+
+
Shares
जेनजी आन्दोलन :

बुबा नेता, घर ध्वस्त, त्यही ठाउँमा छोराको कला प्रदर्शनी

समग्रमा यो प्रदर्शनीको सबैभन्दा चाखलाग्दो पक्ष यसको पृष्ठभूमि हो ।

सापेक्ष सापेक्ष
२०८२ असोज ३ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका कलाकार सफल राम श्रेष्ठले जेनजी आन्दोलनमा तोडफोडमा परेको आफ्नै घरलाई कला प्रदर्शनको केन्द्र बनाएका छन्।
  • १ असोजदेखि सुरु भएको \'द क्रियटर्स अफ टुमारो\' नामक प्रदर्शनीमा घरको बिग्रिएको भित्री भागलाई यथावत राखेर पोर्ट्रेट र फुटाइएका फर्निचर प्रदर्शन गरेका छन्।
  • यस प्रदर्शनीमार्फत देशमा भएको परिवर्तनको दिशा र दशामाथि प्रश्न उठाएको छ ।

कला क्षेत्रमा एउटा उक्ति छ-कला प्रदर्शन गर्न कुनै निश्चित ठाउँ चाहिँदैन । काठमाडौंका सफल राम श्रेष्ठले यही कुरा पुन: प्रमाणित गरेका छन् ।

अहिले उनले जेनजी आन्दोलनका क्रममा तोडफोडमा परेको घरलाई कला प्रदर्शनको केन्द्र बनाएका छन् । जुन घर एक नेताको हो । तर उनले नेताको नाम खुलाएका छैनन् । संयोग के छ भने ती नेता उनका पिता हुन् ।

यस प्रदर्शनीको नाम ‘द क्रियटर्स अफ टुमारो’ दिइएको छ । १ असोजदेखि सुरु भएको यो प्रदर्शनी भोलि शनिबारसम्म हुनेछ ।

कला प्रदर्शनी गरिएको घर डल्लु आसपास छ । त्यहाँसम्म पुग्न सफलले आफ्नो सामाजिक सञ्जालमा गुगल म्याप राखिदिएका छन् ।

सन् १९९८ मा जन्मेका सफल चीनको सेन्ट्रल एकेडेमी अफ फाइन आर्ट्सबाट स्नातक उत्तीर्ण हुन् । उनलाई आफ्नै घर भएकाले पनि कला प्रदर्शन गर्न सजिलो भएको हो । उनी त्यहीँ बस्दै आइरहेका थिए । तर, भदौ २४ गते धेरै नेताका घरहरू प्रदर्शनकारीको आँखामा पर्दा उनको घर पनि निशानामा पर्‍यो ।

भड्किएको भीडले घरलाई क्षतविक्षत अवस्थामा छाडिए । उनको कला मन पग्लियो । यस प्रदर्शनीलाई उनी आफ्नो नभएर समग्र जेनजीको भएको बताउँछन् ।

आखिरीमा यो कुनै सामान्य कला प्रदर्शनी होइन । यसमार्फत उनले गम्भीर प्रश्नहरू उठाउन खोजेका छन् । उनका अनुसार देशमा भइरहेको भनिएको ‘परिवर्तन’ को दिशा र दशा यस प्रदर्शनीमार्फत देखाउन खोजिएको छ ।

उनको घरको भित्री भागका प्रायजसो ठाउँहरू तोडिएको छ । उनले ती सबैलाई त्यस्तै छाडेर भित्ताहरूमा केही पोर्ट्रेटहरू राखेका छन् । ती कुनै पनि पोर्ट्रेटहरूमा खुसीको भाव देखिँदैन । अनुहारमा केवल नैराश्यता, आर्चना, आवेग, आक्रोश, दु:ख मात्र देखिन्छ ।

यतिसम्म कि केही पोर्ट्रेटहरू च्यातिएका छन् । अनि ती सबैलाई मिलाएर फ्रेममा राखिएको छैन । जुन आफैंमा शक्तिशाली बिम्ब हो ।

त्यस्तै फुटाइएका फर्निचरहरू पनि जस्ताको जस्तै राखिएको छ । अनि एउटा मोनिटरमा उग्र प्रदर्शनकारीहरूको गतिविधि पनि देखाइएको छ । दुई दिने आन्दोलनमा कलाकारले जे देखे, जे भोगे, त्यही नै प्रदर्शनमा राखेका छन् ।

समग्रमा यो प्रदर्शनीको सबैभन्दा चाखलाग्दो पक्ष यसको पृष्ठभूमि हो । किनकि बिगारिएको घर, अर्थात् विनाशलाई नै कलाकारले कलात्मक अभिव्यक्तिको माध्यम बनाएका छन्।

‘मेरो घरमा जति थियो, सबै नै बिगारेर गइदिए । अनि मैले त्यसैलाई एक्जिबिसनको माध्यम बनाएको हुँ,’ उनी भन्छन् ।

यसरी प्रदर्शनीमार्फत उनले देशमा गणतन्त्र स्थापनापछि भएका घटनाक्रम र ‘परिवर्तन’ को नाममा भएका विकृतिहरूमाथि टिप्पणी गर्ने प्रयास गरेका छन् । उनको मुख्य उद्देश्य हेर्न जाने दर्शकलाई नेताको नाममा ध्वस्त बनाइएको घरको यथार्थ दृश्य देखाएर सोच्न बाध्य बनाउनु हो ।

‘यो दृश्य देखाएर मान्छेहरूलाई प्रश्न गर्न मैले खोजेको छु । के उनीहरूले चाहेको यही हो त ?’ उनी भन्छन् ।

 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?