+
+
Shares

एमाले र कांग्रेसका युवाले दल परित्याग गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १३:४३

२४ भदौ, बुटवल । जेनजीको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी सरकारले दमन गरेको घटनापछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका युवा नेताहरुले धमाधम पार्टी पत्यिागको परित्यागको घोषणा गरेका छन् ।

रुपन्देहीमा  नेकपा एमाले निकट राष्ट्रिय  युवा संघ लुम्बिनी प्रदेशका निलम्बित अध्यक्ष सुरज खरेलले नेकपा एमालेको सदस्यता त्यागेको छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले एमालेसँग आफ्नो सम्पूर्ण नाता सम्बन्ध विच्छेद भएको जनाएका हुन् ।

खरेलले निर्दोष नागरिकको रगत बगाउने, जनताको पीडामाथि राजनीति गर्ने र आवाजलाई दमन गर्ने प्रवृत्तिका कारण एमालेमा बस्नु नैतिक र मानवीय दृष्टिले अस्वीकार्य भएको टिप्पणी गरेका छन् ।

‘अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन’ उनले भनेका छन्, ‘म सधैँ पीडितको पक्षमा, न्यायको पक्षमा र नयाँ पुस्ताको आवाजसँगै रहनेछु ।’

खरेल पछिल्लो समय  विद्या भण्डारीको नेतृत्वमा एमाले हुनु पर्छ भन्ने  बहस चलाउँदै युवा संघ भित्रको बेथिति बारेमा सार्वजनिक रूपमा बोल्दै आएका थिए ।

रूपन्देहीको देवदह नगरपालिकामा एमालेबाट निर्वाचित रहेका मेयर ध्रुव प्रसाद खरेलका छोरा समेत रहेका उनलाई हालै मात्र युवा संघले संगठन विरोधी कार्य गरेको आरोपमा निलम्बन गरेको थियो ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा बस्दै आएका नेकपा एमालेका नेता उपेन्द्र अधिकारीले पनि एमाले परित्यागको घोषणा गरेका छन् ।

रुपन्देही क्षेत्र नं ५ क्षेत्रीय कमिटी सदस्य एवं लुम्बिनी सांस्कृतिक नगर कमिटी पुर्व सचिव अधिकारीले हिजो युवा विद्यार्थीमाथि भएको सरकारी दमनबाट आजित भएर दल त्याग गरेको घोषणा गरेका हुन् ।

गत आम चुनावमा रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरेलाई जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी मोटिभेसनल वक्ता समेत हुन् । ‘आजका दिनबाट नेकपा एमालेको साधारण सदस्यबाट बाहिरिएको छु’–उनले भनेका छन् ।

लामो विरासत बोकेको दललाई भित्रैबाट सुधार्न सकिन्छ भन्ने आशा भएर मौन बसेपनि हिजोको घटनाले अति भयो भन्दै उनले अहिलेसम्म सरकारको गलत कामको बारेमा नबोलेकोमा आत्मग्लानी भएको उल्लेख गरे । ‘अहिलेसम्म केही नबोली सहेर बसेकामा विशेषगरी जेन जी पुस्ताका भाइबहिनीहरुसँग माफी माग्न चाहन्छु’–उनले भने ।

यस्तै एमाले निकट युवा संघ तिलोत्तमा–८ का अध्यक्ष एवं संघको साइबर सर्कल विभागका जिल्ला सदस्य कमल अर्यालले पनि नेकपा एमाले परित्यागको घोषणा गरेका छन् ।

सोमबार जेनजीको प्रदर्शनमा निर्दोष र निशष्त्र युवा विद्यार्थीलाई गोली हानेर हत्या गरेको घटनाले पार्टीप्रतिको आशा र विश्वास टुटेर पार्टी छाडेको अर्यालले बताए ।

यस्तै नेपाल विद्यार्थी संघ कपिलवस्तुका उपसभापति सञ्जय खनालले पनि पदबाट राजीनामा दिएका छन् ।

उनले एक सार्वजनिक वक्तव्य जारी गर्दै विद्यार्थीमाथि भएको निर्मम गोली प्रहारमा पनि मौन बस्ने संगठन र त्यसको नेतृत्वप्रति असन्तोष व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, विद्यार्थीमाथि निर्मम गोली प्रहार भई ज्यान जाँदा समेत मौन बस्ने विद्यार्थी संघ र त्यसको नेतृत्व अब अस्तित्वमा रहनुपर्ने कुनै औचित्य छैन । यस्तो संगठन विघटन हुनु नै उपयुक्त हुन्छ ।’

राजीनामासँगै उनले संघप्रति आफ्नो निराशा जाहेर गर्दै देश र जनताप्रतिको निष्ठा निरन्तर कायम रहने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?