
२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।
जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ ।
समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।
भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् ।
सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको छ ।
अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुँदैछ ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भारतीय मिडिया न्युज १८ सँगको कुराकानीमा अन्तरिम सरकार प्रमुख बन्न तयार रहेको बताइसकेकी छन् ।
प्रतिक्रिया 4