
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा महावीर पुनले शपथ लिएका छन्। वैज्ञानिक उपकरण निर्माण र आविष्कारको क्षेत्रमा उनले व्यक्तिगत पहलमै राज्यले समेत गर्न नसकेका नमूनायोग्य कामहरू गरेका छन्। आम जनताका बीचमा उनको जुन खालको स्वच्छ छवि निर्माण भएको थियो त्यसैले पनि उनी यस पदमा पुगेका हुन् भन्न सकिन्छ। प्राविधिक क्षेत्रसँग निकट र त्यसै क्षेत्रको विकासमा निरन्तर लागिरहेको हुनाले नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा उनको भूमिका अहम् हुने विश्वास गरिएको छ।
नेपालमा मन्त्रीहरू आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायमा पदेन रूपमा कुनै न कुनै पदमा रहने पहिलेदेखि नै चल्दै आएको व्यवस्था हो। कतिपय मन्त्रीहरूलाई त कुन-कुन ठाउँमा कुन-कुन पदमा रहेको छु भन्ने समेत हेक्का नहुन सक्छ। यसका नाफा–घाटाहरू के-के छन् त्यो कुनै समय केलाउँला तर मन्त्रीका रूपमा महावीर पुन पदेन अध्यक्ष रहने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सम्बन्धी केही सुझाव दिन आवश्यक देखेको छु।
१. गरिखाने र देशलाई चाहिने भनिने प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीको संख्या अहिले निकै ओरालो लागेको छ। यो वर्ष स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा विद्यार्थी भर्नाको तथ्यांक १० प्रतिशत भन्दा उकालो लाग्न सकेको छैन। प्राविधिक शिक्षामा राज्यले गरेको ९० प्रतिशत लगानी खेर गइरहेको छ। देशैभरका प्राविधिक शिक्षालयमा विद्यार्थी संख्या निकै कम भएपछि २५ प्रतिशतभन्दा कम विद्यार्थी भएका आंगिक कलेजहरूका कार्यक्रम बन्द गर्ने निर्णय गत वर्ष नै सीटीईभीटीले गरेको हो तर यो कार्यान्वयन हुन सकेन।
प्राविधिक कार्यक्रमहरू किन बन्द भए भनेर त्यसका बारेमा विचार विमर्श गर्नुको साटो कार्यक्रम बन्द गरेर रमाउन चाहने सीटीईभीटी नेतृत्वको कार्यशैली सुधारमा ध्यान दिनुपर्ने देखिन्छ। प्राविधिक युगमा किन प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित भएनन् भनेर अध्ययन–अनुसन्धान गर्ने र सो अनुसार कमजोरीहरू पहिचान गरेर सुधार गर्दै अगाडि बढ्ने इच्छाशक्ति सीटीईभीटी नेतृत्वमा देखिएन।
२. विगत पाँच वर्षयता सीटीईभीटीमा विद्यार्थी संख्या निरन्तर ओरालो लागिरहेको छ, तर यो बीचमा राज्यले लगानी गरिरहेका शिक्षालयहरू खुलिरहेका छन्। प्राविधिक शिक्षालयका रूपमा अलग्गै शिक्षालय स्थापना गरेर खोल्नुपर्नेमा सामुदायिक विद्यालयलाई पनि प्राविधिक कार्यक्रम सञ्चालन गर्न दिइएको छ। विडम्बना अहिले बन्द हुने प्राविधिक शिक्षालयहरूमा अधिकतम तिनै रहेका छन्। जसमा राज्यको लगानी रहेको थियो। यो वर्ष पनि केही शिक्षालयहरूमा नयाँ कार्यक्रमहरू थप भएका छन्।
भएका शिक्षालयमा विद्यार्थी संख्या नहुने तर नयाँ-नयाँ शिक्षालय पहुँचका आधारमा खोल्ने परिपाटीले राज्यको लगानी खेर गइरहेको छ। आवश्यकता भन्दा पनि पहुँचका आधारमा खोलिएका शिक्षालयहरूको अवस्था अहिले हरिबिजोग छ। यहाँले पहुँचका आधारमा खोलिएका प्राविधिक शिक्षालयहरूका बारेमा अध्ययन गर्नु आवश्यक छ। बनाएको मापदण्ड पालना नै नगरेर मनलाग्दो तरिकाले जहाँतहीं किन बाँडियो प्राविधिक कार्यक्रमहरू? सीटीईभीटी नेतृत्वसँग यहाँले यसको जवाफ अवश्य पनि माग्नुहुनेछ।
३. हामीले विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गराउने भन्छौं। अझ त्यसमा ओभरसियर लेवलको प्राविधिक कार्यक्रममा मध्यम र निम्नस्तरको विद्यार्थी भर्ना भइरहेको हुन्छ। हाम्रो लक्षित वर्ग पनि त्यही हो। उच्चस्तरको विद्यार्थी विज्ञान पढेर एकैपटक इन्जिनियरिङ र स्नातक तहका अन्य प्राविधिक कार्यक्रमहरूमा भर्ना भइरहेको हुन्छ। हामीले लक्षित गरेका विद्यार्थी र पाठ्यक्रमका बीचमा कुनै पनि खालको तालमेल देखिंदैन। यसले गर्दा सीप सिकेर पूर्ण हुँदा पनि विद्यार्थीले कक्षा उत्तीर्ण गर्न सकिरहेका छैनन्।
प्राविधिक शिक्षा मार्फत सीप सिकेर जीवन गुजारा गर्न चाहने विद्यार्थीलाई विज्ञानका ठेलीहरू घोकाएर हामीले अन्याय गरिरहेका छौं। सीटीईभीटी मात्रै त्यस्तो प्राविधिक कार्यक्रम सञ्चालन गर्ने संस्था हो जसको पाठ्यक्रममा अझै पनि परीक्षाको मूल्यांकनमा सैद्धान्तिक कुरा हावी छ। प्रयोगात्मक अंकको मापन अत्यन्त न्यून छ। प्राविधिक शिक्षालाई उकास्ने हो भने तत्काल सम्भव भएसम्म यसै शैक्षिक सत्रबाट लागू हुने गरी २ वर्षको बनाउन र प्रयोगात्मक कुरालाई प्राथमिकता दिन यहाँले पहल गर्नुपर्ने देखिन्छ।
४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कार्यालय निजी शैक्षिक संस्थामैत्री देखिन्छ। निजी शैक्षिक संस्थाबाट मोटो रकम असुल गर्ने भनेर बदनामी कमाएको यो संस्थाले पछिल्लो समय पनि सुधारका लागि खासै पहल गर्न सकेको देखिंदैन। सरकारी प्राविधिक शिक्षालयहरूलाई विभिन्न बहानामा अनेक खालका उल्झन थपेर दु:ख दिने काम भइरहेको छ। आंगिक र साझेदारी शिक्षालयहरूले १ वर्षअगाडि नै नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भन्ने प्रक्रियामा अगाडि बढे पनि त्यो कार्यान्वयन हुनसकिरहेको छैन।
यसैपटक पनि स्थानीय सरकारले सञ्चालन गरेका शिक्षालयहरूमा चलिरहेका कार्यक्रमहरूलाई रोक्नका लागि नेतृत्व तहबाटै पहल भइरहेको थियो। थोरै शुल्कमा अध्यापन गराउने भएकाले निजी प्राविधिक शिक्षालयहरूलाई धक्का पुगेको भनेर केही कार्यक्रममा रोक लगाइयो। तर, त्यो अर्थहीन थियो। अहिले पनि विभिन्न बहानामा सरकारी शिक्षालयहरू माथि अनावश्यक उल्झन थोपरिंदैछ यसको विस्तृत रूपमा अध्ययन गर्नुहोला।
५. प्रविधि परिवर्तनतर्फ अगाडि बढिरहेको हुन्छ। तर, सीटीईभीटीले नयाँ प्रविधिलाई आत्मसात् गर्ने खालका कोर्षहरू पनि एकातिर सञ्चालन गर्न सकिरहेको छैन भने अर्कातिर भएका पाठ्यक्रमहरूलाई पनि समयानुकूल सुधार गर्ने इच्छाशक्ति देखिंदैन। उदाहरणका रूपमा अहिले एआईको प्रयोग निकै नै भइरहेको छ तर पनि यसका बारेमा कुनै खालको कोर्ष देखिंदैन।
आईटीका कोर्षहरूमा पनि यसलाई समावेश गरिएको छैन। डिप्लोमा तहमा एआईकै बारेमा नयाँ कोर्ष सञ्चालन गर्न सकिन्छ। पाठ्यक्रमका साथै कोर्षहरू पनि परिवर्तित समयलाई सम्बोधन गर्ने गरी परिमार्जन गर्ने जाँगर देखिंदैन। परम्परागत कोर्षमा विद्यार्थीको आकर्षण हराउँदै गएको अवस्थामा नयाँ-नयाँ खालका कोर्षहरू सञ्चालनमा ध्यान दिनुपर्ने होइन र? सीटीईभीटीको सुधारका लागि नयाँ कोर्षहरू निर्माणमा ध्यान दिनुहोला।
६. एउटा अचम्म लाग्दो कुरा के छ भने सीटीईभीटीको अवस्था यसरी विकराल हुँदा पनि यो संस्था हाँक्ने कार्यकारी भूमिका रहेको उपाध्यक्षको पद लामो समयदेखि रिक्त रहेको छ। सीमित व्यक्तिहरू मात्रै उपाध्यक्ष बन्न पाउने कार्यविधिका कारण अन्य योग्य मानिसहरू त्यहाँ जान सकिरहेका छैनन्।
उपाध्यक्षमा सीटीईभीटीकै एक खालको सिन्डिकेट रहेको छ। देशको प्राविधिक शिक्षा प्रदान गर्ने एउटा प्रमुख संस्था १ वर्षदेखि उपाध्यक्षविहीन हुनुपर्ने अवस्था कसरी सृजना भयो? यसको वस्तुनिष्ठ अध्ययन गरी कार्यविधिमा भएका त्रुटि सच्याएर तत्काल उपाध्यक्ष नियुक्तिका लागि यहाँले पहल गर्नुहुनेछ भन्ने अपेक्षा छ।
७. नेपालमा अहिले दुई खालको प्राविधिक कार्यक्रम सञ्चालन भइरहेको छ। ९ देखि १२ का नाममा शिक्षा मन्त्रालय मार्फत ठूलो लगानीमा एकखालको प्राविधिक कार्यक्रम सामुदायिक विद्यालयमा सञ्चालन भइरहेका छन् भने सीटीईभीटी मार्फत डिप्लोमा तहको कार्यक्रम सञ्चालनमा रहेको छ। अहिलेको अवस्था हेर्दा सीटीईभीटीलाई नै प्राविधिक शिक्षाका लागि जिम्मेवारी प्रदान गरेर जानुपर्ने देखिन्छ।
प्राविधिक शिक्षा प्रदान गर्ने छुट्टै संस्था हुँदाहुँदै मन्त्रालय हावी भएको राम्रो मानिंदैन। एकै खालको शिक्षाका लागि किन राज्यको दोहोरो लगानी गर्ने? हाम्रो लगानीले सही प्रतिफल दियो या दिएन भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो विषय लामो समयदेखि उठ्दै आए पनि निराकरण हुनसकेको छैन। यहाँले चासो दिनुहोला।
सीटीईभीटी सुधारका लागि अरू पनि धेरै सुझाव रहेका छन्। तर यहाँको जिम्मेवारी कुनै एक संस्थामा मात्रै केन्द्रित हुनुहुँदैन भन्ने मेरो मान्यता हो। फेरि सबै कुराको परिवर्तन एकैपटक पनि हुन सक्दैन। यी माथिका कुराहरूलाई वस्तुनिष्ठ रूपमा मिहिन ढंगले केलाएर यहाँले प्राविधिक शिक्षाको सुधारका लागि नयाँ कदम चाल्नुहुनेछ भन्ने अपेक्षा रहेको छ। प्रविधिनिकट मन्त्रीले नगरे कसले गर्ने प्राविधिक शिक्षाको सुधार?
(आचार्य, तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन्।)
प्रतिक्रिया 4