
२३ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) प्राध्यापक संघले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनप्रति घोर आपत्ति जनाएको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार र मानव अधिकारलाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूति दिएको उल्लेख गर्दै प्रदर्शनमा भएको दमनले भविष्यका कर्णधारको ज्यान लिएकोमा दुःख प्रकट गरेको छ।
‘सरकारबाट भएको कायर तथा बर्बर दमनले भविष्यका कर्णधारहरुको ज्यान लिएको र सयौं प्रदर्शनकारी घाइते भएको घटनाप्रति संघ घोर भर्त्सना गर्दछ,’ प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संघले यो घटना निरंकुश तन्त्रको झल्को दिने खालको भएको भन्दै नेपालकै लोकतान्त्रिक गणतन्त्रको इतिहासमा ‘कालो दिन’ का रूपमा लेखिने उल्लेख गरेको छ ।
घटनामा संलग्न सम्पूर्ण दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र घाइते प्रदर्शनकारीको निःशुल्क उपचारको व्यवस्था गर्न पनि संघले सरकारसँग माग गरेको छ।
संघले आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
प्रतिक्रिया 4