+
+
Shares

नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते ११:०४

५ असोज, काठमाडौं । शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरे । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो ।

स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न सक्ने जनाएको छ । नेदरल्याण्डमा अक्टोबर २९ मा आमनिर्वाचन हुँदैछ । निर्वाचनको मुखमा त्यहाँ हिंसात्मक प्रदर्शन भएको हो ।

यस वर्ष ४४ हजार ५५ जना शरणार्थी तथा उनका परिवारका सदस्य नेदरल्यान्ड आएका छन् । सन् २०२४ मा सिरियाबाट ४४ प्रतिशत शरणार्थी आएका छन् भने इराक, टर्की, इरिट्रिया र यमनबाट करिब ५ प्रतिशत शरणार्थी आएका छन् ।

डच झण्डा र दक्षिणपन्थी समूहका झण्डा बोकेका प्रदर्शनकारीहरूले प्रहरीसँग हिंसात्मक झडप गरेका थिए । उनीहरूले ढुङ्गा र बोतल प्रहार गरेका थिए ।

हिंसात्मक प्रदर्शनमा एक प्रहरी गाडीमा आगजनी गरियो भने केही प्रदर्शनकारीले प्रदर्शन स्थल नजिकैको राजमार्ग केही समयका लागि बन्द गरिदिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूले सेन्टर-लेफ्ट डट पार्टीको मुख्यालयका धेरै झ्याल फुटाएका थिए । डटका नेता रोब जेतेनले एक्समा लेखेका छन्, ‘गुण्डागर्दी ! राजनीतिक दलहरूलाई छुन सक्दैनौ । यदि तिमीहरूले हामीलाई डराउन सकिन्छ भनेर सोचेका छौ भने गलत हो । हामी कहिल्यै पनि चरमपन्थी हुलदंगाकारीहरूलाई हाम्रो देश खोस्न दिने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?