+
+
Shares

ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास

कृष्णप्रसाद कोइरालाले बनाएको यो घरले तीनवटा प्रधानमन्त्री दियो । मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला यही घरबाट प्रधानमन्त्री बनेका थिए ।

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ ३० गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको अस्पतालचोकस्थित डा. शेखर कोइरालाको निवासमा मंगलबार बेलुका अराजक समूहले आगजनी गरेको छ।
  • कोइराला निवास १२० वर्षभन्दा पुरानो राजनीतिक धरोहर हो जसले तीन प्रधानमन्त्री दिएको थियो र क्रान्तिको इतिहास बोकेको छ।
  • आगजनीपछि निवास खण्डहर बनेको छ र डा. शेखर कोइरालाले पुनर्निर्माणका लागि कामदार खटाएका छन्।

३० भदौ, विराटनगर । जेन-जी प्रदर्शनका क्रममा मंगलबार बेलुका विराटनगरको अस्पतालचोकस्थित डा. शेखर कोइरालाको निवासमा आगजनी भयो ।

अराजक समूहको आगजनीबाट कोइरालाको घर मात्रै जलेन, नेपालमा राजनीतिक र शैक्षिक चेतनाको इतिहास नै धुजाधुजा भयो ।

त्यो त्यही घर थियो, जहाँबाट १०४ वर्षे जहानियाँ राणा शासन अनि ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था अन्त्यका लागि क्रान्तिको बिगुल फुकिएको थियो ।

कृष्णप्रसाद कोइरालाले बनाएको यो घरले तीनवटा प्रधानमन्त्री दिएको थियो । मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला यही घरबाट प्रधानमन्त्री बनेका थिए ।

विराटनगरको कोइराला निवास कांग्रेस कार्यकर्ताका लागि तीर्थस्थल जस्तै थियो । विराटनगर आउने राजनीतिक चेतना भएका व्यक्तिहरू एक पटक कोइराला निवास पुगेर मात्र फर्कन्थे ।

समग्र विराटनगरको सान थियो कोइराला निवास । राजनीतिक चेतनाको त्यही अराजक समूहको आगजनीले निमेषभरमै खरानी भयो ।

‘यो घर हाम्रो राष्ट्रको धरोहर थियो । आँखै अगाडि जल्दा पनि केही गर्न सकिएन,’ कांग्रेस नेतृ विजयता अधिकारीले भनिन्, ‘प्रहरी बोलाइयो, दमकल बोलाइयो, तर आएन ।’

कोइराला निवास जलिरहँदा उनी डाँको छोडेर रुनबाहेक केही गर्न सकिनन् । अझै पनि उनको आँसु थामिएको छैन । ‘धरोहर जलिरहँदा टुलुटुलु हेरेर बस्नुको विकल्प रहेन,’ विजयताले भनिन्,‘ यो घर मात्रै थिएन, परिवर्तनको जीवित इतिहास थियो ।’

विजयता २०४४ सालदेखि कोइराला निवाससँग नजिक थिइन् । अराजक समूहले गरेको आगजनीपछि उनको मन अझै थामिएको छैन ।

कोइराला निवासलाई मन्दिरको रूपमा मान्नेहरू आगजनीपछि विछिप्त छन् । ‘यो हाम्रा लागि मन्दिर थियो । बाटो हिँड्दा श्रद्धाले शिर निहुरिन्थ्यो । इतिहास मेट्ने प्रयास भयो,’ विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर तथा कांग्रेस नेतृ इन्दिरा कार्की भन्छिन्, ‘कोइराला निवास आम नेपालीले श्रद्धापूर्वक हेर्ने ठाउँ हो ।’

खण्डहर कोइराला निवास देख्दा उनको पनि मन थामिएको छैन । अराजक समूहले नेपाली नागरिकले श्रद्धापूवर्क हेर्ने धरोहर खरानी बनाएको उनको गुनासो छ । ‘इतिहास खरानी बनाउँदा मन दुखेको छ,’ इन्दिराले भनिन् ।

काठमाडौंमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवास र विराटनगरको कोइराला निवासलाई हेर्ने नजर प्रजातन्त्रवादीहरूका लागि सम्मानित थियो ।

राणा शासनविरुद्ध कृष्णप्रसाद कोइरालाले बिगुल फुग्दा यो निवास साक्षी थियो । आन्दोलन र पार्टीको काम यही घरबाट भएको थियो ।

गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण राजनीतिक घोषणा गर्दा यही घर रोज्थे । पूर्वप्रधानमन्त्री बीपी कोइराला र मातृका कोइरालाको राजनीतिक चेत र आन्दोलन पनि यही घरबाट हुर्किएको थियो ।

कृष्णप्रसादले बनाए, केशवले संरक्षण गरे

कृष्णप्रसाद कोइरालाले यो घर बनाएको मिति ठ्याक्कै थाहा छैन । तर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले सर्वश्वहरण गर्दा कृष्णप्रसाद विराटनगरको यही घर छाडेर हिँडेका थिए ।

यो घर १२० वर्ष भन्दा पुरानो भएको कांग्रेस नेताहरू बताउँछन् । त्यसबाहेक यो घर चार पटक निर्माण-पुनर्निर्माण गरिएको थियो ।

कृष्णप्रसाद कोइरालाले बनाएको घर सानो भएपछि २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ दुई वटा कोठा थप गरे ।

निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला नेपाल फर्किएपछि २०३४ सालमा उत्तरतर्फ दुईवटा कोठा थपियो । संरचना पनि पक्की बनाइएको थियो । त्यसपछि २०५२ सालतिर बीपीले प्रयोग गर्ने कोठालाई बैठक कक्ष बनाएर गिरिजाप्रसाद कोइरालाले अर्को कोठा थप गरे ।

कोइराला निवासका बारेमा जानकार पत्रकार अनन्तराज न्यौपानेका अनुसार कृष्णप्रसादले बनाएको घरको स्वरूप नबिगारी उत्तरतर्फ संरचना थप गरिएको थियो ।

अराजक समूहले लगाएको आगोले कृष्णप्रसादले बनाएको घर खण्डहर भयो । बीपी र गिरिजाप्रसादका लागि बनाएको घरको संरचना भने बाँकी छ । भित्रका सबै सामग्री जलेको छ ।

खरानी पन्छाएर डा. शेखर कोइरालाले घर पुर्ननिर्माण गर्दैछन् । गिरिजाप्रसाद कोइरालाले थपेको संरचना पुनर्निर्माणका लागि कामदार खटिएका छन् । पुरानो घर कसरी पुनर्निर्माण गर्ने भन्ने टुंगो छैन । घर बनाउने ठेकेदार डा. कोइरालाको निर्देशन पर्खिरहेका छन् ।

कोइराला परिवारमा अंशबण्डा हुँदा राजनीतिक बिरासत बोकेको घर डा. शेखर कोइरालाको भागमा परेको थियो । उनी बीपी र गिरिजाप्रसाद कोइरालाका भतिज हुन् ।

शेखरका बुबा केशव कोइरालाले कांग्रेसको सक्रिय राजनीति नगरे पनि राजनीतिक आन्दोलनमा होमिएका दाजुभाइलाई सघाए । घरव्यवहार सम्हाले ।

बीपीपुत्र डा. शशांक कोइरालासहितका सन्तानले विराटनगरको सबै जग्गा बेचे । सुजाता कोइरालाले आफ्नो भागमा परेको केही जग्गा बेचिन् ।

कोइराला निवास अगाडि थोरै जग्गा उनले राखेकी छिन् । अहिले दाजुबहिनीको घरको बीचमा पर्खाल छ । राजनीतिमा पनि उनीहरू एकअर्काका विरुद्ध उभिएका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?