+
+
Shares

सेयर बजारमा ठूला संकटपछि बनेका छन् रेकर्ड, दोहोरिएला यसपटक ?

विगत हेर्दा भूकम्प–नाकाबन्दीपछि र कोरोना महामारीका बेला सेयर बजारमा रेकर्ड बनेका थिए, यो राजनीतिक संकटले चाहिँ कता डोहोर्‍याउने हो, हेर्न बाँकी छ ।

कमल नेपाल कमल नेपाल
२०८२ भदौ २९ गते २२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गते भएको विध्वंस घटनापछि संसद विहीन संक्रमणकालीन अवस्था सिर्जना भएको छ र सेयर बजार करिब १० दिनदेखि बन्द छ।
  • सेयर बजार विगतमा भूकम्प र कोरोना महामारीपछि लामो समय बन्द भए पनि पुनः खुल्दा नयाँ रेकर्ड बनाएको इतिहास छ।
  • राजनीतिक अस्थिरता र अन्तरिम सरकारको भूमिका आगामी बजारको गतिमा प्रभाव पार्ने सम्भावना रहेको छ।

२९ भदौ, काठमाडौं। भदौ २३ र २४ गते देशमा भएको विध्वंस घटनापछि मुलुक संसदविहीन, संक्रमणकालीन अवस्थामा छ । जेनजी प्रदर्शनले संसद भवन, सिंहदरबार, बालुवाटार कब्जासँगै आगजनी गरे । सत्ता उलटफेर भयो ।

प्रतिनिधिसभा भंग गरी संसदबाहिरबाट शुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो । यो संकटकालीन अवस्थाले सेयर बजार यतिबेला बन्द छ । एक साताभन्दा बढी समय रोकिएको कारोबार बजार खुलेपछि के होला भन्ने आम जिज्ञासा छ ।

धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०६३ को दफा ९० ले बजारलाई बढीमा ५ दिनसम्म मात्रै बन्द गर्न सकिने परिकल्पना गरेको छ । तर विगतमा पनि भूकम्प तथा कोरोना महामारीका बेला केही महिना नै बजार बन्द गरिएको इतिहास छ। भूकम्पपछि एक महिना बजार बन्द भयो । कोरोना महामारीपछि भने ३ महिनाभन्दा लामो समय बजार बन्द रह्यो ।

हाल सेयर बजारसँग सम्बन्धित सबै सिस्टम तथा डेटा सेन्टर सुरक्षित रहेकाले कारोबारमा असहज छैन । ‘एक ठाउँ मात्रै नभएर भिन्न भिन्न क्षेत्रमा डेटा सेन्टर राखिएको हुन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘कारोबार गर्न असहज छैन ।’

तर लगानीकर्ताले नै बजार बन्द गर्न दबाब दिएपछि करिब १० दिन कारोबार रोकिएको छ । लगानीकर्ता तिलक कोइराला बजार तत्काल नखुलाई, सकारात्मक सन्देश जानेगरी गृहकार्य गरेर मात्रै सञ्चालन गर्नुपर्ने बताउँछन् ।

‘यस्तो बेला धेरै लगानीकर्ताको भावना नकारात्मक बनेको छ’ उनले भने ‘त्यसकारण तत्कालै गर्न सकिने सकरात्मक केही काम अघि बढाएर बजार सञ्चालन गर्न सकिन्छ ।’ अन्यथा बजार सुरुमा धेरै नै त्रसित भएर भारी मात्रामा घट्न सक्ने जोखिम रहेको उनी बताउँछन्।

उनीजस्तै यतिबेला धेरै लगानीकर्ता बजार खुलेपछि उच्च दरले घट्ने त्रासमा छन् । ‘त्रसित वातावरण केही मत्थर भएपछि मात्रै कारोबार उपयुक्त हुन्छ’ उनले भने । त्रसित वातावरणमा माग पक्ष झन् कमजोर भएर बजार अस्वभाविक घट्न सक्ने डर लगानीकर्तामा छ ।

तर विगतका इतिहास हेर्दा ठूला संकटपछि बजार केही दिन घटे पनि दुई/तीन सातामै सम्हालिएर बढ्दै गई रेकर्ड बनेका उदाहरण छन् । बजारप्रति धेरै नकारात्मक हुँदा गुमाउने जोखिम नै बढी हुन्छ । यसअघि २०७२ सालमा गएको भूकम्प तथा नाकाबन्दीलाई हेरौं ।

वैशाखमा गएको भूकम्पपछि सेयर बजार करिब १ महिना बन्द रह्यो । भूकम्पअघि वैशाख ९ गते ९४० हाराहारीमा रहेको बजार एक महिनापछि मात्रै खुल्यो । बजार खुलेपछि त्रसित वातावरणले एक सातामै ८३० अंकसम्म ओर्लियो ।

त्यसपछि उकालो लाग्दै सोही वर्षको भदौ २९ गते १२०० अंकसम्म पुग्यो । सोही वर्षको असोजदेखि भारतले नाकाबन्दी गर्‍यो । नाकाबन्दी सुरु हुँदा बजार करिब ११३० अंकमा झरेको थियो । नाकाबन्दी भए पनि बजार भने बढ्न थाल्यो । यो नाकाबन्दी करिब ६ महिनासम्म लम्बियो ।

नाकाबन्दीका कारण आयात ठप्प भयो, जसले गर्दा पैसाजति सेयर बजारमा भित्रियो । पैसाजति सेयर बजारमा आएपछि २०७३ को साउन १२ गते त्यसअघिका सबै रेकर्ड तोडियो र नेप्सेले १८८१ अंकको उच्चतम रेकर्ड बनायो ।

त्यसपछि फेरि ‘बियरिस’ चरणमा गएको बजार २०७५ माघमा करिब ११३० अंकसम्म झर्‍यो । बजार केही महिना नै ११३० देखि १३०० को बीचमा घुमिरह्यो ।

कोरोनाका बेला पटक पटक कारोबार रोकियो । २०७६ माघमा पहिलो पटक यहाँ कोरोना देखा पर्‍यो । चैतदेखि विकराल रुप लियो चैत ९ गतेदेखि सेयर बजार बन्द गरियो, वैशाख ३० र ३१ गते कारोबार सुरु भए पनि फेरि बन्द गरियो । असार १५ गतेबाट कारोबार सुरु भयो ।

चैत ९ गते नेप्से परिसूचक करिब १२५० अंकमा रहेको थियो । त्यसपछि केही दिन घटेको नेप्से कोरोना महामारी कायम रहँदा नै २०७७ असार १६ गतेदेखि नै बढ्न थालेको तथ्यांकले देखाउँछ । ट्रेन्डमा ‘हायर हाइ, हायर लो’ हुँदै बजारले एक वर्षपछि २०७८ भदौ २ गते अर्को रेकर्ड कोर्‍यो– ३१९८ अंकको ।

सो रेकर्ड आजसम्म कायम छ । २०७३ साउनमा बनेको १८८१ अंकको रेकर्ड तोडिँदै करिब ५ वर्षपछि २०७८ भदौ २ गते ३१९८ अंक रेकर्ड बन्यो । त्यसको करिब ४ वर्ष व्यतित भइसकेको छ ।

५–५ वर्षपछि बजारले नयाँ रेकर्ड बनेको इतिहास दोहोरिने हो भने अब एक वर्षमा बजारले फेरि अर्को उचाइ लिन सक्नेछ ।

‘भूकम्प तथा कोरोना संकटपछि बजार बढेको इतिहास छ, यसपटक पनि नदोहोरिएला भन्न सकिन्न,’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने । भूकम्प र कोरोना महामारीपछि आयात खुम्चिएको र पैसा सेयर बजारतिर मोडिएको उनले बताए ।

लगानीकर्ता सुभासचन्द्र ढुंगाना पनि बजारले यो संकटपछि नयाँ रेकर्ड बनाउन सक्ने बताउँछन् । यद्यपि संकट लगत्तै खुल्ने बजारले केही दिन त्रसित पार्ने गरेको छ । ‘विगतमा भूकम्प र कोरोनापछि नयाँ रेकर्ड बनेका छन्, इतिहास सधैं दोहोरिन्छ भन्ने त छैन, तर बजारप्रति विश्वास कायम छ’ उनले भने ।

भूकम्प र कोरोनापछि लामो समयसम्म आयात प्रभावित भयो, अन्य क्षेत्रमा लगानी गर्न जोखिम ठानियो, जसले गर्दा पैसा बजारमा आयो र नयाँ रेकर्ड बने ।

यतिबेला भने आयात प्रभावित हुने अवस्था छैन । दसैं, तिहार, छठजस्ता पर्व नजिकिएकाले आयात बढ्ने बेला छ । चाडपर्वपछि भने बजारले राम्रो गति लिन सक्ने ढुंगाना बताउँछन् । ‘मंसिरसम्म बजार केही घट्ने वा साइडवेजमा रहन सक्छ’ उनले भने । असोज महिना चाडपर्वसँगै बैंकको साँवा, ब्याज भुक्तानी गर्ने समय भएकाले बजारलाई दवाव रहन्छ ।

विकसित घटनाक्रमले डोहोर्‍याउँछ सूचक, बंगलादेश उदाहरण

प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि चुनाब घोषणा गरिएको छ । ६ महिनामै चुनाब हुनेमा विश्वसनीय आधार बनिसकेका छैनन् । अर्कोतर्फ राजनीतिक दलहरुले संसद विघटनको विरोध जनाएका छन् ।

गठित अन्तरिम सरकारविरुद्ध अदालतमा मुद्दा पर्ने, अदालतबाट हुने छिनोफानो, राजनीतिक दलहरुको भूमिका, चुनावी वातावरणजस्ता पक्ष अबको बजारका लागि महत्वपूर्ण छन् । राजनीतिक माहोल थप बिग्रिने अवस्था आएमा बजार घट्न पनि सक्नेछ । त्यसैले इतिहासका आधारमा मात्रै लगानीको निर्णय पनि जोखिमपूर्ण हुन सक्ने जानकार बताउँछन् ।

‘बजार खुलेपछि सुरुमा त केही त्रसित नै बनाउन सक्छ, तर त्यो त्रसित अवस्था पक्कै लामो समय जाँदैन’ ढुंगानाले भने ‘अब विकसित घटनाक्रमले पनि बजारलाई धेरै हदसम्म प्रभाव पार्छ ।’

नेपालको अहिलेको घटनाक्रमजस्तै विगतमा बंगलादेशले ब्यहोरिसकेको छ । बंगलादेशमा विद्यार्थीले १ जुलाई २०२४ देखि आन्दोलन थाले । आरक्षित कोटाविरुद्धको सो प्रदर्शनले सत्तामै उलटफेर गरिदियो । प्रदर्शनका बेला ढाका स्टक एक्स्चेन्ज (डीएसई) इन्डेक्स ५७५० हाराहारीमा थियो । हड्तालपछि बजार झन् ओरालो लाग्यो ।

चुनाबको अनिश्चितताले १० महिनासम्म डीएसई ओरालो लाग्यो । २०२५ मे महिनामा ४६५० हाराहारीमा झर्‍यो । २०२६ फेब्रुअरीका लागि चुनाव तय भएसँगै अहिले ५५०० हाराहारीमा छ । चुनाबको वातावरणमा सुधार देखिएकै कारण बंगलादेशको मार्केट उकालो लागेको हो । तसर्थ आगामी राजनीतिक वातावरणले यहाँको बजारलाई प्रभाव पार्नेछ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?