+
+
Shares
जेनजी प्रदर्शन :

भूकम्पले घर ढल्यो, आन्दोलनले परिवारको मियो

२०७२ सालको भूकम्पले घर ढल्यो । त्यसपछि गाउँमा बनाएको घरको १० लाख ऋण तिर्न उनी विदेश जान चाहन्थे । तर अहिले उनी आफैं ढले ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ २७ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीकृष्ण श्रेष्ठलाई आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको छ र उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा राखिएको छ।
  • श्रीकृष्णका परिवारले न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान लिएका छन् र सरकारलाई हत्या गरेको आरोप लगाएका छन्।
  • मृतकका आफन्तले शहीद घोषणा, जिम्मेवारलाई कारबाही, राजकीय सम्मान र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

२७ भदौ, काठमाडौं । २३ भदौ, सोमबार दिउँसो ३ बजे । रामकृष्ण श्रेष्ठले भाइ श्रीकृष्णलाई फोन गरे । तर भाइको फोन उठेन ।

अरु बेला हत्तपत्त उठाइहाल्ने भाइको फोन नउठेपछि रामकृष्णको मनमा चिसो पस्यो । दोस्रो पटकमा फोन उठ्यो । तर आवाज भाइको थिएन ।

त्यो अपरिचित आवाजले हतार–हतारमा भन्यो, ‘तपाईंको आफन्तलाई खुट्टामा गोली लागेको छ ।’

सुनेर रामकृष्णको खुट्टा लुला भए । शरीर काँप्न थाल्यो । फोनमा कसैले भनिरहेको थियो, ‘एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ, त्यहीं आउनुहोला ।’

फोन काटियो ।

कुन अस्पताल जाने ? कहाँ लगियो ? उनले भेउ पाएनन् । त्यसै पनि आन्दोलनको कोलाहलका बीच फोनमा बोलेको कुरा स्पष्ट सुनिएको थिएन । भयले रामकृष्णको मुटु बेस्सरी हल्लायो ।

मृतकका दाजु रामकृष्ण श्रेष्ठ ।

कति कठोर क्षण ! भाइलाई गोली लागेको छ, तर अवस्था थाहा छैन । अस्पताल लगिएकोसम्म थाहा छ, तर कुन अस्पताल भन्ने पत्तो छैन । खोज्नुपर्ने छ, तर कहाँ कसरी खोज्ने भेउ पाइएको छैन ।

त्यसबेला रामकृष्ण गाउँमै थिए । काठमाडौं रहेका काकाहरूलाई त्यही अपुष्ट खबर सुनाए र खोज्नका लागि भने ।

काठमाडौंका अस्पताल, प्रहरी चौकी सबैतिर खोजियो । तर श्रीकृष्ण कतै भेटिएनन् ।

श्रीकृष्ण कलकलाउँदो उमेरका थिए । २२ वर्षका । सोझा र मृदुभाषी । अहलेसम्म कसैसँग झैझगडा गरेको वा कुनै हुलदंगामा गएको अहिलेसम्म थाहा थिएन ।

झमक्क साँझ पर्‍यो । घडीले रातको ८ बजेको संकेत गर्‍यो । खोज्दै-खोज्दै उनीहरू ट्रमा सेन्टर पुगे । त्यहाँ पुग्दा जुन दृश्य देखे, त्यो सहन सकिने खालको थिएन ।

भाइ कुनै शय्यामा थिएनन् । इमर्जेन्सी वार्डमा पनि थिएनन् । शव कक्षमा थिए, निर्जीव, नि:शब्द ।

०००

श्रीकृष्ण कलकलाउँदो उमेरका थिए । २२ वर्षका । सोझा र मृदुभाषी । अहलेसम्म कसैसँग झैझगडा गरेको वा कुनै हुलदंगामा गएको अहिलेसम्म थाहा थिएन । सानैदेखि गरिबी खेपेका उनले पढ्न र पैसा कमाउन गाउँ छाडेका थिए । गाउँ थियो, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–६ गाती ।

दाइ रामकृष्ण सम्झन्छन्, ‘सोझो, चाहिने मात्र बोल्ने, सबैसँग मिल्ने स्वभावको थियो ।’

साधारण खेतीपाती गर्ने परिवारमा जन्मिएका श्रीकृष्ण र रामकृष्ण र दुईजना दाजुभाइ थिए । हजुरआमा, बुवा–आमा र दिदी भएको सानो परिवारले खेतीकिसानीबाटै गुजारा चलाउँथ्यो ।

आर्थिक अवस्था कमजोर भएका श्रीकृष्णको ठूलो सपना थियो । सानैदेखि पढाइमा रुचि भएका उनले गाउँकै स्कुलबाट एसएलसी पास गरेपछि ११ र १२ बाह्रबीसे बजारमा काकासँग बसेर पढे । त्यसपछि काठमाडौं आए । श्रीकृष्णले भर्खरै स्नातक तह पढ्न सुरु गरेका थिए ।

‘मेरो भाइ भर्खर २२ वर्ष पुगेको थियो । यहाँ भविष्य नदेखिर विदेश गएर पढ्ने तयारीमा थियो,’ रामकृष्ण भन्छन्, ‘तर यो देशले उसलाई त्यो मौका नै दिएन ।’

श्रीकृष्णको जीवन सधैं संघर्षमय थियो । पुतलीसडकमा फुपुसँग बसेर पढ्दै आएका थिए । उनी बिहान जिम जाने, दिउँसो पढ्ने र पार्टटाइममा पठाओ चलाएर गुजारा गर्थे ।

नेपालको अस्थिर राजनीति र आर्थिक अवस्थाले यहाँका युवाहरूको भविष्य अन्योलमा भएको रामकृष्ण बताउँछन् ।

भाइ आन्दोलनमा किन गए, कसरी गोली लाग्यो ? यो प्रश्नको उत्तर भने अब उनले कहिल्यै पाउने छैनन् ।

‘हाम्रा देशका युवाले यहाँ भविष्य देखेका छैनन् । डिग्री पास गरेर पनि जागिर छैन । नेताका छोराछोरी विदेशमा छन्,’ रामकृष्ण भन्छन्, ‘हामीजस्ता गरिबका छोराछोरीले काठमाडौं आएर संघर्ष गर्नुपर्छ ।’

उनको मनमा आक्रोश छ, ‘सरकारले हाम्रा भाइहरूको हत्या गरेको हो । यो हत्याको जिम्मा लिनुपर्छ ।’

श्रीकृष्ण विवाह गरेर श्रीमतीसहित विदेश (माल्टा) जान चाहन्थे ।

२०७२ सालको भूकम्पले घर ढल्यो । त्यसपछि गाउँमा बनाएको घरको १० लाख ऋण अझै तिर्न बाँकी छ । त्यही ऋण तिर्न पनि उनी विदेश जान चाहेका थिए । तर, अहिले उनी आफैं ढले ।

‘यहाँ केही भएन दाइ, बाहिर जान्छु, पढ्छु, कमाउँछु, परिवारलाई सुःख दिने कोसिस गर्छु,’ भाइले भनेका शब्द रामकृष्णको कानमा अझै गुन्जिरहन्छन् ।

आफ्नो भाइ र अन्य मृतकका लागि न्यायको पुकार गर्दै रामकृष्ण भन्छन्, ‘यो सरकारले हत्या गरेको हो । आफ्नो शक्ति, पद बचाउनको लागि युवाहरूलाई मार्‍यो ।’

अहिले श्रीकृष्णको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा राखिएको छ ।

परिवारले भने सरकारले न्याय सुनिश्चित नगरेसम्म शव नउठाउने अडान लिएको छ ।

श्रीकृष्णका आफन्त मुकुन्द श्रेष्ठ भन्छन्, ‘आन्दोलनले सार्थकता नपाउँदासम्म यो बलिदानको अर्थ हुँदैन । हाम्रा भाइको सपना पूरा हुँदैन । त्यसैले शव नउठाउने निर्णय गरेका छौं ।’

मृतकका आफन्त मुकुन्द श्रेष्ठ ।

मृतकका आफन्तले श्रीकृष्णलगायत आन्दोलनमा ज्यान गुमाएका युवालाई शहीद घोषणा गरिनुपर्ने, भ्रष्टाचार विरुद्धको आन्दोलनमा गोली चलाउने र ज्यान लिने सुरक्षाकर्मी तथा जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, सहादत प्राप्त गरेका युवाहरूलाई राजकीय सम्मानसहित बिदाइ गरिनुपर्ने र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन् ।

श्रीकृष्णको परिवार शोकमा डुबेको छ । छिटो शवको सम्मानजनक व्यवस्थापन गरियोस् भन्ने चाहना राख्छन् । तर उनीहरूका अनुसार, न्याय नपाउन्जेल शव नउठाउने अडान कायमै छ ।

‘हत्या गर्नेलाई जेल हाल्नुपर्छ । त्यति गरिसकेपछि मात्रै हाम्रा भाइहरूको आत्माले शान्ति पाउनेछ,’ रामकृष्ण भन्छन्, ‘गोली कोखामा लागेको रहेछ । परिवारको मियो सरकारले ढालिँदियो ।’

फोटो र भिडियो : कमल प्रसाईं

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?