काठमाडौँ। नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भारत र चीनका दुई प्रतिष्ठित शैक्षिक संस्थासँग शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्दै आफ्नो अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाएको छ।
कलेजले हालै भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्)सँग समझदारी गर्दै विद्यार्थी तथा संकाय आदान–प्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदान–प्रदान गर्ने सहमति गरेको छ।
दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखेका छन्। यस सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक उत्पादन हुने विश्वास व्यक्त गरिएको छ।
उक्त समझदारीमा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा. बुद्धि मान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीक मान श्रेष्ठ, माइन्डस् तर्फबाट अध्यक्ष के. पी. रमेशकुमार र प्रिन्सिपल प्रा. डा. अनिल मलेथले हस्ताक्षर गरेका छन्।
यस्तै, कलेजले चीनको हुवेई युनिभर्सिटी अफ मेडिसिनसँग पनि पाँच वर्षे समझदारी गर्दै शिक्षा, वैज्ञानिक अनुसन्धान, अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन, शैक्षिक सहकार्य, सांस्कृतिक आदान–प्रदान तथा आपसी मित्रता वृद्धिका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति गरेको छ।
एमओयूमा संयुक्त स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम, संकाय सदस्य र विद्यार्थी आदान–प्रदान, संयुक्त वैज्ञानिक अनुसन्धान र शैक्षिक सम्मेलनको आयोजना जस्ता गतिविधिहरू समावेश छन्। पाँच वर्षका लागि प्रभावकारी रहने यस समझदारीलाई दुवै पक्षको सहमतिमा पुनः नवीकरण गर्न सकिनेछ।
सम्झौतामा हुवेई युनिभर्सिटी अफ मेडिसिनका उपाध्यक्ष प्रो. यान शिजोंग र कान्तिपुर डेन्टल कलेजका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यी दुई महत्वपूर्ण सहकार्यले कान्तिपुर डेन्टल कलेजलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी दन्त शिक्षा र स्वास्थ्य अनुसन्धानको केन्द्रका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4