
२९ भदौ, विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि बन्द गरेको हो ।
जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।
अराजक समूहले आगजनी गर्दा प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्त्वपूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ ।
तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए । कम्प्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे ।
अदालत असोज २० गतेसम्म बन्द
जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्नेछ ।
आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवाह गर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी र थुनछेक बहस गर्नेछ । मुद्दाको सुनुवाइ असोज २० गतेपछि हुनेछ ।
प्रतिक्रिया 4