+
+
Shares

‘नेताहरूले अब भ्रष्टाचार गर्नुअघि १० पटक सोच्नेछन् जस्तो लाग्छ’

मानिसहरूको आक्रोश र रिस मिसिएर वातावरण भारी बन्यो । धुवाँबाट बच्न उनले पनि भीडसँगै भाग्न खोजे ।

मनिषा थापा सापेक्ष मनिषा थापा, सापेक्ष
२०८२ भदौ २६ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुई दिनको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने १ हजार बढी घाइते छन् र २९ अस्पतालमा उपचार भइरहेको छ।
  • सिभिल अस्पतालमा घाइते ४८ जनाको उपचार भइरहेको छ र उनीहरूमा गोली लागेका धेरैले शल्यक्रिया गराएका छन्।
  • अस्पतालले सबै घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ र स्वास्थ्यकर्मी २४ घन्टा खटिएका छन्।

दुई दिनको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १ हजार बढी घाइते छन् । सिभिल, वीर, नेशनल ट्रमा सेन्टर लगायत देशभरका २९ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

रिपोर्टिङका लागि आज सिभिल अस्पताल पुग्दा त्यहाँ अझै पनि ४८ जना घाइतेहरूको उपचार भइरहेको भेटियो । घाइतेहरू राखिएको वार्डमा जाँदा कसैको घाउको ड्रेसिङ भइरहेको थियो त कोही डिस्चार्जको समय कुरिरहेका थिए । अनि कतिपय घाइतेहरू समय कटाउन मोबाइल फोन चलाइरहेका थिए । कुरुवाहरू पनि त्यसैगरी समय कटाइरहेका थिए ।

तीमध्ये अस्पतालको जनरल वार्डको बेड नम्बर २३१ मा अलि फरक दृश्य फरक देखियो । त्यहाँ एक घाइते शय्याबाटै ल्यापटपमा काम गरिरहेका थिए । उनी थिए सलार्ही घर भई टिकाथली बस्दै आएका २४ वर्षीय आनन्द साह ।

उनी बानेश्वरमा अवस्थित एक आईटी कलेजका विद्यार्थी हुन् । सोमबार बिहानै कलेज सकेर उनी साथीहरूसँगै आन्दोलनमा पुगेका थिए । उनको मनमा एउटा मात्र सोच थियो- भ्रष्टाचारको विरोधमा शान्तिपूर्ण आवाज उठाउनुपर्छ ।

यो उनको पहिलो आन्दोलन थियो । त्यसैले उनी अलि उत्साहित, अलि अनिश्चित पनि थिए । सुरूमा सबै कुरा शान्तिपूर्ण नै देखिन्थ्यो, उनले कल्पना गरेझैं । तर, केही क्षणमै सबै दृश्य बदलियो । अश्रुग्यासको धुवाँले आकाश ढाक्यो । मानिसहरूको आक्रोश र रिस मिसिएर वातावरण भारी बन्यो । धुवाँबाट बच्न उनले पनि भीडसँगै भाग्न खोजे ।

सिभिल अस्पतालनजिक पुग्दा उनको खुट्टामा गोली लाग्यो । ‘दाँया खुट्टामा गोली लागेर अर्कोपट्टि निस्किएको थियो । हड्डी भाचिएको जस्तो लाग्यो । खुट्टा नै चलाउन सकिनँ,’ उनले सम्झिँदै भने । गोली लागेर भुइँमा ढलेपछि उनलाई केही प्रदर्शनकारीहरूले तत्काल अस्पताल लगे ।

अस्पतालमा दृश्य अझ भयावह थियो । न बेड खाली, न त उपचारको सहज वातावरण । सयौं घाइते भुइँमै लडिरहेका थिए । उनी पनि भुइँमै मलमपट्टीमा सीमित भए । पछि एक्स–रे गर्दा गोली अझै भित्र रहेको देखियो । शल्यक्रिया नगरी निकाल्न खोज्दा असफल भएपछि उनलाई तुरुन्तै अपरेसन थिएटरमा लगियो । उनलाई साँच्चैको प्रहरीको गोली लागेको थियो ।

अस्पतालमा उनको दिदी कुरुवा बसेकी छिन् । उनले सोमबार नै आफूलाई गोली लागेको खबर बुबालाई सुनाएका थिए । त्यहाँ बुबा रिसाउनु पर्नेमा ‘मेरो छोरा देशका लागि घाइते भयो’ भन्दै गर्व अनुभव गरेको उनले अनलाइनखबरलाई सुनाए । उनका अनुसार बाबुले देशका लागि आन्दोलनमा जाने निर्णयमा समर्थन गरेका थिए ।

देशको पछिल्लो अवस्थाबारे सोध्दा उनले भने, ‘आन्दोलन भयो, सत्ता ढल्यो, तर आगोले सबै कुरा जलाउन हुँदैनथ्यो । हिजोका नेताहरूको पतन देख्दा अब कोही भ्रष्टाचार गर्नुअघि दश पटक सोच्नेछन् जस्तो लाग्छ ।’ यही कारणले पनि देशको मुहार बदलिन्छ भने भनेर आउटा गोली खाए पनि खुसी नै रहेको उनले सुनाए ।

त्यस्तै भर्खरै कक्षा १२ पास गरेका सन्देश लिम्बु मोबाइल चलाउँदै शय्यामा ढल्किरहेका थिए । उनको फुफू छेवैमा थिइन् । खासै केही बोलिरहेकी थिइनन् । झापाका स्थायी बासिन्दा बताउने सन्देश गोंगबुमा जापानी भाषा पढिरहेका छन् । उनले सामाजिक सञ्जालबाटै सोमबारको आन्दोलनबारे थाहा पाएका थिए । त्यो आन्दोलन आफ्नो पुस्ताका लागि भएको महसुस भएकाले उमेरमा आफूभन्दा सानो भाइसँगै उनी आन्दोलनमा आएका थिए ।

आन्दोलन तनावग्रस्त हुन थालेपछि उनले भाइलाई घर फर्काइदिए । आफू भने आन्दोलनमै रहिरहे । अनि संसद भवनभित्र छिर्ने प्रयास गर्ने भीडको अग्रपङ्क्तिमै बसिरहे । प्रदर्शनकारीहरूले संसद छिर्न खोजिरहेका थिए । प्रहरीले रोकिरहेको थियो । स्थिति तनावग्रस्त भएपछि फायरिङ सुरु भयो । तर भीड अझै अगाडि बढ्न कोसिस गरिरहेको थियो । त्यही बेला एउटा गोली उनको तिघ्रामा लाग्न पुग्यो ।

उनी खुत्रुकै भुइँमा ढले । तत्काल उनलाई त्यहीँका प्रदर्शनकारीहरूले सिभिल अस्पतालमा ल्याए । त्यसबेला २ बजिसकेको थियो । घाइतेहरूको भीड थेगिनसक्नुको थियो । उनले पनि बेड पाएनन् । उनलाई कुर्सीमै राखेर उपचार गरियो ।

आन्दोलनमा सहभागी हुनेबारे उनले सुरूमै बुबालाई जानकारी दिएका थिए । बुबाले आन्दोलनमा अगाडि नजान र गोली लाग्न सक्ने भन्दै चेतावनी दिएका थिए । आखिर परिस्थिति पनि त्यस्तै भइदियो ।

सिभिल अस्पतालको शय्यामा सबैजना आनन्द र सन्देश जस्ता प्रत्यक्ष आन्दोलनकारी थिएनन् । अभिषेक योगी, अनिल श्रेष्ठ जस्ता युवाहरू सक्रिय आन्दोलनकारी नभए पनि परिस्थितिको चपेटामा परेर घाइते भएका थिए ।

अस्पतालमै भेटिएका २१ वर्षका अभिषेक योगी अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । उनी सामान्य दिन जसरी बानेश्वर चोकतिर गइरहेका थिए । तर त्यहाँ अन्य दिनभन्दा फरक, भड्किएको आन्दोलन भइरहेको थियो ।

प्रहरीले गोली चलाउन थालेपछि भाग्दा उनलाई पनि बायाँ कुममा गोली लाग्न पुग्यो । अहिले उनी जोखिममुक्त छन् । आफूलाई गोली लागेता पनि देश राम्रो बनोस् भन्ने उनको कामना छ । तर विगत हेर्दा केही नहुनेमा उनले शंका राखेका छन् ।

हामी उनको शय्या पुग्दा उनी रगतको टाटा भएकै लुगामा थिए । अहिलेसम्म उनलाई घरकाले फेर्ने लुगा ल्याइदिएका थिएनन् । अनि उनले अस्पतालले दिएको लुगा लगाएका थिए । अब उनलाई डाक्टरले चाँडै डिस्चार्ज गर्ने बताएका छन् ।

बानेश्वर चोकमै अवस्थित स्ट्यान्डर्ड बैंकमा सवारी चालकको काम गर्ने अनिल श्रेष्ठ पनि प्रत्यक्ष आन्दोलनमा सहभागी थिएनन् । हामी रिपोर्टिङका लागि पुग्दा अनिल डिस्चार्ज हुनै लागेका थिए । कार्यालयअगाडि आन्दोलन भइरहेकाले उनी हेर्न मात्रै बाटोमा निस्केका थिए । ठिक, त्यही समयमा उनलाई बायाँ फिलामा ‍गोली लाग्यो ।

तर उनको रेड्मी ब्रान्डको मोबाइल फोनमा गोली लागेर मात्र शरीरमा छिरेकाले गम्भीर चोट लागेन । उनले हामीलाई उक्त फोन देखाए । उनको मोबाइल फोनको माथिल्लो भागमा गोली छेडेको प्वाल देखिन्छ ।

तर आफूलाई चोट लागे पनि मन खुसी भएको उनी सुनाउँछन् । अप्रत्यक्ष तरिकाले देशका लागि लडेजस्तै गरेका उनी आफ्नै जोडबलमा डिस्चार्ज हुन लाग्दै थिए । त्यहाँ रहेका बाँकी घाइतेहरूको पनि कुराकानी करिब उस्तैउस्तै छ । अस्पताल प्रशासनका अनुसार एक जनालाई भने आईसीयूमा राखिएको छ । बाँकीको अवस्था सामान्य छ ।

अहिले तुलनात्मक रूपमा यस अस्पतालमा सामान्य बिरामी बढी छन् ।

घाइतेहरूको माझमा त्यहाँ पत्रकार सागर चन्द भेटिएका थिए । कुराकानी गर्नुअघि उनी पनि आन्दोलनकारी नै हुन् भन्ने लागेको थियो । कुराकानीपश्चात थाहा भयो-उनी पेटको समस्याका कारण गतशुक्रबार नै अस्पताल भर्ना भएका रहेछन् । नियमित उपचारमा रहेका उनले सोमबारको आन्दोलन बिथोलिदा बिनाकारण सास्ती खप्नु रहेको सुनाए ।

कारण-प्रदर्शनकारीहरूलाई भगाउन अस्पतालभित्रै प्रहरी छिर्दा झडप भएको थियो । जसलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । त्यसको प्रत्यक्ष असर भोग्नुपरेको उनले सुनाए ।

घाइतेहरूको अत्यधिक चाप हुँदा स्वास्थकर्मीको अभाव भएको र त्यसले आफ्नो नियमित उपचारमा केही प्रभाव परेको चन्दको भनाइ छ । यसरी आन्दोलन सुरु भएको तेस्रो दिन अस्पतालको माहोल अघिल्ला दिन भन्दा केही शान्त भएको पाइयो । धेरैजसो उपचारपछि घर फर्किसकेका थिए ।

पहिलो दिन अवस्था निकै तनावपूर्ण भए पनि त्यसलाई समालेको अस्पतालका मेडिकल डाइरेक्टर डा.दीपक पौडेलले बताए ।

‘चाप यति धेरै थियो कि स्वास्थ्यकर्मी र चिकित्सक नै नपुग्लाजस्तो भएको थियो’ डा.दीपक पौडेलले भने, ‘उता अश्रुग्यासकै असरले स्वास्थ्यकर्मी आफैंलाई पनि असहज भएको थियो । तर, जसोतसो सबै मिलेर काम गर्‍यौं । अब अवस्था बिस्तारै सामान्य हुँदै गएको छ ।’

घाइतेको उपचारमा दुई दिनसम्म अहोरात्र खटिएको अर्थोपेडिक सर्जन डा. नवीन पौडेलले सुनाए । ‘हामी सबै चिकित्सक ड्युटी सकिएपछि पनि अस्पतालमै बसेर निरन्तर उपचारमा खटियौं’ उनले भने, ‘अधिकांश घाइतेलाई हात, पाखुरा र खुट्टामा गोली लागेको थियो ।’

उनीहरूका अनुसार सुरुका घण्टाहरूमा घाइतेको संख्या यति धेरै थियो कि प्राथमिक उपचारको क्रममा मात्र डाक्टर र स्वास्थ्यकर्मी थाक्ने अवस्थामा पुगे । तर, निरन्तर प्रयासले अवस्था नियन्त्रणमा ल्याउन सकियो ।

आन्दोलनका सुरुको दिनमा काठमाडौं महानगरपालिका र विभिन्न सामाजिक अभियन्ताहरूले अस्पताल पुगेका घाइते, कुरुवा र स्वास्थ्यकर्मीलाई चाउचाउ, पानी र जुस वितरण गरेर सहयोग गरेका थिए । तर, घाइतेको संख्या बढ्दै गएपछि व्यवस्थित खानाको आवश्यकता महसुस भयो ।

दोस्रो दिनदेखि सहानुभूति नेपालले नवदुर्गा पार्टी प्यालेससँगको सहकार्यमा बिहान र बेलुकी दुवै समयमा साधारण तर पौष्टिक खाना वितरण गर्न थालेको छ । संस्थापक तुलसी श्रेष्ठका अनुसार ‘ करिब ५०० जनालाई पुग्ने खाना बनाइन्छ, जसमा बिरामी, कुरुवा र उपचारमा खटिएका स्वास्थ्यकर्मी सबैलाई समेटिन्छ ।’

त्यस्तै अस्पतालले सबै घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सामान्य मलमपट्टीदेखि शल्यक्रिया, औषधि–इन्जेक्सन सबै सुविधा निःशुल्क उपलब्ध गराइएको छ । चिकित्सक, नर्स र अन्य कर्मचारी २४ घन्टा निरन्तर खटिएका छन् ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?