+
+
Shares
५० वर्षदेखि घन्किरहेको एउटा गीत :

हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको सार्वकालीन गीत

गीतमा धुन भरे, रामेश र रायनले । गाए पनि उनीहरूले नै । यो गीत चिनियाँ, हिन्दी, फ्रेन्चसहित १७ भाषामा अनुवाद भएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्याम तमोटले २०३१ सालमा लेखेको \'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ\' गीतले नेपालका थुप्रै सामाजिक आन्दोलनमा प्रेरणा दिएको छ।

तपाईं यी गीतहरू सुन्दै जानुहोस्, शरीरको रक्तसञ्चार बढेको अनुभव गर्नुहुन्छ । छाती चौडा हुन्छ र गर्वले धपक्कै फुल्छ ।

पूजापाठ गर्दा बजाइने भजन होइन यो । विहे, उत्सवमा बजाइने डान्सिङ नम्बर होइन यो । एकान्तमा बजाइने प्रेमिल धुन होइन यो । बरु जब-जब देश दुख्छ, तब–तब वीर रस र श्रद्धाभाव जगाउने गीत हो ।

‘गाउँ गाउँबाट उठ

बस्ती बस्ती बाट उठ

यो देशको मुहार

फेर्नलाई उठ ।’

गीतको स्थायीले जसरी ‘उठ्न’का लागि प्रेरित गर्छ, त्यसमा उत्तिकै जोश भरिएको भाका पनि छ । त्यसैले त यी भाकाहरू गुञ्जिरहँदा मन जुरुक्कै उठ्छ । बेग्लै ऊर्जा र शक्तिले भरिएको महसुस हुन्छ ।

‘हातमा कलम हुनेहरू कलम लिएर उठ

बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ

साथमा केही नहुनेहरू आवाज लिएर उठ ।

परिवर्तनका लागि छेडिने कुनै पनि आन्दोलनमा सबैको साथ जुटाउन कति जोडदार आह्वान गरिएका छन् । सबैजना सडकमै आउनुपर्छ भन्ने छैन । सबैले नारा घन्काउनुपर्छ भन्ने छैन । यथास्थितियमै रहेर पनि सबैजना आन्दोलित हुन सक्छन् । त्यसका लागि आ–आफ्नो क्षमता र शक्तिको प्रयोग गर्नु जरुरी छ ।

नेपालको सामाजिक आन्दोलनको इतिहासमा एक युगन्तकारी गीत हो यो । यो यस्तो गीत हो, जुन नेपालका थुप्रै परिवर्तनको साक्षी बनेको छ ।

यसमा प्रयोग भएका शब्दहरू सरल छन् तर जोडदार । भाका सहज छ तर शक्तिशाली । यस्तो शानदार गीत कसले लेखे होलान् ? कसले धुन भरे होलान् ?

आज जेन जी पुस्ताले जुन भाका हाल्दै सडकमा आफ्नो आन्दोलन छेडे, त्यो भाकाले थुप्रै राजनीतिक उथलपुथलमा साथ दिएको छ । खासमा यो गीत पञ्चायती व्यवस्थाकै बेला तयार गरिएको हो । यसका सर्जक हुन्, श्याम तमोट । उमेरको हिसाबकिताब गर्दा उनी बेबी बुमर्शका हुन् ।

जतिबेला उनले यो गीत लेखे, त्यसबेला २२ वर्षाका अल्लारे थिए ।

२०३१ सालमा अर्थात् आधा शताब्दीअघि  श्याम तमोट भोजपुरबाट धरान झरेका थिए, पढ्नका लागि । त्यहाँ विद्यार्थी जमघट हुने, राजनीतिका कुरा हुने । शहरका कुरा हुने, संगीतका कुरा हुने । असन्तुष्टिको कुरा हुने, असमानताको कुरा हुने ।

ठिक त्यही पृष्टभूमिमा श्याम तमोटको मनमा यो गीत फुरेको थियो ।

सुरुमा यो गीत एक अन्तरा मात्र लेखिएको थियो । पछि चलचित्र बलिदान बन्ने भयो । तुलसी घिमिरेले निर्देशन गर्ने, हरिवंश आचार्यले केन्द्रीय भूमिका निर्वाह गर्ने यो फिल्म शहीदहरूमा समर्पित थियो । यही फिल्ममा गीत समावेश गर्ने भएपछि उनले यसलाई पूर्ण गरे । र तयार भयो, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।’

गीतमा धुन भरे, रामेश र रायनले । गाए पनि उनीहरूले नै । यो गीत चिनियाँ, हिन्दी, फ्रेन्चसहित १७ भाषामा अनुवाद भएको उल्लेख छ ।

त्यसो त श्याम तमोटले यस्ता थुप्रै गीत लेखेका छन्, जसले हरेकको हृदयमा वीर रस पैदा गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?