News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
- कांग्रेस संसदीय दलको बैठकले नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको कांग्रेस सांसद अन्जना पण्डितले बताइन्।
- मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमालेका २५ सांसद छन् भने कांग्रेसका २२ सांसद छन्, जसले सरकार बनाउन आवश्यक ५४ मत पुग्दैन।
८ असोज, काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कांग्रेसकी सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन लिएर नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको जानकारी दिइन् ।
यो सँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।
मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । एमालेका २५ जना सांसद् छन् ।
दोस्रो ठूलो दल कांग्रेसका २२ जना सांसद् रहेका छन् । यी दुई दल मात्रै मिल्दा मधेश प्रदेशमा सरकार बन्दैन ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मिल्दा ४७ मत पुग्छ ।
प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रका ९/९ जना छन् ।
नेकपा एकिकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना रहेका छन् ।

प्रतिक्रिया 4