+
+
Shares

जेनजी प्रदर्शनमा ज्यान गुमाएका २७ जनाको शव परिवारले बुझे

शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन-जी प्रदर्शनमा मृत्यु भएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ।
  • २७ जनाको शव परिवारले बुझेका छन्।
  • प्रहरीका अनुसार देशभर प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
  • १६ शवको पोस्टमार्टम बाँकी छ।

३० भदौ, काठमाडौं । जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ । तीमध्ये २७ जनाको शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ ।

फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ ।

पोस्टमार्टम गर्न बाँकीमध्ये ७ वटा शव पूर्ण रूपमा जलेका छन्,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘ती शव चिन्न सक्ने अवस्थाका छैनन् । हामी डीएनए परीक्षणबाट शव पहिचान गर्छौं ।’

उनका अनुसार ती शवको पोस्टमार्टम गर्न लामो समय लाग्छ । अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने डा. चौधरीले बताए ।

उनका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।

‘हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन शव कसको हो भनेर पहिचान गर्न पोस्टमार्टम गर्नुपर्छ,’ डा. चौधरी भन्छन्, ‘एकैपटक धेरै जनाको मृत्यु भयो भने मृतकको पहिचान गर्न गाह्रो हुन्छ ।’

आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्काको विवरण हेरेर पहिचान गरिने उनले जानकारी दिए ।

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ- फिङ्गर प्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण । केही शव अत्यधिक जलेका कारण डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्छ ।

‘सात शव जलेर नचिनिने अवस्थामा छन् । उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट (स्टिल) हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव दिन सकिन्छ,’ डा. चौधरीले भने ।

सरकारले जेन-जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् ।

यस्तै सरकारले मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?