+
+
Shares

सुशासन माग्‍ने जेनजीलाई सरकारले गोली दाग्यो

लोकतान्त्रिक शासकले अपनाउनुपर्ने न्युनतम मूल्य मान्यता र मानव अधिकारका सबै सीमा नाघ्दै सरकारले हुर्किँदै गरेको नयाँ पुस्तामाथि सोमबार बर्बर दमन गरेको छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ भदौ २३ गते २३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार काठमाडौं र विभिन्न शहरमा जेनजी प्रदर्शनमा प्रहरीले संयम गुमाएर गोली प्रहार गर्दा १९ जना युवाको मृत्यु भएको छ।
  • सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो जसले जेनजी आन्दोलनलाई थप उग्र बनाएको थियो।
  • प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार शेरबहादुर देउवाको नेतृत्वमा सरकारले दमनको नीति अपनाएको आरोप लागेको छ।

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शन चर्किँदै जाँदा प्रहरीसँग संयम रहेर स्थिति नियन्त्रणमा लिने विभिन्न विकल्प थिए ।

उनीहरुले अश्रुग्यास हान्न सक्थे । पानीको फोहराले प्रदर्शनकारी तितरबितर पार्न सक्थे । अझ कहिलेकाहिँ त प्रदर्शन चर्किनु अगावै सडकमै बसेर संवाद गर्न सकिन्छ । मनोविज्ञानले भीड नियन्त्रणमा ठूलो अर्थ राख्छ ।

तर प्रहरीले यी मध्ये कुनै गरेन । एभरेस्ट होटल बानेश्वरनेर पानीका फोहरा हान्यो । त्यसलाई पन्छाउँदै युवा अघि बढेपछि एकछिन अलमलजस्तो भयो ।

त्यसपछि पनि प्रहरीले केही बेर रबर बुलेट हान्दै रह्यो । तर एकै छिनपछि युद्धमा प्रयोग गरिने गोलाबारी गर्न थाल्यो, आफ्नै निहत्था नागरिकविरुद्द ।

सुरक्षा प्रशासनले संयम गुमायो । १५ चैतको तीनकुने ताण्डवबाट प्रहरीले सिकेन, सिक्न चाहेको देखिएन ।

तर यो कुरा केवल प्रहरी प्रशासनको मनोविज्ञानमा सीमित छैन । यो नेपाल राज्यको नेतृत्व हाँकिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अनि सत्ता साझेदार शेरबहादुर देउवाको शासकीय अयोग्यतासँग जोडिन्छ ।

त्यही अयोग्यता छताछुल्ल हुँदा काठमाडौं र विभिन्न शहरमा आज सोमबार सरकारले विवेक गुमायो ।

लोकतान्त्रिक शासकले अपनाउनुपर्ने न्युनतम मूल्य मान्यता र मानव अधिकारका सबै सीमा नाघ्दै सरकारले हुर्किँदै गरेको नयाँ पुस्तामाथि सोमबार बर्बर दमन गरेको छ ।

जुन दमनमा पर्दा सामाजिक सञ्जाल बन्द गरेको आवेग सडकमा पोख्न उत्रिएका जेनजी पुस्ताका १९ जना युवाले मृत्युवरण गरिसकेका छन् ।

चार सय भन्दा बढी घाइतेहरु अस्पतालको शैयामा छन् । देशैभर आन्दोलनको आगो सल्किएको छ ।

नेपालको शान्तिपूर्ण राजनीतिक आन्दोलनका इतिहासहरुमा एकै दिन एउटै स्थानमा यति धेरै व्यक्ति राज्य दमनबाट मारिएको यो संभवत पहिलो घटना हो ।

जुन घटनापछि पनि नेपालका दुई ठूला राजनीतिक दल कांग्रेस र एमाले सम्मिलित सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पदमै आसिन छन् । दमनका लागि प्रहरी परिचालन गर्ने कांग्रेसका गृहमन्त्री रमेश लेखकले सर्वत्र दबाबपछि राजीनामा दिएका छन् ।

याद रहोस्, १९ दिने जनआन्दोलनमा करिब यति नै संख्याको मृत्यु हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गद्दी नै छोडेर हिँड्नु परेको थियो ।

यद्पी यो व्यवस्था पल्टाउन भएको आन्दोलन होइन । यहाँ युवाहरुले राजनीतिक व्यवस्था परिवर्तन होइन आफ्नो न्यूनतम नागरिक स्वतन्त्रताको प्रयोग गर्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

‘नेपालको राजनीतिक इतिहासमै एउटा भयानक घटना हो । नागरिकमाथि सरकारले सबै खालका संयम गुमाएको छ । सरकारमा कुनै चेतना नै देखिएन’ राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले अनलाइनखबरसँग भने ।

उनका अनुसार यस्तो अवस्थामा घटनाका मुख्य कारकहरुले जिम्मा लिनुपर्छ । ‘राजनीतिक दलहरुले गरेका कामहरुमाथि कुनै न कुनै रुपमा समाजमा ठूलो फ्रस्ट्रेसन बढ्दै थियो । तर यो स्थितिको कत्ति पनि सरकारले मुल्यांकन गरेको देखिएन’ प्राध्यापक खनालले भने ।

राजनीतिक दलहरुका गतिविधिमाथि आमरुपमा नागरिक वितृष्णा बढिरहेको थियो ।

जुन वितृष्णालाई सरकार र सरकार सञ्चालन गर्ने राजनीतिक दलहरुले व्यवस्थाविरोधीहरुका कुरा भन्दै पन्छाइरहे । शासकहरुमाथि प्रश्न गर्दा व्यवस्थाविरोधी हर्कत भन्दै नेताहरुले खिसिटयूरी गरिरहे ।

यही अवस्थामा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय बन्यो । जुन निर्णयले जेनजी विद्रोहको आकार लिएको छ । पहिलो दिनमै कलिला युवाहरु मारिएका छन् ।

‘परम्परागत पार्टीहरुप्रतिको विश्वास गुम्दै गएको थियो,युवाहरुमा फ्रस्टेसन बढिरहेको थियो,’ सोसल साइन्स बहा:का उपनिर्देशक एवं सामाजिक राजनीतिक अध्येता डा. जीवन बानियाँले भने,’समाजिक सञ्जाल बन्दले एउटा ठूलो समूदायलाई डिस्कनेक्ट गर्‍यो । जुन कुरा सडकमा पोखिँदा राज्यले त्यसलाई बुझ्न सकेन ।’

उनकाअनुसार जेनजीको आक्रोश कतिसम्म बढेको थियो भन्ने आंकलन गर्न राज्यका सबै निकाय असफल रहेको देखियो ।

यदी राज्यका निकायहरुले न्यूनतम सुरक्षा मापदण्डहरु र सावधानी अपनाएको भए यो तहको मानवीय क्षति हुने थिएन ।

निषेधित क्षेत्र संसद् भवन ताकेर हिँडेका युवाहरुलाई प्रहरीले पहिलो तहमै रोक्न सक्थ्यो । अश्रू ग्यास पानीको फोहोरा प्रयोग गरेर सुरूमै तितरबितर पार्न सक्थ्यो । तर सुरुमा प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्दा सुरक्षा सावधानी अपनाएन । जब आक्रोशित युवाहरुको समूह संसद् भवन वरपरि पुग्यो त्यसपछि प्रहरी दमनमा उत्रिएको दृश्यहरु देखिएका छन् ।

default

‘सुरक्षा संयन्त्र फेल भएको यो एउटा दृष्टान्त हो’ बानियाँ भन्छन्,’ यसमा जिम्मेवार भूमिकामा रहेकाहरुले जिम्मेवारी लिनै पर्छ ।’

प्रहरीले दमनमा उत्रेपछि न्यूनतम मान्यताहरुको पनि उल्लंघन गर्दै आन्दोलनकारीमाथि गोली प्रहार गर्‍यो । निजामती अस्पताल भित्रै प्रवेश गरेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

घाइतेहरु बोकेर अस्पताल गइरहेका आन्दोलनकारीमाथि प्रहरीले अस्पताल हाताभित्रै पुगेर लखेटेको छ । विरामीको सेवामा तल्लिन डाक्टरहरुले अस्पताल हाताभित्रै अश्रु ग्यास खानुपरेको छ ।

‘यो आन्दोलन आजको आजै भएको त हैन नि । अस्ति बन्द आह्वान गरेर आज यतिकै निस्किएको जस्तो मलाई लाग्दैन’ प्राध्यापक खनालले भने,’ जेनजी युवाहरु सोसल मिडियामा खेलिरहने सर्कल हो । उनीहरुको बीचमा तयारी गरे होलान् । यस्तो कुराको जानकारी त सरकारले राख्न सक्नु पर्ने थियो ।’

प्राध्यापक खनालका अनुसार यो सरकारको नालायकीपन हो । ‘सरकारको नालायकीपनको हद भयो । यति संवेदनशील विषयमा अब कुन नैतिक आधारमा सरकारमा बसिरहने ? प्राध्यापक खनालले भने ।

जेनजी युवाहरुले केही दिनदेखि सामाजिक सञ्जालहरुमा समूह बनाएर आन्दोलनको तयारी गरिरहेका थिए । यो बारेमा सञ्चार माध्यमहरुले पनि पर्याप्त सूचना सम्प्रेषण गरिरहेका थिए ।

तर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आइतबारै पनि हल्का टिप्पणी गर्दै कानुनको व्यवस्था सम्झाउँदै थिए । एमालेको विधान अधिवेशन समापनका क्रममा उनले सामाजिक सञ्जाल कम्पनीहरुले नेपालको कानुन नमानेको भन्दै राष्ट्रिय स्वाधीनताको कुरा गरिरहेका थिए । त्यही क्रममा उनले जेनजीलाई कानुन सम्झाइरहेका थिए । जसले युवाहरुमाथि झन् आक्रोश थपिरहेको थियो ।

सामाजिक सञ्जाल बन्द गर्ने काम एउटा निर्देशिकाका रमा गरिएको निर्णय थियो । त्यो निर्णय लिँदा सर्वोच्च अदालतले दिएको आदेशको भर पनि सरकारले लिएको थियो ।

तर संसद्बाट कानुन ल्याएर नियमन गर्न सकिने बाटो हुँदा हुँदै सरकारले निर्देशिकाको भर गर्‍यो । जुन अहिले आवश्यक नै नरहेको प्राध्यापक खनाल बताउँछन् ।

‘अर्को सर्वोच्च अदालतको आदेश देखाएर तत्काल निर्देशिकाको भरमा बन्द गर्नु कर्मचारीतन्त्रको पराकाष्टा हो । कानुन बनाउने संसद् हाई काढेर बसेको छ’ उनले भने,’ सर्वोच्च अदालतले कानुन बनाउन भनेको हो । आदेश जारी गरेर काम गर भनेको त होइन । कर्मचारीतन्त्र हावी हुँदाको परिणाम हो ।’

जेनजी आन्दोलनमा विशेष गरी दुइटा माग उठेका थिए । बन्द सामाजिक सञ्जाल खुला गर्नुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने । यी दुवै माग राख्दै सोमबार सडकमा विद्यालय र कलेजका विद्यार्थीहरु आइपुगेका थिए । उनीहरुले आफ्ना हजुरबा पुस्ताका नेताहरुसँगले आफ्नो कुरा नबुझेको भन्दै नाराबाजी गरिरहेका थिए । यिनै माग राख्दै उनीहरु संसद् भवन नजिक पुगेका थिए ।

सरकारमा संलग्न दलका राजनीतिक दलका नेतहरुले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनको बद्नामी गर्न पनि खोजिरहेका छन् ।

यो आन्दोलन कुनै संगठित राजनीतिक वा सामाजिक संगठनले आयोजना गरेको थिएन । यसमा कुनै नेतृत्व थिएन । त्यसैले कुनै न कुनै गलत मनसाय राखेकाहरुको घुसपैठ भएको हुन पनि सक्छ जसबारे आन्दोलनका अगुवाहरुले हामीसँग केही आशंका पनि राखेका छन् ।

तर राज्यले घुसपैठ भएको भन्ने नाममा नागरिकहरु माथि कठोर दमनको बाटो अपनाएको छ । घुसपैठ नै भएको भए पनि त्यहाँका कुनै नागरिकको जिउ ज्यानको सुरक्षा सरकारको जिम्मेवारी हुनुपर्ने हो ।

तर सरकार यो आधारभूत जिम्मेवारीबाट पनि चुकेको छ । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जेनजीका माग सम्बोधन गर्नु को सट्टा घुसपैठ भनेर यसलाई विषयान्तर गर्दिए ।

सरकारले पहिलो दिनमै जुन विवेक गुमाएको छ आगामी दिनमा यसको मूल्य थप चुकाउनुपर्ने हुन सक्छ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?