
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशसभाले अराजक समूहको आगजनीबाट ध्वस्त भएको भवनमा प्रशासनिक सेवा मिडिया सेन्टरबाट आइतबारदेखि सुरु गर्ने भएको छ।
- प्रदेशसभा सचिवालयका ९ वटा गाडी र प्रहरीका २ वटा सवारीसाधन आगजनीमा जलेका छन् भने सामग्री चोरीसमेत भएको छ।
- प्रदेशसभा सचिवालयले चोरी भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै नगरे कानुनी कारवाही गर्ने चेतावनी दिएको छ।
२८ भदौ, विराटनगर। जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभाले प्रशासनिक सेवा आइतबारबाट सुरु गर्ने भएको छ ।
मंगलबार अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन ध्वसत भएको थियो । प्रदेशसभा सचिवालयको भवनमा पनि आगजनी र तोडफोड भएको थियो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले प्रदेशसभा सचिवालय परिसरमा रहेको मिडिया सेन्टरको कोठाबाट प्रशासनिक सेवाको सुरूवात गर्ने बताए ।
उनका अुनसार मिडिया सेन्टरको कार्यकक्षमा तोडफोड भएपनि आगजनी भएको छैन भने आगजनी नभएका कारण टेबल कुर्सी राखेर प्रशासनिक काम सुरु गर्न लागिएको हो ।
‘सचिवालय भवनको सरसफाइ भएको छैन, बाहिर परिसरमा सरसफाइ गरियो,’ ढकालले भने, ‘मुचुल्का उठाएपछि सचिवालय भवनको सरसफाइ हुन्ँछ।’ शुक्रबार र शनिबार सचिवालय परिसर सरसफाइ भएको थियो।
प्रदेशसभा भवन पूर्णरुपमा जलेका कारण प्रदेशसभाको काम कारवाही सञ्चालनको विषय भने अन्योल छ।
प्रदेशसभा सचिवलायका निमित्त सचिव गौतमराज अमात्यका अनुसार प्रदेशसभा भवन शून्य अवस्थामा पुगेको छ। सचिवालय पनि लगभग शून्य अवस्थामा पुगेको छ।
‘आगलागी भएपछि राम्रा सामन लिएर हिडे, दक्षिण पट्टीको पर्खाल भत्कीएको छ ,’उनले भने,‘ हामी अहिले शुन्यमा झरेका छौं, शून्यबाट उठ्नु पर्नेछ ।’
लुटिएको सामग्री फिर्ता माग्यो
अराजक समूहले प्रदेशसभा सचिवालय परिसरमा आगजनी गर्दा ९ वटा सचिवालयका गाडी जलेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि २ वटा सवारी जलेको छ । आगजनीका कारण प्रदेशसभाको सबै सामग्री जलेर नष्ट भएको छ ।
सचिवालयको भुइ तल्ला र पहिलो तत्लामा आगजनी भएको छ । आगोले नभेटेको सामग्री लुटपाट भएको थियो । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको थियो ।
सचिवालयको सामग्री लुटपाट भएपछि प्रदेशसभा सचिवालयले फिर्ता गर्न सूचना जारी गरेको छ । शनिबार प्रदेशसभा निमित्त सचिव अमात्यले सूचना जारी गर्दै सामग्री फिर्ता गर्न आग्रह गरेका हुन् ।
‘आगलागी र तोडफोडका क्रममा कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी टिभी कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधनसमेत सचिवालय परिसरबाट लुटपाट चोरी भएको छ,’ सचिवालयले भनेको छ,‘ कसैले उल्लेखित सामान देख्नु भएमा वा कुनै कारणवाट भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस प्रदेश सभा सचिवालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।’
सचिवालयले कसैले राखेको भए जानकारी दिन पनि आग्रह गरेको छ । सचिवालयको सामग्री लैजानको सिसी क्यमेरा फुटेज रहेको भन्दै सचिवायले फिर्ता नगरे कानुनी कारवाही गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया 4