+
+
Shares

सेयर बजार बन्द गरिरहन कानुनले दिँदैन, खुलाउन लगानीकर्ता चाहन्नन्

कमल नेपाल कमल नेपाल
२०८२ भदौ २६ गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्सेले युवा विरोध प्रदर्शनका कारण मंगलबारदेखि बिहीबारसम्म तीन दिन सेयर कारोबार बन्द गराएको छ।
  • नेप्से प्रवक्ता मुराहरि पराजुलीले सबै डेटा सेन्टर सुरक्षित रहेको र बजार कहिले खुल्ने निश्चित नभएको बताए।
  • लगानीकर्ता र ब्रोकरले देशमा नेतृत्व आएपछि र सुरक्षा सुनिश्चित भएपछि मात्रै बजार सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

२६ भदौ, काठमाडौं । युवा पुस्ताको विरोध प्रदर्शनले निम्त्याएको संकटका कारण नेप्सेले तीन दिन सेयर कारोबार बन्द गराइसकेको छ । मंगलबार, बुधबार र बिहीबार बजार बन्द रह्यो ।

नेपाल स्टक एक्स्चेन्जले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर तीन दिन कारोबार स्थगित गराएको हो ।

प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ ।

धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०६३ ले बजारलाई बढीमा ५ दिनसम्म मात्रै यसरी बन्द गर्न सकिने परिकल्पना गरेको छ ।

ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । तसर्थ धितोपत्र बजारलाई लामो समयसम्म बन्द गर्न मिल्दैन ।

बिहीबारदेखि परिस्थिति क्रमिक रुपमा सामान्य बन्दै गएको छ । सेयर बजारसँग सम्बन्धित सबै सिस्टम तथा डेटा सेन्टर सुरक्षित रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘एक ठाउँ मात्रै नभएर भिन्न भिन्न क्षेत्रमा ‘मल्टिपल’ डेटा सेन्टर राखिएको हुन्छ’ उनले भने ।

त्यस्तै स्टक ब्रोकरको डेटा सेन्टर पनि काठमाडौंमा एउटा र उपत्यकाबाहिर अर्को राखिएको छ । सबै क्षेत्रका डेटा सेन्टर सुरक्षित रहेको छ । तर बजार कहिलेबाट खुल्छ भन्ने निश्चित भइसकेको छैन । केही लगानीकर्ता हाल संक्रमणकालीन अवस्था रहेकाले मुलुकले एउटा नेतृत्व नपाउँदासम्म बजार सञ्चालन गर्न नहुनेमा छन् ।

देशले नेतृत्व पाएर दैनिक मुख्य कार्य सञ्चालनले लय समातेपछि मात्रै बजार खोल्नुपर्ने उनीहरुको मत छ । लगानीकर्ता तिलक कोइराला बजारका लागि केही सकारत्मक सन्देश जानेगरी गृहकार्य गरेर मात्रै सञ्चालन गर्नुपर्ने बताउँछन् ।

‘यस्तो बेला धेरै लगानीकर्ताको भावना नकारात्मक बनेको छ’ उनले भने ‘त्यसकारण तत्कालै गर्न सकिने सकरात्मक केही काम अघि बढाएर बजार सञ्चालन गर्न सकिन्छ ।’ अन्यथा बजार सुरुमा धेरै नै त्रसित भएर भारी मात्रामा घट्न सक्ने जोखिम रहेको उनी बताउँछन् ।

‘बजार खुल्दा आपूर्ति ह्वात्तै आउने तर माग पक्ष कमजोर बन्यो भने ठूलो असर पार्छ’ उनले भने ‘यसलाई सन्तुलित बनाउन बजार खुल्नुअघि नै कुनै सकारात्मक निर्णय होस् ।’

तत्कालै गर्न सकिने काममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बजारमा अल्पकालीन लगानी गर्न दिने, संस्थागत लगानीकर्तालाई बजारमा लगानीका लागि सीमा फराकिलो बनाउन सक्नेजस्ता कार्य धितोपत्र बोर्डले गर्नुपर्ने उनको सुझाव छ । तर बजार लामो समयसम्म बन्द गर्न नमिल्ने कोइराला बताउँछन् ।

ब्रोकर कम्पनीहरू कारोबारका लागि तयार अवस्थामा छन् । यद्यपि सुरक्षाको अवस्थाप्रति उनीहरू सशंकित छन् । ‘बजार खुलेपछि ह्वात्तै घट्न गयो भने आक्रोशित पक्ष तोडफोडमा उत्रिन सक्छ’ एक ब्रोकर सञ्चालकले भने ‘त्यसकारण सुरक्षाको प्रवन्ध मिलाइनुपर्छ ।’ असुरक्षा कायम रहेका बेला बजार खोल्नु उपयुक्त नहुने उनको भनाइ छ ।

देशको नेतृत्वमा आन्दोलनरत पक्षले सहमति जुटाएपछि मात्रै कारोबार गर्नु उपयुक्त हुने उनी बताउँछन् । ‘सुरक्षा कमाण्ड सम्हालिने अवस्था भएपछि कारोबार गर्नु उपयुक्त होला, अहिले संक्रमणकालीन अवस्था हो’ उनले भने । साैहार्द्धपूर्ण कारोबार हुने वातावरण बनेपछि मात्रै सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?