी गराए- हामी महानगरबाट घाइतेको खानाको व्यवस्थाका लागि आएको थियो ।
इमरजेन्सी कक्ष अगाडि नै अश्रु ग्यास खाएर रिसले चुर भएका प्रदर्शनकारीले भने, ‘पहिला सुन्नुस्, यहाँ अश्रु ग्यास हान्न पाउँछ ?’ तर महानगरको टिमले यसबारे आफूहरूलाई केही जानकारी नहुने र आफ्नो क्षेत्र नभएको भन्दै जवाफ दिए ।
त्यसपछि उनीहरू घाइतेको अवस्था बुझ्दै बिरामी र कुरुवाका लागि खानाको व्यवस्था मिलाउन अघि बढे ।
सोमबारको प्रदर्शनमा व्यापक दमन भयो । अहिलेसम्मको तथ्यांकअनुसार १५ जनाको मत्यु भएको छ । करिब डेढ सय जना घाइते भएको बताइएको छ । सो क्रममा चार जना पत्रकार पनि घाइते भएका छन् ।
प्रतिक्रिया 4