
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भोलि सोमबारदेखि देशभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा र साल्ट ट्रेडिङले ४० स्थानमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जनाएको छ।
- सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म छुट दिइने छ भने खसीबोका र च्याङ्ग्राको कारोबार अनिश्चित रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए।
२९ भदौ, काठमाडौं । भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।
तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीले यसअघि योजना बनाएका सबै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिए ।
‘सहुलियत मूल्य पसल हामीले जुन जति ठाउँमा टार्गेट गरेका थियौं, सबै ठाउँमा सञ्चालन गर्ने नै भन्ने छ अहिलेसम्म,’ उनले भने, ‘यस सम्बन्धमा मन्त्रालयमा समेत कुरा भइसकेको छ ।’
यी सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ ।
त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।

कम्पनीले जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रहरूबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी ५ रुपैयाँ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने छ ।

खसीबोका र च्याङ्ग्रा कारोबार अनिश्चित
चाडपर्वमा उपभोक्ताले प्रतीक्षा गर्ने खसीबोका र च्याङ्ग्रा कारोबारमा भने अनिश्चितता देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यले अहिलेको विषम परिस्थितिका कारण खसीबोका र च्याङ्ग्रा ल्याउन नसकिएकाले अन्योल छाएको बताए ।
‘खसीबोका र च्याङ्ग्राको कारोबार चाहिँ अहिलेसम्म अनिश्चित भयो,’ आचार्यले भने, ‘मुस्ताङबाट च्याङ्ग्रा ल्याउन करिब सात दिन लाग्ने र बाटोमा जोखिम हुन सक्ने भएकाले समस्या भएको छ । यस विषयमा एक–दुई दिन हेरेर मात्रै निर्णय गरिने छ ।’
कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको छ ।
कम्पनीले यसअघि खसीबोकाका लागि अनलाइन बुकिङ खुला गरेको थियो । सीईओ आचार्यका अनुसार करिब ४०–५० जनाले बुकिङ गरेका छन् । यदि खसीबोकाको बिक्री सम्भव नभए बुकिङ गरिएका ग्राहकको पैसा फिर्ता गरिने उनले बताए ।
‘अब नहुने भयो भने पैसा रिफन्ड गर्छौैं,’ उनले भने, ‘हुने भयो भने त कन्टिन्यु भइहाल्छ ।’
खसीबोका बाहेकका अन्य उपभोग्य वस्तुको कारोबार भने नियमित र यथावत रहने छ । ‘अरू विषयको कारोबार चाहिँ रेगुलर हुन्छ,’ आचार्यले भने ।
पसलहरू कहाँ–कहाँ छन् ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्दै सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सात प्रदेशका विभिन्न शाखा, डिपो र बिक्री केन्द्रमार्फत यो सुविधा प्रदान गर्न लागेको हो ।
कम्पनीका अनुसार पसलहरूको वितरण प्रदेश अनुसार फरक–फरक रहेको छ, जसमा सबैभन्दा धेरै कर्णाली प्रदेशका दुर्गम क्षेत्रलाई समेटेर ४२ स्थान र सबैभन्दा कम मधेश प्रदेशमा ३ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् ।
कम्पनीको योजना अनुसार सबैभन्दा धेरै ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेर कर्णाली प्रदेशका दुर्गम क्षेत्रका बासिन्दालाई राहत दिने तयारी छ । यसअन्तर्गत सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, दैलेख, डोल्पा, रुकुम पश्चिम, कालीकोट र हुम्लाका सदरमुकामदेखि विभिन्न विकट डिपो र बिक्री केन्द्रसम्म सहुलियत दरमा खाद्यान्न पुर्याइने छ ।
कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । कम्पनीले यस प्रदेशका नौ वटै जिल्लालाई समेट्दै कैलाली धनगढी, डडेलधुरा खलंगा, कञ्चनपुर महेन्द्रनगर लगायत प्रमुख बजार साथै बझाङ, बाजुरा, बैतडी, दार्चुला र अछाम सदरमुकामदेखि दुर्गम गाउँसम्मका खरिद–बिक्री केन्द्रमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने छ जसमा रुपन्देही भैरहवा र बुटवल, बाँके नेपालगञ्ज, दाङ तुलसीपुर, बर्दिया राजापुर, गुल्मी तम्घास र बलेटक्सार तथा रुकुम पूर्वको शाखा कार्यालय समावेश छन् । रोल्पा जिल्लामा मात्रै लिवाङ सहित पतलाचौर, घर्तीगाउँ, सुलीचौर र बडाचौरमा समेत गरी पाँच स्थानमा सहुलियत पसल खोलिने छ ।
पूर्वी नेपालको कोशी प्रदेशमा कम्पनीले ११ स्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गर्ने छ । यसअन्तर्गत झापा बिर्तामोड, ताप्लेजुङ, मोरङ विराटनगर, भोजपुर, संखुवासभा सदरमुकाम र सोही जिल्लाको भोटखोला गाउँपालिकास्थित हटियागोला, सोलुखुम्बु, ओखलढुंगा सदरमुकाम र चम्पादेवी गाउँपालिकाको कालिका खरिद बिक्री केन्द्र तथा खोटाङ शाखा कार्यालयबाट सेवा प्रदान गरिने छ ।
गण्डकी प्रदेशका बासिन्दाका लागि ७ स्थानमा सुपथ मूल्य पसलको तयारी गरिएको छ । कम्पनीले कास्की बिरौटा, तनहुँ विमलनगर, गोरखा सदरमुकाम र सिर्दिबास डिपो, लमजुङ सुन्दरबजार, मनाङ र मुस्ताङका शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्ने छ ।
बागमती प्रदेशमा भने ५ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली र ललितपुर नख्खुस्थित खाद्य गोदामबाट सेवा दिइने छ भने उपत्यका बाहिर रसुवा सदरमुकाम धुन्चेमा पनि सहुलियत पसल खोलिने छ ।
सबैभन्दा कम, मधेश प्रदेशका उपभोक्ताका लागि सिरहा लहान, धनुषा जनकपुर र पर्सा वीरगञ्जमा गरी तीन प्रमुख स्थानमा सुपथ मूल्य पसल व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङका देशभरि ४० बिक्री स्थल
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने भएको छ ।
काठमाडौं उपत्यकाका बासिन्दालाई सहज पहुँच सुनिश्चित गर्न कर्पोरेसनले कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन र बालाजु जस्ता मुख्य स्थानमा पसल खोल्ने छ ।

त्यसैगरी भक्तपुर सल्लाघारी र कौशलटार तथा काठमाडौं काँडाघारी र महाराजगञ्ज र ललितपुर इमाडोमा पनि सहुलियत पसल सञ्चालन हुनेछन् । निश्चित स्थानमा पुग्न नसक्ने उपभोक्तालाई लक्षित गर्दै थप सहजताका लागि तीन वटा घुम्ती पसल पनि सञ्चालनमा ल्याइने कर्पोरेसनले जनाएको छ ।
उपत्यका बाहिर पनि कर्पोरेसनले आफ्नो सेवा व्यापक विस्तार गरेको छ । पूर्वी नेपालको बिर्तामोड र विराटनगरदेखि मधेश प्रदेशका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म सुपथ मूल्य पसल खोलिने छन् ।
बागमती प्रदेशका त्रिशूली, हेटौंडा, नारायणगढ र धुलिखेल तथा गण्डकी प्रदेशका पोखरा र बागलुङमा पनि उपभोक्ताले यो सुविधा पाउनेछन् ।
त्यसैगरी लुम्बिनी प्रदेशका भैरहवा, कृष्णनगर र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र बैतडीको पाटनमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।
प्रतिक्रिया 4