+
+
Shares
रिपोर्ट :

ठूला उद्यमीका घर र व्यवसायमा छानीछानी आक्रमण

विनोद चौधरी, चन्द्र ढकालदेखि मीनबहादुर गुरुङसम्म निसानामा

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नेपालका एकमात्रै डलर अर्बपति चौधरीदेखि हिल्टन होटेल र एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीसम्ममा आगजनी र लुटपाट गरेका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८२ भदौ २५ गते २२:५०
आगजनीबाट क्षति पुगेका हिल्टन होटल, भाटभाटेनी र मारवाडी सदन सेवा ।

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीहरूले ठूला उद्यमी तथा बहुराष्ट्रिय कम्पनीका घर, कार्यालय र उद्योगमा छानीछानी आक्रमण गरेका छन् ।

उद्यमीहरूका सुपरमार्केट, उद्योग, होटेल, सञ्चारमाध्यम, वायुसेवा कम्पनीमात्र होइन, घर र निवासमा समेत आक्रमण हुँदा अर्बौंको क्षति पुगेको छ ।

आक्रमणको तारो बनेको भाटभटेनी सुपरमार्केटका कम्तीमा १४ वटा स्टोरहरूमा आक्रमण भएको छ । काठमाडौं उपत्यका अधिकांश स्टोरमा प्रदर्शनकारीले लुटपाट र आगजनी गरी पूर्ण रूपमा ध्वस्त बनाएका छन् । काठमाडौं उपत्यकास्थित भाटभेटनीको सबैभन्दा पुरानो नक्सालस्थित स्टोर, महाराजगञ्ज, बौद्ध–चुच्चेपाटी, कोटेश्वर, राधेराधे, कलंकीलगायत स्थानका स्टोरहरू प्रदर्शनकारीले ध्वस्त बनाइदिएका छन् ।

भाटभटेनीका स्टोरहरूमा नियोजित रूपमा आगजनी भएको सुरक्षा स्रोत बताउँछ ।

त्यस्तै, काठमाडौं उपत्यका बाहिर विराटनगर, धरान, दमक र विर्तामोड, पोखरा, हेटौंडा र भरतपुरका स्टोरलाई पनि प्रदर्शनकारीले आक्रमण गरी ध्वस्त बनाइदिएका हुन् ।

भाटभटेनीका स्टोरहरूमा नियोजित रूपमा आगजनी भएको सुरक्षा स्रोत बताउँछ ।

मंगलबार साँझसम्म भाटभटेनी आन्दोलनकारीले आक्रमण गरेका थिएनन् । तर, एक्कासी स्टोरहरूमा एकपछि अर्को आक्रमण भएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी आन्दोलनमा पनि भाटभटेनीमा लुटपाट र तोडफोट भएको थियो ।

आगजनीबाट क्षतिग्रस्त बौद्ध चुच्चेपाटीस्थित भाटभटेनी ।

अर्बपति चौधरीको निवास र उद्योगमा आक्रमण

चौधरी ग्रुपका अध्यक्ष तथा विनोद चौधरीको रविभवनस्थित निवास र सीजीको सतुंगलस्थित डिजिटल पार्कमा आगो लगाएर  प्रदर्शनकारीले ध्वस्त बनाइदिएका छन् । सो पार्कमा सीजी तथा एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको थियो । चौधरीको निवास पूर्ण रुपमा क्षति भएको छ भने आधा दर्जनभन्दा बढी सवारीसाधान पूर्ण रूपमा जलेका छन् ।

त्यस्तै थापाथलीस्थित गाडी शोरुम र रविभवनको सीजी शोरुममा समेत आगजनी भएको छ । प्रदर्शनकारीले थापाथलीस्थित टाटा मोटर्सको शोरुममा पनि आगजनी गरेका छन् ।

त्यस्तै, विनोद चौधरीका भाइ बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको भाटभटेनीस्थित आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको सितापाइलास्थित निवासमा आगजनी, लुटपाट र तोडफोड भएको छ । आक्रमणबाट आफ्नो निवास आंशिक रूपमा जलेको, ४–५ वटा गाडी पूर्ण रूपमा जलेको गोल्छाले जानकारी दिए ।

आगजनीमा परेको हिल्टन होटल ।

त्यस्तै, शंकर ग्रुपको लगानी रहेको नक्सालस्थित हिल्टन होटललाई पनि प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् । त्यसैगरी थापाथलीमा कान्तिपुर मिडिया ग्रुप रहेको सेन्ट्रल बिजनेस पार्कमा आगजनी हुँदा कान्तिपुरको समाचारकक्ष पूर्ण रुपमा ध्वस्त भएको छ । त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको शाखामा पनि क्षति पुगेको छ । तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्समा आगजनी गरेका प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनमा क्षति पुर्‍याएका छन् ।

तीनकुने सुविधानगरमा रहेको सिम्रिक एयरको भवनमा समेत आगजनी भएको छ । त्यस्त, अन्नपूर्ण पोष्टको कार्यालय रहेको  गैरीगाउँस्थित कर्पोरेट टावरमा पनि प्रदर्शनकारीले आगजनी र लुटपाट गरेका छन् । यो भवन गत चैतमा राजावादीहरूको समेत निसानामा परेको थियो ।

अन्नपूर्ण पोष्टका सञ्चालक रामेश्वर थापाको काभ्रेस्थित घर पनि प्रदर्शनकारीले आगजनी गरी ध्वस्त बनाएका छन् ।

अर्का व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटस्थित कार्यालय गोल्यान टावरमा तोडफोड र आगजनी गरिएको छ, जसबाट भवनमा आंशिक क्षति भएको छ ।

बत्तीसपुतलीस्थित मारवाडी सेवा समिति टावर ।

कांग्रेस सांसद तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईंको बालुवाटारस्थित वर्णवास होटलमा समेत आगजनी गरिएको छ । बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको टावर आन्दोलनकारीले जलाएका छन् । भर्खरै निर्माण सम्पन्न भएको सो भवनमा रहेका हिमालयन जाभाको कफी पसल, हिमालयन बैंक तथा अन्य कार्यालयहरू जलेर ध्वस्त भएका छन् ।

उता, नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालसहितको लगानी भएको चन्द्रागिरि केबुलकार र मौलाकाली केबुलकारको बटम स्टेसन पनि आगो लगाएर ध्वस्त बनाइएको छ ।

पुरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आक्रमण भएको छ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट ।

यस्तै पोखराको सरोवर होटलमा आगो लगाइएको छ । अर्को पाँचतारे होटल हायातमा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् । ठूलो संख्यामा पुगेको युवाको समूहले आक्रमण गर्न थालेपछि यहाँ सेना पुगेको थियो । हायात होटलमा सवारीसाधन र विभिन्न संरचनामा तोडफोड गरिएको छ ।

पर्यटन राजधानी पोखराको बगैँचा रिसोर्ट र लगानीकर्ता विन्दुकुमार थापाको निवासमा आक्रमण गरिएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निवासमा आक्रमण भएको छ । उनको निवासमा मंगलबार दिउँसो र राति गरी दुई पटक आक्रमण भएको थियो ।

आन्दोलनकारीको आक्रमणमा परेको अर्को निजी लगानीको कम्पनी एनसेल हो । एनसेलको नेपालस्थित मुख्यालयमा आक्रमण भएको छ । एनसेलले आक्रमणलगत्तै अत्यावश्यक सेवा र सम्पत्तिमाथि कुनै क्षति नपुर्‍याउन आह्वान गरेको थियो । कम्पनीले अविछिन्न सञ्चार सेवा प्रवाहमा सहयोग गर्नसमेत आह्वान गरेको थियो ।

आन्दोलनकारीले बैंकहरूमा समेत लक्षित गरी आक्रमण गरेका थिए । सोही क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड गरिएको छ । त्यहाँ सोमबार र मंगलबार दुवै दिन आक्रमण भएको हो ।

अधिकांश व्यवसायीका निवास तथा सम्पत्तिमाथि आक्रमणको शैली हेर्दा एउटै समूहले योजनाबद्ध ढंगले गरेको स्पष्ट हुने सुरक्षा संयन्त्र तथा व्यवसायीहरू बताउँछन् ।

‘प्रदर्शनकारीहरू आगो लगाउनका लागि पेट्रोल, सलाई वा लाइटर तथा ग्यास सिलिन्डर समेत बोकेर हिँडेका थिए, जुन घर जलायो– त्यहाँबाट समेत ग्यास सिलिन्डर बोकी गाडीमा हालेर हिँड्थे,’ एक व्यवसायीले भने, ‘एकदमै तालिमप्राप्त देखिन्थे, आएपछि पहिले लुटपाट र तोडफोड गर्ने, त्यसपछि आगो लगाउने गर्थे ।’

हरेक घर र व्यवसायमा भएको आगजनीमा उनीहरूले उस्तै तरीका अपनाएको उनको अनुभव छ । आगजनी, लुटपाट र तोडफोडमा दुर्गा प्रसार्इं समूहरूको संलग्नता हुनसक्ने सुरक्षा निकायहरूले विश्लेषण छ ।

आगजनीबाट थापाथलीस्थित कान्तिपुरको समाचार कक्षमा भएको क्षति ।

नेपालको अर्थतन्त्र तंग्रिन ५–७ वर्ष लाग्छ’

अहिल्यै कमजोर रहेको नेपालको अर्थतन्त्रको मनोबल मंगलवारको आक्रमणले अत्यन्तै कमजोर भएको व्यवसायीहरू बताउँछन् ।

‘हुन न त देशमा ठूलो राजनीतिक परिवर्तन भइरहँदा मेरो निवासमा भएको आक्रमण त्यति ठूलो होइन, तर जसरी व्यवसायीहरूमाथि छानीछानी आक्रमण भयो, त्यसले नेपालमा दिर्घकालीन असर पर्छ,’ उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले बताए ।

ठूला व्यवसायी र बहुराष्ट्रिय कम्पनीहरूमाथि भएको आक्रमणमा विश्वभरका लगानीकर्ताको चासो हुने भन्दै त्यसले नेपालको व्यवासायिक वातावरणमा निकै न कारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

मंगलबार लागेको घाउ निको हुन कम्तीमा पनि ५–७ वर्ष लाग्ने उनको अनुभव छ ।

‘विनोद चौधरीजस्तो विश्वव्यापी छवि भएको व्यवसायीको घर जलाइएको छ, हिल्टनजस्तो विश्वव्यापी चेन होटल आगो लगाइएको छ, एनसेलजस्तो बहुराष्ट्रिय कम्पनीलाई निसाना बनाइएको छ । लगानीकर्ताहरूले त्रासदीपूर्ण वातावरणमा बस्नुपरेको छ,’ उनले भने, ‘यसले लगानीका लागि नेपालको अन्तर्राष्ट्रिय छविमा के प्रभाव पारेको होला ?’

मंगलबार लागेको घाउ निको हुन कम्तीमा पनि ५–७ वर्ष लाग्ने उनको अनुभव छ ।

चौधरी ग्रुपको सतुंगलस्थित डिजिटल पार्क ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले अराजक र उच्छृङ्खल मनोवृत्ति भएका व्यक्तिले निजी क्षेत्रमा आगजनी गरेको बताए ।

यो काम निन्दनीय भएको भन्दै उनले यस्तो काम हुन नदिन सचेत समेत बनाएका छन् । यस आन्दोलनका बेला निजी तथा सरकारी वायुसेवा कम्पनीहरूको व्यापारमा समेत ठूलो धक्का लागेको उनको भनाइ छ ।

नजिकिएको चाडबाडसँगै अब पर्यटकीय मौसम समेत आउन लागेको छ । यसै मौसममा मुलुकमा छाएको अन्योलबीच विभिन्न देशले नेपाल भ्रमणमा नजान ट्राभल एडभाइजरी समेत जारी गरिरहेका छन् ।

यसबाहेक पनि देशभर निजी सम्पत्ति र व्यवसायमा ठूलो क्षति भएको र त्यसको विवरण संकलनको काम भइरहेको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघका एक पदाधिकारीका अनुसार एकातर्फ सरकारविहीनताको अवस्था र अर्कातर्फ आक्रमणको त्रास बाँकी नै रहेको अवस्थामा आजै क्षतिको विवरण आइपुग्ने अवस्था भने छैन ।

महासंघले बैठक बसेर आन्दोलन र आक्रमणबारे धारणा बनाउने तयारी समेत गरेको छ ।

होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले विद्यमान परिस्थितिले मुलुकमा संक्रमणकाल निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

यो परिस्थितिको छिटो व्यवस्थापन गर्न समेत हानले आह्वान गरेको छ । होटल लगायत निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनी देशकै सम्पत्तिको विनाश भएको निष्कर्ष समेत हानले निकालेको छ ।

यी सम्पत्ति भोलिका लागि पनि आवश्यक पर्ने भन्दै हानले मुलुकको सीमित साधन र स्रोत नै यो पुनर्निर्माणमा खर्च हुने भन्दै सचेत समेत गराएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?