
२७ भदौ, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेसी घर भएका योगेन्द्र न्यौपाने (रोशन) (२५) ले जेनजी आन्दोलनमा बानेश्वर चोकमा ढले ।
२३ भदौमा भएको जेनजीको आन्दोलनमा उनी पनि उत्रिएका थिए । काठमाडौंको मुलपानीमा बस्दै आएका उनी आन्दोलनकै लागि भनेर बिहानै घरबाट निस्किए । काठमाडौं एक्लै बस्दै आएका उनी आन्दोलनमा गए नगएको बारे कसैलाई केही पत्तो थिएन ।
उनले पनि गाउँमा रहेका आफ्ना बाबु युवराज र लक्ष्मी कसैलाई केही जानकारी गराएनन् । युवराजको लक्ष्मीका दुई छोरामध्ये जेठो हुन्, योगेन्द्र । जबकी जेनजी आन्दोलनको साँझ परिवारले छोराको खबर सुने त्यसपछि उनीहरू बेहोस जस्तै भए ।
‘सोच्दै नसोको अकल्पनी खबरले बाबुआमा दुवै गाउँमै ढले । धेरैबेरसम्म होस् नै आएन,’ योगेन्द्रका काका उपेन्द्र त्यो क्षण सम्झन्छन्, ‘सुरुमा विश्वास नै लागेन । पछि बुझ्दै जाँदा सूचना सत्य रहेछ ।’
जेनजी आन्दोलनका क्रममा उनलाई नयाँ बानेश्वर चोक नजिकै रहेको आकेश पुलमुनि गोली लागेको थियो । नयाँ बानेश्वर चोकबाट माइतीघरतर्फ बढ्दै गर्दा उनलाई टाउकाको पछाडितर्फको भागमा गोली लागेको थियो ।
गोली लागेर भुँईमा ढलेका उनको टाउको क्षति विक्षप्त थियो । रगतले शरीरदेखि भुइँसम्म निथ्रुक्क थियो । आन्दोलनकारीहरूले नै गम्भीर घाइते योगेन्द्रलाई बोकेर नजिकै रहेको एभरेष्ट अस्पताल पुर्याए ।
टाउकामै गम्भीर चोट लागेकाले केहीबेरमा चिकित्सकले उनलाई मृत घोषण गरे । दिउँसो करिब साढे २ बजेतिर उनले प्राण त्यागे ।
योगेन्द्र समाज शास्त्रका विद्यार्थी हुन् । उनले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट समाज शास्त्रमा स्नातक गरेका थिए ।
युवराजकी एक छोरी विवाह गरेर बनेपा बस्छिन् । कान्छो छोरा भने भर्खरै प्ल टु सकाएका थिए । जेठो छोरा योगेन्द्रको पनि एमए सकिन लागेकाले उनीबाट परिवारको आशा ठूलो थियो ।
‘बाबुको इच्छा छोरालाई निजामति कर्मचारी बनाउने थियो । उनी पनि लोकसेवा तयारी गर्दै थिए । यो सबै सपना अधुरै रह्यो,’ काका उपेन्द्र भन्छन् ।
एभरेष्ट अस्पतालमा मृत भएका योगेन्द्रको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाको पाँचौँ दिनमा बल्ल परिवारले शव बुझेर सद्गद् गर्ने प्रक्रिया अघि बढाएको छ ।
‘बिहीबार शव बुझ्नका लागि आवश्यक कागजात बनाउन परिसर भद्रकाली गएर बनाइयो । हिजो कागजपत्र मिलाउँदै दिन गयो । अब आज पोष्टमार्टम गरेर शव बुझ्ने तयारी हुँदैछ,’ काका उपेन्द्रको गुनासो छ ।
शुक्रबार पोष्टमार्टम सकाएर गाउँमै लगेर योगेन्द्रको शव सद्गद् गर्ने तयारी उनको परिवारले गरेको छ । आफ्नो छोराले अनाहकमा ज्यान गुमाउनु परेको परिवारका सदस्यहरू बताउँछन् ।
‘जबकी गोली टाउकाको पछाडि लागेको भनिएको छ । पछाडि फर्केर अन्तै जान लागेका बेला टाउको ताकेर गोली हानेको देखियो,’ भन्दै परिवारका सदस्यहरू प्रश्न गर्छन् ।
खुट्टामा गोली लागेको भए पनि बाँच्ने छोरालाई टाउको ताकेर गोली हान्दा मृत्यु भएको परिवारको गुनासो छ ।
यो घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै योगेन्द्रले न्याय पाउने काका उपेन्द्रको भनाइ छ । ‘छानबिन गरेर हत्यारालाई कारबाही गर्नुपर्छ । विद्यार्थीलाई ताकेर टाउकामा गोली हान्न कसले आदेश दियो ?’ उनी प्रश्न गर्छन् ।
योगेन्द्रजस्तै जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर त्यस दिन १७ जनाको मृत्यु भएको थियो । काठमाडौंमा १७ र सुनसरीमा २ गरी १९ जना मारिएपछि भोलिपल्टको आन्दोलन झनै उग्र बन्यो । त्यसपछि तोडफोड आगजनीसम्म भयो । सो क्रममा ठूलो संख्यामा घाइते भए र मृत्यु हुनेको संख्या पनि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिलेसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३६ पुगेको छ । १ हजार ७७१ जना घाइते भएका थिए । तीमध्ये १ हजार ३७९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकीको भने उपचार जारी छ ।
प्रतिक्रिया 4