+
+
Shares

सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जनालाई प्राथमिकता दिनुपर्छ : विज्ञ

पूर्वअर्थ सचिव रामेश्वर खनालले भ्रष्टाचार विरुद्ध मुलुकभरिबाट मानिस एकसाथ जाग्नुलाई सकारात्मक लिनुपर्नेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी प्रदर्शनले मुलुकलाई भौतिक क्षति पुर्‍याए पनि अर्थतन्त्रमा निजी क्षेत्रका लागि नयाँ अवसर सिर्जना गरेको अर्थतन्त्रका जानकारहरूले बताएका छन्।
  • पूर्व अर्थ सचिव रामेश्वर खनालले भ्रष्टाचार विरुद्धको जनजागरणलाई सकारात्मक भन्दै पुनर्निर्माण र लगानी वृद्धिमा प्राथमिकता दिनुपर्ने बताए।
  • अर्थशास्त्री डा. समिर खतिवडाले जेनजी प्रदर्शनले क्रोनी क्यापिटालिज्म भत्काउने प्रयास गरेको र नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट निकाल्न सहयोग गर्ने बताए।

२७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’ को अवसर प्रदान गरेको अर्थतन्त्रका जानकारहरूले बताएका छन् ।

अहिलेको क्षतिलाई सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउन प्राथमिकता दिन उनीहरूले सुझाएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा उनीहरूले जेनजीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचार विरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले भ्रष्टाचार विरुद्ध मुलुकभरिबाट मानिस एकसाथ जाग्नुलाई सकारात्मक लिनुपर्नेमा जोड दिए ।

‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरिबाट भ्रष्टाचार विरुद्ध मानिस एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधन लगायत विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’

उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रूपमा मानव सिर्जित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए ।

‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वका समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर, अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’

अहिलेको क्षतिलाई सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउन प्राथमिकता दिन उनीहरूले सुझाएका हुन् ।

पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएको उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए । उनले यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकलाई सच्चिन पनि सन्देश दिएको प्रतिक्रिया दिए ।

‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रूप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पूँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्र रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । तर, यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ ।

‘सञ्चारमाध्यम पनि संयमित हुन जरुरी छ, हिल्टन होटल प्रकरण जस्ता दोहोरिन दिनुहुन्न, राजनीतिक प्रतिशोधका कारण भाटभटेनीमा ठूलो आक्रमण भएको छ,’ उनले भने, ‘बलियो अर्थतन्त्र र समाज निर्माणमा सञ्चारमाध्यमको पनि ठूलो भूमिका हुन्छ ।’

उनले अर्थतन्त्रको गतिशीलताका लागि सूचना महत्त्वपूर्ण औजार भएको पनि बताए । खनालले बलियो अर्थतन्त्र निर्माणका लागि समावेशिता, समान वित्तीय पहुँच र समानता कायम गर्न सक्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा अर्थशास्त्री डा. समिर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे । ‘जेनजी प्रदर्शनले क्रोनी क्यापिटालिज्मलाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ,’ उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’

खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । ‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।’

उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए । ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशत मात्रै हो, त्यो आफैंमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी ३ प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?