
६ असोज, गोरखा । गण्डकी गाउँपालिकाको ड्रोन क्यामेरा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै हराएको पाइएको छ ।
करिब तीन लाख मूल्यको उक्त ड्रोन क्यामेरा गत भदौ २३ गतेदेखि २९ गतेको बीचमा हराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।
ड्रोन फेला पारेमा पालिकामा बुझाइदिन आग्रह गरिएको छ ।
दोस्रो स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए लगत्तै पालिका अध्यक्ष दीपक तिमिल्सिनाले निर्णय गराउँदै पालिकाबाट ड्रोन क्यामेरा खरिद गरेका थिए ।
योजना अनुगमन र नदीजन्य पदार्थ (ढुंगा, गिटी, वालुवा) चोरी निकासीको नियमन गर्ने उद्देश्यले ड्रोन खरिद भएको सूचना प्रविधि अधिकृत अस्मिता पन्तले बताइन् ।
‘दोस्रो स्थानीय तहको निर्वाचनपछि पालिकाले ड्रोन क्यामेरा खरिद गरेको हो,’ उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हुन्थ्यो, त्यहीँबाट हरायो ।’
कार्यालयबाटै ड्रोन हराउनु पालिकाको गैरजिम्मेवारपन भन्दै जनस्तरमा आलोचना हुन थालेको छ ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंसँग बुझ्न खोज्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । तर, ड्रोन हराएको सूचनामा भने उनैले जारी गरेका हुन् ।
प्रतिक्रिया 4