
४ असोज, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासको डा. डाक्टर शेखर कोइरालाले अनुगमन गरेका छन् । आगजनीका क्रममा देश बाहिर रहेका कोइराला शनिबार निवास पुगेका थिए ।
आगलागीले खण्डहर भएको ऐतिहासिक निवास हेरेपछि बोल्दा बोल्दै उनको बोली अड्कियो ।
डाक्टर शेखर निवास पुग्दा कांग्रेस कार्यकर्ताहरू उपस्थित थिए । उपस्थित भएका कार्यकर्ताले घरको बारेमा चासो राखे । जवाफमा कोइालाले भने, ‘यो लोकतन्त्रको धरोहर होे, यसलाई उठाउनुपर्छ, म उठाउँछु ।’
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई फाटेको भोटो पठाएर कृष्णप्रसाद कोइरालाले कोइराला निवासबाटै राणा शासनविरुद्ध आन्दोलनको विगुल फुकेका थिए ।
यो घर सामान्य घर मात्रै थिएन, नेपाली राजनीतिक परिवर्तनको इतिहास थियो ।
अराजक समूहले आगजनी गर्दा इतिहास जलेर खरानी भयो । खण्डहर इतिहास देख्दा डाक्टर कोइरालाको मन भारी भएको छ ।
‘यो घर होइन, यसको इतिहास भएर हो नि तपाईंहरू पनि आउनुभएको, म त यहीं जन्मिएँ, यही हुर्किएँ, यहीं पढें, यहीं बसें’ यति भनेपछि उनको बोली अड्कियो र हात जोडेर उनी बाहिरिए ।
‘कोइराला निवास किन जल्यो, यो लोकतन्त्रको पर्यायवाची थियो’ उनले भने, ‘यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो, कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो यो ।’
पत्रकार सम्मेलनका क्रममा उनले प्रश्न गरे, ‘यो घर जल्दा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ?’
कृष्णप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला तथा नोना कोइरालाले सुरु गरेको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने कोइरालाले बताए । ‘आज जे छु जस्तो छु सबै यही घरले बनाएको हो’ उनले भने, ‘घरको इतिहास त जल्यो, यहींबाट हामी फेरि उठ्छौं, उठेर अगाडि बढ्छौं ।’
कृष्णप्रसाद कोइरालाले बनाएको कोइराला निवासबाट मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए ।
विराटनगरको कोइराला निवास कांग्रेस कार्यकर्ताहरूका लागि तीर्थस्थल जस्तै थियो ।
विराटनगर आउने राजनीतिक चेतना भएकाहरू एक पटक हेर्नकै लागि कोइराला निवास पुग्थे ।
‘यो हाम्रो मन्दिर जस्तै थियो, बाटो हिंड्दा मन्दिरमा जस्तै श्रद्धाले शिर नहुरिन्थ्यो, इतिहास मेट्ने प्रयास भयो’ विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर तथा कांग्रेस नेतृ इन्दिरा कार्की भन्छिन्, ‘कोइराला निवास आम नेपालीले श्रद्धापूर्वक हेर्ने ठाउँ हो ।’
यो घर १२० वर्ष भन्दा पुरानो हो । त्यसबाहेक चार पटक घर बनाइएको थियो ।
कृष्णप्रसाद कोइरालाले बनाएर घर सानो भएपछि उत्तरतर्फ केशव कोइरालाले २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि २ वटा कोठा थपेका थिए । केशव डाक्टर शेखरका बुवा हुन् ।
निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला फर्किएपछि २०३४ सालमा उत्तरतर्फ दुईवटा कोठा थपियो । त्यसपछि २०५२ सालतिर बीपीका लागि बनाएको कोठालाई बैठक कक्ष बनाएर गिरिजाप्रसाद कोइरालाले अर्काे कोठा थप गरे ।
कृष्णप्रसादले बनाएको घरको स्वरुप नबिगारी उत्तरतर्फ संरचना थप गरिएको थियो । आगजनीबाट कृष्णप्रसादले बनाएको घर ध्वस्त भएको छ । पछि थपेका भौतिक संरचना पनि क्षतविक्षत छ ।
खरानी पन्छाएर डाक्टर शेखर कोइरालाले घर पुनर्निर्माण गर्दैछन् । निर्वाचनअघि नै घर बनाइसक्ने डाक्टर कोइरालाको योजना छ । ‘चुनाव यही घरमा बसेर खटिनुपर्ला’ उनले भने, ‘अहिले यहाँ बस्न पानी–बत्ती छैन ।’
केशवले कांग्रेसको सक्रिय राजनीति नगरे पनि राजनीतिक आन्दोलनमा होमिएका दाजुभाइलाई सघाए । घरव्यवहार सम्हालेका थिए । त्यही भएर यो घर डाक्टर शेखरको भागमा परेको थियो । शेखरले घरलाई संरक्षण गरिरहेका थिए ।
गाई भेटियो
डाक्टर शेखरको घरमा आगजनी हुँदा चोरी र लुटपाट पनि भएको थियो । उनको घरबाट चोरी भएको गाई भेटिएको छ ।
नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईंका अनुसार कोइराला निवासबाट चोरी भएको गाई विराटनगरकै अमरटोलमा भेटिएको हो ।
चुनावपछि संविधान सही ट्रयाकमा
जेनजी आन्दोलनपछि पहिलो पटक विराटनगर आएका डाक्टर कोइरालाले फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे । संविधानको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।
‘सरकारले यो संविधानमा भएको प्रावधानलाई टेकेर ६ महिनाभित्र चुनाव गर्ने भनेको छ’ कोइरालाले भने, ‘अहिले संविधान डिरेल भएको छ, तर यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचनबाटै हो ।’
उनले चुनावको तयारीमा जान पनि नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गरे ।
देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको उनको भनाइ छ । ‘संविधानलाई धेरै नचलाई न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं’ उनले भने, ‘संविधान डिरेल हुनबाट जोगिएको छ ।’
प्रतिक्रिया 4