+
+
Shares

प्यालेस्टाइनलाई कुनकुन देशले दिए मान्यता ? इजरायलसँगको विवाद के हो ?

सन् १९४७ मा संयुक्त राष्ट्रसंघले यी दुई बीचको विवादको समाधान निकाल्न प्रस्ताव गरेपनि कार्यान्वयन हुन सकेन । सन् १९४८ मा इजरायल देशका रूपमा स्थापित भयो । लाखौँ प्यालेस्टाइनी विस्थापित भए । त्यतिबेलादेखि नै वेस्ट बैंक, पूर्वी जेरुसेलम र गाजा स्ट्रिप यी दुई देशबीच विवादको मूल जड बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायत, अष्ट्रेलिया, क्यानडा र पोर्चुगलले प्यालेस्टाइनलाई स्वतन्त्र देशको आधिकारिक मान्यता दिएका छन्।
  • संयुक्त राष्ट्रसंघमा सोमबार थप युरोपेली देशहरूले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने अपेक्षा गरिएको छ।
  • इजरायलले गाजामा गरेको आक्रमणमा ६५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु र एक लाख ५० हजारभन्दा बढी घाइते भएका छन्।

६ असोज, काठमाडौं । इजरायली आक्रमणको सामना गरिरहेको प्यालेस्टाइनलाई बेलायतसहितका शक्ति राष्ट्रहरूले स्वतन्त्र देशको मान्यता दिएका छन् ।

आइतबार प्लालेस्टाइनलाई बेलायत, अष्ट्रेलिया, क्यानडा, पोर्चुगलले आधिकारिक रूपमा छुट्टै देशको मान्यता दिएका थिए ।

सोमबार संयुक्त राष्ट्रसंघको सम्मेलनमा थप युरोपेली देशहरूले समेत प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

फ्रान्स, बेल्जियम, लक्जेमबर्ग, सेन मरिनो र माल्टाले समेत प्यालेस्टाइनलाई देशको मान्यता दिने अपेक्षा छ ।

संयुक्त राष्ट्रसंघमा आवद्ध १९३ देशमध्ये १५१ देशहरूले यसअघि नै प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिइसकेका थिए । यसरी मान्यता दिनेमा अधिकांश मध्यपूर्वी, अफ्रिकी, एशिया, ल्याटिन अमेरिकाका देश छन् ।

सोमबार थप ६ युरोपेली देशले प्यालेस्टाइनलाई मान्यता दिएमा मान्यता नदिने देशको संख्या झन् थोरै हुनेछ हुनेछ ।

अमेरिका, इजरायल, इटली र जर्मनीले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने संकेत देखिँदैन ।

न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि प्लालेस्टाइनलाई छुट्टै देशको मान्यता दिनेबारे विचार गरिरहेका प्रतिक्रिया दिएका छन् ।

तर यसै साताभित्र त्यस्तो कुनै निर्णय सार्वजनिक नहुने उनले बताएका छन् ।

प्यालेस्टाइनको इतिहास

प्यालेस्टाइनको भूभाग प्राचीन समयमा रोमन साम्राज्य, बाइजेन्टाइन, इस्लामी खलीफा हुँदै ओटोमन साम्राज्यसम्म विभिन्न शासकहरूको अधीनमा रह्यो ।

सन् १९१७ मा प्रथम विश्वयुद्धपछि ओटोमन साम्राज्य पतन हुँदै यो भूभाग ब्रिटिश म्यान्डेटमा पर्यो ।

संयुक्त राष्ट्रसंघले सन् १९४७ मा दुई राज्य (यहूदी र अरब) बनाउने योजना प्रस्ताव गरे पनि अरब पक्षले स्वीकार नगरेपछि द्वन्द्व चर्कियो ।

सन् १९४८ मा इजरायलको स्थापना भएसँगै लाखौँ फिलिस्तीनी विस्थापित भए, जसलाई नक्बा भनिन्छ ।

१५ नोभेम्बर १९८८ मा प्यालेस्टाइनी मुक्ति संगठन (पीएलओ) ले अल्जेरियामा बसेर ‘स्टेट अफ प्यालेस्टाइन’ घोषणा गर्‍यो ।

संयुक्त राष्ट्रसंघले सन् २०१२ मा प्यालेस्टाइनलाई ‘नन मेम्बर अब्जर्भर स्टेट’ को दर्जा दिएको छ । तर, प्यालेस्टाइनले हालसम्म पूर्ण सदस्यता पाएको छैन ।

इजरायलसँगको विवाद के हो ?

लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीच भूमि र सार्वभौमिकताका विषयमा विवाद रहँदै आएको छ ।

सन् १९४७ मा संयुक्त राष्ट्रसंघले यी दुई बीचको विवादको समाधान निकाल्न प्रस्ताव गरेपनि कार्यान्वयन हुन सकेन । सन् १९४८ मा इजरायल देशका रूपमा स्थापित भयो । लाखौँ प्यालेस्टाइनी विस्थापित भए ।

त्यतिबेलादेखि नै वेस्ट बैंक, पूर्वी जेरुसेलम र गाजा स्ट्रिप यी दुई देशबीच विवादको मूल जड बनेको छ ।

भूमध्यसागरको किनारमा रहेको गाजा स्ट्रिप करिब २० लाखभन्दा बढी प्यालेस्टाइनी बसोबास गर्ने बाक्लो जनसंख्या भएको सानो क्षेत्र हो ।

सन् १९६७ को ‘सिक्स–डे वार’ मा इजरायलले वेस्ट बैंकसँगै गाजा कब्जा गर्‍यो ।

सन् १९९० को दशकमा भएको ‘ओस्लो सम्झौता’ पछि केही स्वशासन प्यालेस्टाइनी प्राधिकरणलाई दिइए पनि सन् २००७ देखि गाजा हमासको नियन्त्रणमा छ ।

इजरायलले गाजामा कडा नाकाबन्दी लगाउँदै आएको छ, जसले आवागमन, व्यापार र आधारभूत सेवामा गम्भीर असर पारेको छ ।

भूमिको स्वामित्व, जेरुशेलमको दर्जा, विस्थापित शरणार्थीको हक र सुरक्षासम्बन्धी चिन्ताले गर्दा इजरायल र प्यालेस्टाइनबीचको विवाद अझै समाधान हुन सकेको छैन ।

गाजासहितका क्षेत्रमा इजरायलले गरेको आक्रमणमा हालसम्म ६५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् । त्यहाँ बालबालिकासहित ठूलो जनसंख्या कुपोषण र भोकमरीको चपेटमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?