७ असोज, जनकपुरधाम । बाराको कलैया नगरपालिकाले अदालतको आदेशविपरीत व्यक्तिको निजी घर डोजर लगाएर भत्काएको छ ।
कलैया उपमहानगरपालिका–१ का शेषनन्दन प्रसाद साह कानुको घर सोमबार सडक उपमहानगरले बलपूर्वक तोडफोड गरेको हो ।
पीडितका अनुसार सडक विस्तारको क्रममा एकतर्फ मात्र निजी सम्पत्तिबाट घर भत्काउन सूचना जारी तथा वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले चेतावनी दिएका थिए । त्यसपछि कानु उच्च अदालत वीरगञ्जमा उपमहानगरविरुद्ध भदौ २९ गते रिट निवेदन दिएका थिए ।
रिटउपर सुनुवाइ गर्दै पुर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले असोज २ गते विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको थियो । निवेदनको अन्तिम टुंगो नलागेसम्म धनीको मन्जुरी विना कुनै किसिमको हस्तक्षेप नगर्न आदेशमा उल्लेख छ ।
अदालतको आदेश लिएर कानु निवेदनसहित असोज ५ गते उपमहानगरपालिकामा पुगेका थिए । कानुका छोरा कुन्दन गुप्ताका अनुसार उनका बुबा कानुन निवेदन लिएर पुग्दा दर्ता गरेनन् । सोमबार विहान पनि मेयर विनोद साहसमक्ष पुगेपछि अदालतको आदेश आइसकेकाले नभत्काउने आश्वासन दिएका थिए । तर, दिउँसो साढे १२ बजे नगरप्रहरी र डोजरसमेत लिएर घर भत्काएर क्षति पुर्याएको पीडित गुप्ताले बताए ।
‘अदालतको आदेश देखाउँदा देखाउँदै पनि मेरो घर भत्कायो । मेयरलाई फोन गरेर तोडफोड गरिरहेको गुनासो गर्दा अदालतको आदेशले केही हुनेबाला छैन जवाफ दिनुभयो । प्रहरीलाई फोन गरेर जानकारी गराउँदा आएनन्’, उनले भने ‘यो त अदालतको अब्हेलना र हाम्रो परिवारमाथि अन्याय हो ।’
उनले हेल्लो सरकारमा उपमहानगरमाथि उजुरी दिएका छन् । यस विषयमा मेयर साहसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया 4